यो तेरो मेरोको संसार हो

एकराज शर्मा अधिकारी
एकराज शर्मा अधिकारी
झगडा सुरु हुन्छ तेरो मेरो भावनाबाट । यो भावना अनादिकालदेखि चल्दै आएको छ । अज्ञानले तेरो मेरो भन्ने भाव जगाइदिन्छ । भेद भावना हुँदासम्म प्रगति रोकिन्छ । यो दानबी स्वभाव हो । संसारका सबै मानिसले तेरो मेरो भन्छन् । तेरो मेरो भन्ने कसले गराएको हो, आफैले । ईश्वरले होइन । ईश्वर समदर्शी छ । हामी तुच्छ शरीरको लागि तेरो मेरो गर्छौ । यो शरीर त कुकुर र स्यालको भोजन हो । संस्कार भएन भने मानिस हुन सक्दैन । नास्तिकले ईश्वर कहाँ छन्, देखिँदैनन् त्यसैले छैनन् भन्छन् । के उल्लुले सूर्य छैनन् भन्दैमा पत्याउँछौ त ? पत्याउँदैनौँ । यो अधर्मी मानिसले भन्ने कुरा हो ।
मन शुद्ध नभएको मानिसले भन्ने कुरा हो । सबभन्दा पहिले अन्तस्करणलाई शुद्ध बनाउनु पर्छ । मन, बुद्धि चित्तलाई शुद्ध बनाउनु पर्छ । शुद्ध भए ईश्वरको प्रतिविम्ब देख्न सकिन्छ । शान्ति हुन्छ । ईश्वरको अनुभव हुन्छ । आफ्नो अनुहार आफैले देख्न सकिँदैन । दर्पण हेर्नुपर्छ । तब आफ्नो अनुहार देखिन्छ । ज्ञानी पुरुषमा काम बासना नभए पनि क्रोधि हुन्छ । दुर्बाशा ऋषि ज्ञानी थिए तर क्रोधि थिए । धारणा असल गराउनुपर्छ । सर्वाङ्गको चिन्तन हो धारणा । यम, नियम, आसण, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा, समाधि यी अष्टाङ्ग योग हुन् । अष्टाङ्ग योग गरी ईश्वरको दर्शन पाएका सनत्कुमारहरुलाई जय विजयले रोक्छन् ।
कामेन कर्म नाश स्यात् क्रोधेन ज्ञान नाशनम् ।
लोभेन भक्तिनाशः स्यात् तस्मा देतत् त्रयं त्यजेत ।।
काम बासनाले कर्म नाश हुन्छ । क्रोधले ज्ञान नाश हुन्छ । लोभले भक्ति नाश हुन्छ । त्यसै कारणले काम, क्रोध, लोभलाई छोड्नु पर्छ । श्रीमद् भागवतमा पनि भनिएको छ ।
त्रिविधं नरकस्येदं द्वारं नाशन मात्मनः ।
काम, क्रोध तथा लोभ तस्मादेत्त त्रयं त्यजेत् ।।
काम, क्रोध, लोभ यी तीन नर्गका ढोका हुन् । यिनले आफूलाई नाश गर्छन् । मानिसमा लोभ बढी छ । आफ्नो दोशको दर्शन मानिसले देख्दैन र धनमा मन गए पाप बढ्दै जान्छ । घमण्ड पापको मूल हो । कृष्णले गीता शास्त्रमा भन्नुभएको छ । ज्ञान तिमीभित्र छ । स्वायम्भूव मनुकी रानीको नाम शतरुपा हो । उनका दुईभाइ छोरा थिए । प्रियब्रत र उत्तानपाद थिए । तीन छोरी थिइन् आकुती, देवहुती, प्रसुती । आकुतीको रुचि ऋषिसँग विवाह भयो । देवहुतीको कर्दम ऋषिसँग विवाह भयो । प्रसुतीको दक्षपर्जापतिसँग विवाह भयो । बिना लक्ष्यको मानिस, बिना बहनाको डुंगा जस्तो हो । स्त्री डुंगा हो भने पुरुष माझी हो ।
स्त्री र पुरुषमा एकअर्काको साहयता चाहिन्छ । पुरुषमा विवेक हुन्छ, स्त्रीमा स्नेह हुन्छ । एक्लो पुरुष र एक्ली स्त्री धर्म मार्गमा अगाडि बढ्न सक्दैनन् । एक्लो माझीले मात्रै संसार सागर तर्न सक्दैन । एक्लो डुंगाले मात्र संसार सागर तर्न सकिँदैन । कपिल ऋषिले भन्नुभएको छ । विवाह किन गर्नुपर्छ ? धेरै जन्मको काम बासना सुषुक्त रुपमा मनमा बसेका हुन्छन् । तीनलाई सन्तुष्टी पारेर तीन ऋणलाई तिरेर मात्र मुक्तिको ढोका खुल्छ । विवाह संसार सागरमा डुब्नको लागि गरेको होइन । कर्दम ऋषिले भनेका थिए– हे भगवान् मलाई विवाह गर्न भन्नुहुन्छ भने त्यस्ती स्त्री दिनुहोस् । जसबाट मलाई पापबाट बचाओस् । म घरमा स्त्रीसँग सत्संग गर्न चाहन्छु ।
मलाई काम बासनाको चाहना छैन । धर्मको आचरण गर्ने नै सच्चा पत्नी हो । यहाँ एउटा उदाहरण दिन सकिन्छ । बाचस्पति मिश्र भन्ने दक्षिण भारतका एक विद्धान थिए । उनले विवाह गरेको ३६ वर्ष बित्दा पनि आफ्नी पत्नीलाई चिनेका थिएनन् । उनले सधै धर्म शास्त्रका ग्रन्थहरुले लेखेर समय बिताउँथे । उनको पत्नीको नाम थियो, भामती । शंकर भाष्यको टिकामा भामती नाम राखेका थिए । कर्दम र देवहुतीबाट नौ कन्या र एक पुत्रको जन्म भएको थियो ।
एक पुत्रको नाम हो कपिल ऋषि । अत्रि ऋषिले अनुसुयालाई विवाह गरेका थिए । बशिष्टले अरुन्धतीलाई विवाह गरेका थिए । यी ऋषिहरु काम बासनाबाट टाढा थिए । विवाह त गरेका थिए । काम बासनामा आनन्द छैन भन्ने कुरा बुझेका थिए । उनले भन्थे–अनित्यं असुखमं लोके इदम प्राप्य भजस्वमाम् । यो संसारमा सबै बस्तु अनित्य छन् । स्थायी कुनै पनि बस्तु छैन । कुनै बस्तुमा पनि सुख छैन । क्षणिक सुख छ । त्यसै कारणले ईश्वरको सम्झना गर । आत्माको चिन्तन गर । आत्मा र परमात्माको मिलन नै परमान्द प्राप्ति हो । मानिसले खोजेको बस्तु यही हो ।