प्रिया स्मृती गजमेर
लमही, २५ मङ्सिर । बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाउन लमहीमा अभियान सुरु भएको छ । अभियान सोमवार लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुरु भएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था जाँच गर्न थालिएको हो ।
बालबालिकामा कुपोषण पहिचान गरेर पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने बेसका परियोजना संयोजक सुरेश चौधरी बताउँछन् । पाँचवर्षे अवधिमा जिल्लाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने उनले बताए । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य प्रदायक संस्था, पालिकास्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबिच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए ।
लमही नगरपालिकाका सबै विद्यालयमा ६ महिनादेखि ५९ महिना मुनिका बालबालिकालाई जुकाको औषधी चलिरहेको बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मिना शर्मा ज्ञवालीले बताइन् । लमही नगरपालिका–५ का अध्यक्ष ओमप्रसाद सुवेदीले पोषणद्वारा बालबालिकाको जीवन रूपान्तरण कार्यक्रमजस्तै अन्य कार्यक्रम गर्न जरुरी रहेको बताए । कार्यक्रमको सहजीकरण कोलही नगर स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक कृष्ण आचार्यले गरेका थिए । अभियान अन्तर्गत बालबालिकाको पाखुराको बिच भागको परिधि मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ ।