खेमराज रिजाल
सिसहनिया, १ पुस । ‘उहिले हामीले पन्ध्र प्रजातिका माछा राप्ती नदीमा पाउँथ्यौँ, अहिले कम्तिमा पैतालिस प्रजातिका माछा, गँगटा र गोही समेत हामीले राप्ती नदीमा पाउन सकेका छौँ’, सिसहनियाका वैखा माछा संरक्षण समितिका अध्यक्ष समेत रहेका पाटेश्वरी चौधरीले भने । उनलाई स्थानीय समुदायले नागरिक वैज्ञानिक पनि भन्छन् । खासमा उनले जलचरका विषयमा आफ्नै शैलीले अध्ययन गरेका छन् ।
छोट्की सिसहनियाकै चैनीकुमारी चौधरी पनि बाम माछा संरक्षण समितिकी अध्यक्ष हुन् । पछिल्लो दशक राप्तीमा माछाका प्रजाति थपिँदै गएको उनको अनुभूति छ । उनी पनि माछा विज्ञ नै हुन् । जैविक सन्तुलन मिलाएर उनको समूहले खोला र पोखरीमा माछा मार्ने गरेका छन् । भुरा माछा हतपत्ति मार्दैनन् अनि गर्भवती माछा (पेटमा अण्डा भएका) माछा पनि उनीहरूले शिकार गर्दैनन् । ‘सुरुमा त हामीलाई थाहा थिएन तर जैविक विविधता संरक्षण अभियानमा लाग्दालाग्दै हामीले दर्जनौँ प्रजातिका माछा नदीमा देख्न पाएका छौँ’, चैनीकुमारीले भनिन् ।
पाटेश्वरी र चैनीकुमारी त जैविक विविधता संरक्षणका प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै धेरै स्थानीयबासी जोडिएर मध्यवर्ती जलाधार क्षेत्र बनाएका छन् । पछिल्लो समयमा वातावरणीय सन्तुलन कायम राख्नका लागि युएसएआइडीको सहयोगमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले राप्ती नदीलाई केन्द्र बनाएर जल–जङ्गल परियोजना सञ्चालन गरेपछि राप्तीबासीमा जैविक विविधता संरक्षणको चेतना जागेको छ । परियोजना सञ्चालन भएपछि खोलामा बम हानेर माछा मार्नेहरू नै अहिले जैविक विविधता संरक्षणका अभियन्ता बनेका छन् । यही कारण अहिले राप्तीमा जैविक विविधता पुरानै स्थितिमा फर्कन थालेको विज्ञहरूको निष्कर्ष छ । यसले पारिस्थितिकीय जैविक प्रणालीको विकास भएको स्थानीयको भनाइ छ ।
एकदशक अघिसम्मको दृष्टान्तलाई केलाउने हो भने खोलामा माछा मार्नेहरू निकै निर्दयी हुन्थे । माछा मार्न विषादीको प्रयोग हुन्थ्यो । करेन्ट लगाएर माछा मारिँदै आएको हामीले देखेका छौँ । खोला तथा नदीमा बम हानेर माछा मारेको तथ्य सबै सामु छर्लङ्ग छ । यी माछा मार्ने प्रविधिले माछाको वंश नै नास गरिरहेको थियो । भुरा माछादेखि गर्भवती माछा विषदीको शिकार बन्थे । माछा मात्र होइन, यसरी माछा मार्दा अन्य जलचर पनि धेरै विनाश भएको अवस्थामा संयुक्त राष्ट्रसंघ सहयोग नियोग (युएसएआइडी) को सहयोगमा दाङलाई केन्द्र बनाएर क्रियाशील गैरसरकारी संस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले पछिल्लो दशक यता जैविक विविधता संरक्षणको अभियान थालेको सो संस्थाका प्रमुख कार्यकारी निर्देशक प्रदीप मज्गैयाँले बताएका छन् । यद्धपि युएसएआइडीको परियोजना भने अन्तिम चरणमा पुगेको छ ।
त्यसो त मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले जैविक विविधता संरक्षणसँगै यो अभियानमा जोडिनेलाई स्वरोजगार र आयआर्जनका लागि समूह निर्माण गरेर केही सहयोग गर्दै आएको छ । कसैले माछा पोखरी निर्माण गरेर व्यावसायिक रूपमा काम गरिरहेका छन् । कसैले समूह बनाएर तरकारी खेतीमा जोडिएका छन् त कसैले होमस्टे सञ्चालन गरेका छन् । यी सबैमा मानव कल्याणको सराहनीय भूमिका रहेको बगरापुर होमस्टे सञ्चालक समितिका अध्यक्ष पे्रमलाल चौधरीले बताएका छन् ।
अहिले राप्ती गाउपालिका—६ सिसहनियामा एउटा थारू होमस्टे सञ्चालनमा छ । त्यहाँ कम्तिमा आठवटा होमस्टेहरू सञ्चालनमा आएका छन् । जम्माजम्मी ३० जना पाहुनालाई रात बसाउने क्षमता उनीहरूसँग छ । यसमा पनि मानव कल्याणले एक–एक वटा पलङको व्यवस्थापन गरिदिएको छ । ‘हामीले परियोजना सञ्चालन भएका क्षेत्रका स्थानीयलाई आयआर्जनमा पनि जोडेर लैजान यो सहयोग गरेका हौँ’, मानव कल्याणका सिइओ प्रदीप मज्गैयाँले भने ।
यसैबिच मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले आइतवार सिसहिनियामा स्थलगत परियोजना अनुगमन गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा अनुगमनका क्रममा दुई स्थानमा भिन्न–भिन्न औपचारिक कार्यक्रम आइतवार नै सम्पन्न भएका छन् । अनुगमनका क्रममा मानव कल्याण तथा वातावरण केन्द्रका उपाध्यक्ष केदारराज श्रेष्ठ, निवर्तमान अध्यक्ष निर्मला गौतम, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव माया पोख्रेल, कोषाध्यक्ष रिमा शर्मा, सदस्य बिमला शर्मा, पत्रकार लीला शाह, दशरथ घिमिरे, छवि पुरीलगायत धेरै जैविक संरक्षण अभियन्ताको सहभागिता रहेको थियो ।
अनुगमनपछिको परियोजना अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पारिस्थितिकीय प्रणलीको जगेर्ना गर्दै समग्र मानव समुदायको कल्याण गर्नका लागि वातावरणीय सन्तुलन कायम राख्नु अहिलेको प्रमुख आवश्यकता रहेको औल्याए । साथै उनले यो अभियान सधैँ गैरसरकारी संस्थाले मात्र निरन्तरता दिन नसक्ने भन्दै स्थानीय सरकारले यसको स्वामित्व लिन आग्रह गरे ।
‘भौतिक विकासभन्दा मानव संसाधन र पर्यावरणीय सन्तुलन कायम राख्ने विकासलाई सँगसँगै लैजानु पर्दछ, यसमा आफूले पनि माथिल्ला तहमा अर्थपूर्ण पहल गर्नेछु’, अनुगमन पछिको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । अन्तरक्रिया कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संस्थाका उपाध्यक्ष केदारराज शर्माले जैविक विविधता संरक्षण पछिल्लो समयमा चुनौतीका रूपमा देखापरेको बताउँदै यो विश्वव्यापी समस्यालाई समाधान गर्न सबै सचेत हुनु पर्ने बताए । अबको लगानी भौतिक विकाससँगै मानव कल्याणका सन्दर्भमा जोडिनु पर्ने उनको अभिव्यक्ति थियो । कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।