निता चौधरी
तुलसीपुर, २६ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३५ वर्षीय जुनकुमारी बुढा क्रिस्टलका गहना बनाउने काम गर्दै आएकी छिन् । विगत १८ वर्षदेखि क्रिस्टलका गरगहना बनाउने काम गर्दै आएकी बुढाले चुरा–पोते बनाएर मासिक २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्छिन् ।
१७ वर्षको उमेरमा सिकेको सिपलाई व्यावसयिक बनाएकी बुढाले राम्रो आम्दानी समेत गर्दै आएकी छिन् । व्यवसाय फस्टाउँदै जाँदा आफूले एक्लै गर्न नभ्याउने भएपछि २३÷२४ जनालाई रोजगारी समेत प्रदान गर्दै आएकी बुढाले जुनसुकै व्यवसायमा मिहिनेत र इमानदार भए सफल भइने बताउँछिन् । घरको कमजोर आर्थिक अवस्था भएको समयमा सिप सिकेर जोडिएको व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताउँदै भन्छिन्, ‘सिजनमा चाडपर्वको समयमा बढीमा एक लाखसम्म आम्दानी भएको छ तर अन्य समयमा मासिक २०÷३० हजारभन्दा कम हुँदैन ।’
रुकुम घर भएकी बुढा तुलसीपुरमा बसेर व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । उनले चुरा, पोते, मालाका विभिन्न डिजाइन बनाउने र बिक्री गर्ने गर्छिन् । ‘सानैदेखि आर्थिक अभावमा हुर्किएकाले मलाई व्यवसायमा लागेपछि आर्थिक समस्या खास्सै पर्ने गरेको छैन’, उनले भनिन्, ‘घर, व्यवसाय चलाउनेदेखि छोराछोरी पढाउन समस्या छैन ।’ घरव्यवहार चलाउँदै उद्योग व्यवसायमा जोडिएकी बुढाले दाङका तुलसीपुर, घोराही बजारहरूसँगै बनाएका सामग्री काठमाडौंदेखि धनगढीसम्म बिक्री गर्ने गरेको बताउँछिन् । विभिन्न साइजमा माला, पोते बनाउनेदेखि अर्डर अनुसारका विभिन्न सामग्री बनाउने गरेको गरेको उनी बताउँछिन् । ‘मलाई यस्तो डिजाइनको माला बुनेर पठाइदिनुस् भन्नुहुन्छ अनि मैले सामान रेडी बनाएर पठाउँने गरेकी छु’, उनले भनिन्, ‘शृङ्गार पसलदेखि सुन पसलसम्मका पोते, मङ्गलसुत्र, नौगेडी माला बुन्नेदेखि फिनिसिङका काम गर्दै आएकी छु ।’
बुढा जस्तै तुलसीपुर(७ पर्सेनीकै जुनु गिरी उमेरले अहिले २० वर्षको भइन् । गिरीले महिलाले लगाउने विभिन्न आकारका चुरा, पोते, कानमा लगाउने टप, औँठी जस्ता क्रिस्टलजन्य गहना बनाउँदै आएकी छिन् । स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहेकी गिरीले पढाइसँगै काम गर्दा खर्च व्यवस्थापनमा सहज भएको बताउँछिन् । विभिन्न डिजाइनका मालाहरू बनाउन सिकेकी गिरीले क्रिस्टलका सामग्री बनाउने व्यवसाय राम्रो चल्ने भएकाले यसैलाई अघि बढाउने योजनामा रहेको बताउँछिन् ।
दाङ हस्तकला संघले क्रिस्टलजन्य गहना बुन्ने तालिम दिएपछि पेसामा आबद्ध भएको उनी बताउँछिन् । तुलसीपुर–७ कै खिमा बुढाथोकी पनि क्रिस्टलका सजावटका सामग्री बनाउने काम गर्ने योजनामा छिन् । जुनुसँगै तालिम लिएकी उनले चुरा–पोते बनाउने पेसालाई व्यावसायिक रूपमै अगाडि बढाउने योजनामा रहेको भन्दै भनिन्, ‘हातमा भएको सिपलाई सदुपयोग गर्दै आयआर्जनमा जोडिने योजनामा छु ।’ दाङ हस्तकला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र हस्तकला महासंघ काठमाडौंको आर्थिक सहयोगमा तुलसीपुर–७ का महिलालाई क्रिस्टलसम्बन्धी गहना बुन्ने १० दिने तालिम दिइएको थियो । मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको तालिममा ती महिलाले सामान्य पोते बुन्नेदेखि लिएर विभिन्न डिजाइनका कानमा लगाउने टप, हातमा लगाउने औँठी, घाँटीमा लगाउने माला, नौगेडी मालाका डिजाइनहरू सिकेका थिए ।
दाङ हस्तकला संघका अध्यक्ष अशोक थारूले आफ्नो पहलमा तालिम सिकेको महिलालाई सिकेको सिपलाई व्यवहारका कार्यान्वयन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या भए सहजीकरण गर्ने बताए । जिल्लामा अहिले अधिकांश पसलले बाहिरबाट सामग्री ल्याउने गरेको भन्दै जिल्लामै उत्पादन गर्न सके बाहिरबाट ल्याउने कार्यको बन्द हुने संघका अध्यक्ष थारू बताउँछन् ।
यसैबिच तुलसीपुरमा भएको क्रिस्टलका गहना बुनाइसम्बन्धी १० दिने तालिम समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्ने वक्ताले सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्न महिलाई आग्रह गरेका थिए । समापन कार्यक्रममा तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जिसीले सिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको भन्दै अहिले सिकेको सिपलाई व्यवहार लागु गरेर आयआर्जनमा जोडिन आग्रह गरेका थिए ।
तुलसीपुर–७ का निवर्तमान अध्यक्ष टोपबहादुर केसीले तुलसीपुरमा सौन्दर्य तथा कस्मेटिक सामग्री सबै बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेकाले स्थानीयस्तरमा सामग्री उत्पादन गर्न लाग्नु पर्ने बताए । नेपाल हस्तकला संघका उपाध्यक्ष तथा जिल्ला एवम् प्रदेश परिषद्का सभापति दीपेन्द्र शाक्यले सामान मात्रै बनाएर नहुने भन्दै बजारीकरणमा ध्यान दिनु पर्ने बताए ।
दाङ हस्तकला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका–७ र नेपाल हस्तकला महासंघ काठमाडौंको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको थियो । मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको तालिममा वडा नं. ७ का १७ जना महिलाको सहभागिता रहेको थियो । दाङ हस्तकला संघका अध्यक्ष अशोक थारूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हस्तकला महासंघ काठमाडौंका निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य, प्रशिक्षक श्रीकुमारी चौधरी, प्रशिक्षार्थी चेतना गौतमलगायाते शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।