सोह्र वर्षको उमेर । म यात जमिनदारको बारीमा हुन्थेँ, यात भकारोमा । मेरै उमेर मुनिका थुप्रै बालबालिका स्कुले पोषाकमा विद्यालय जाँदा मेरो मन धुरुधुरु रुन्थ्यो, तैपनि मनलाई सम्झाउँथे । गरिब भएकै कारण म सोह्र बर्षसम्म बधुवा मज्दुर बनिरहे.., बनिरहे…।
त्यो दिन आयो, जुन दिन हामीलाई बधुवा मज्दुरबाट मुक्त गरियो । अर्थात नौं वर्ष सम्मको कम्लरी जीवनबाट मुक्त हुँदाको दिन मेरो सबैभन्दा खुसीको दिन हो । कम्लरी मुक्त भएको दिनलाई उनले इतिहासकै सबैभन्दा खुसीको क्षणका रुपमा लिन्छिन् । किनकि उनको उमेर पनि बालबालिकाबाट युवा अवस्थातिर लाग्दै थियो । पढौं भन्ने चाहना जाग्रित भइरहेको थियो ।
घोराही उपमहानगरपालिका—१२ हापुर निवासी मुक्त कम्लरी कमला चौधरीले आफ्नो खुसीको दिनलाई यसरी स्मरण गर्छिन् । ‘त्यो दिन त मलाई याद भएन, तर त्यस वर्षको माघिदेखि मलाई त्यो घरमा कम्लरी बस्न कहिल्यै जानु परेन, मेरो सानैदेखिको पढ्ने इच्छा पनि पूरा भयो’, आफ्नो खुसीलाई पढ्ने चाहनासँग जोड्दै पूर्व कम्लसी कमलाले भनिन् । त्यो वर्ष कम्लरी मुक्त अभियान चलिरहेकै बेला एफएनसी संस्थाले उनको नाम मुक्त कम्लरीको नाममा टिपोट ग¥यो ।
अबदेखि तिमीलाई कम्लरी बस्न जानु पर्दैन, पढ्ने शैक्षिक सामाग्री र पोषाक समेत हामीले व्यवस्था मिलाइदिने छौँ भनेपछि कमलामा पढ्ने आशा पलायो । संस्थाले एक महिना प्रौढ शिक्षा पढाएपछि उनी एकै पटक गाउँकै स्कुलमा कक्षा चारमा भर्ना भइन् । अर्थात पहिलो पटक स्कुल टेकेको दिन मेरो खुसी.., कमला स्मरण गर्छिन् ।
त्यसपछि कमलाको शैक्षिक यात्रासँगै सामाजिक परामर्शदाताको काममा पनि एफएनसीले जोडिदियो । त्यहिबाट आएको केही पैसाले उनको परिवारको पनि जोहो चल्यो । सात वर्षको कलिलो उमेरदेखि अर्काको घरमा कम्लरी बसेर उनी नौ वर्ष बिताइन् । ती कहाली लाग्दा क्षण सम्झँदा उनलाई अझै पनि उदेक लाग्छ । गाउँकै स्कुलमा एसइईसम्म पढेपछि उनलाई प्राविधिक शिक्षा पढ्ने धोको थियो तर उनलाई संस्थाले प्लस टु पढाउन चाहनथ्यो ।
तर कमलाको अनेक अनुनय विनय सुनेपछि एफएनसीले उनलाई प्राविधिक शिक्षाको कोटा मिलाइदियो । आफ्नो पनि मेहनेत जोडेर उनी कृषि प्राविधिक बन्न भैरहवा पुगिन् । भैरहवामा रहेको जनता मावि रुपन्देहिमा सञ्चालनमा आएको प्राविधिक शिक्षालयमा १८ महिने जेटिए कोर्ष पूरा गरिन् । कृषि प्राविधिक कमलाको खुसी हो । उनी यही शिक्षाका कारण नारायणपुर बजारमा एउटा एग्रोभेट खोलेकि छिन् । गाउँका मुक्त कम्लरीलाई आवद्ध बनाएर एउटा कृषि सहकारी संस्था पनि खोलेकि छिन् । अहिले उक्त कृषि सहकारीमा करिब सात सय महिला आवद्ध छन् ।
कृषिमा जेटिए उत्तीर्ण गरेसँगै उनी गाउँ फर्किन् । सुरुमा गाउँका २५ जना महिला मिलेर एउटा सहकारी संस्था खोले । सहकारीको नाम थियो ओजरार कृषि सहकारी संस्था । ओजरारको अर्थ उज्यालोतिर लम्कौँ । हाल उनी संस्थापक सदस्य रहेको ओजरार कृषि सहकारी संस्थाको अध्यक्षको भूमिकामा छिन् । ‘लेखिदिनुहोला मेरो खुसी ओजरार कृषि संस्थाको नेतृत्व ।’ सहकारीमा उनको कुशल नेतृत्व छ । जम्मा ६८० जना सदस्य उक्त सहकारीमा आवद्ध छन् । २०÷२५ जना बाहेक सबै सदस्य महिला छन् । सहकारीमा आवद्ध महिलालाई समूहमा विभाजन गरेर संस्थाले आयआर्जनमा लगाएको छ । कसैले टनेल खेती गर्छन्, कसैले बेमौसमी तरकारी खेती गर्छन् । व्यवसायिक तरकारी खेतीका लागि सहकारी संस्थाले विभिन्न आठ समूह बनाएको छ । उनीहरूलाई समूहगत कृषि तालिम दिएर उत्पादनसँग जोडिएको छ ।
नेपालभरका सहकारी बचत भएको रकम अपचलनको भूमरीमा फसिरहँदा ओजरार कृषि सहकारीलाई त्यसको कुनै प्रवाह छैन । टनेल तरकारी खेती र थोपा सिँचाइको तालिम लिएका महिलाको तरकारी खेतीबाट मनग्य आम्दानी पनि भएको छ । यो व्यवसायले सहकारीमा आवद्ध महिलाको रोजीरोटीको जोहो भएको छ । संस्थाबाट लिएको ऋण खुरुखुरु तिरिरहेका छन् । सहकारीलाई उत्पादनसँग जोड्नु पर्छ भनेर साधारणसभामा भाषण गर्ने प्रवृत्ति त सबैतिर छ, तर खासमा सहकारीलाई उत्पादनसँग जोड्ने सहकारी भनेकै महिलाले चलाएको सहकारी भएको सहकारी विज्ञले पनि बताइरहेका छन् । किनकि महिलामा इमानको मात्रा पुरुषमाभन्दा बढी नै हुन्छ ।
कम्लरी बस्दा कमलाको पढाइ मात्र ढिला भएन्, उनको शरीर समेत नराम्ररी बिग्रिएको छ । सात वर्षकै कलिलो उमेरमा जोडबलको काम गर्दा उनको सानैमा ढाडको नसा थिचियो । चिकित्सकलाई देखाउदा यो अब शल्यक्रिया गरेर पनि निको हुँदैन रे । त्यसैले अचेल कमलालाई गाह्रो शारीरिक काम गर्न सहज छैन । त्यसैले नै उनले अहिले नारायणपुर बजारमा एग्रोभेट पसल चलाएर जिविकोपार्जन गरिरहेकि छिन् ।
मनोविमर्शकर्ताको भुूमिकामा पनि काम गर्दै छिन् । ‘ढाडको समस्याका विषयमा काठमाडौँ पुगेर डाक्टरलाई नदेखाएकि होइन, तर डाक्टरले सानैदेखि नसा थिचिएको भनेर अप्रेशन गर्न नमिल्ने सल्लाह दिनु भो’, कमलाले भनिन् । तैपनि उनले जिन्दगी हारेकि छैनन् । गाउँका हरेक विपन्न महिलालाई आयआर्जनमा जोड्न उनको हर तरह मेहनत हुन्छ । कमला भन्छिन्,—सहकारी भएर मात्र पुग्दैन, सहकार्य पनि स्थापित हुनुपर्दछ, हामीले त्यसैलाई जोड दिएका छौँ । त्यसैले त समूह खेतीलाई पनि उनको सहकारीले प्राथमिकता दिएको छ ।
कमला भन्छिन्–हरेकमा फरक– फरक क्षमता हुन्छ, खाली अवसरको मात्र समस्या हो । त्यसैले सबैलाई अवसर दिएर क्षमता अनुसारको काम गर्ने वातावरण मिलाउन सके हाम्रा सयौँ युवा कामका लागि दिनहुँ विदेश जानु पर्ने थिएन । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि विषेश चासो दिनु पर्ने उनको सल्लाह छ । नेपाललाई कृषि प्रधान देश भनिरहँदा अरबौँ रुपैयाँको कृषि उपज विदेशबाट आयात गर्ने प्रवृत्तिलाई रोक्न तीनै तहका सरकार लाग्नु पर्ने उनको सुझाव पनि छ । श्रम गरौँ, देशकै लागि गरौँ, पसिना बगाऔँ देशकै लागि बगाऔँ भन्ने कमला अहिले महिलालाई आर्थिक समृद्धिमा जोड्ने अभियानमा पनि छन् ।
माथि उल्लिखित खुसीका क्षण हुन् मुक्त कम्लरी कमला चौधरीका । घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा जन्मिएकि कमलाले १६ वर्षको उमेरमा मात्र स्कुल टेकिन् । कम्लरी मुक्त भएपछि गाउँकै स्कुलबाट एसइईसम्मको पढाइ पूरा गरेर एफएनसीको छात्रवृत्तिमा भैरहवामा गएर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त शिक्षालयबाट १८ महिने जेटिए कोर्ष पूरा गरेर आफ्नै फिल्डमा आवद्ध छिन् ।