लैङ्गिक हिंसा न्यूनीकरणमा नवपुस्ताको महत्वपूर्ण भूमिका

गोरक्ष समाचारदाता
दाङ, २५ मंसिर । लैङ्गिक हिंसा न्यूनीकरणमा नव पुस्ताहरू लाग्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको समन्वयमा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियन अन्तर्गत ज्येष्ठ नागरिक तथा नव पुस्ताका लागि अभिमुखीकरण कार्यक्रममा सहभागीले लैङ्गिक ंिहंसा निरुत्साहितका लागि नवपुस्ता सचेतन बन्नु पर्ने बताएका हुन् ।

एनएबिपी नर्वेको आर्थिक सहयोगमा घोराही उपमहानगरपालिका विभिन्न वडाका ज्येष्ठ नागरिक तथा उनीहरूका संरक्षकको सहभागितामा गरेको कार्यक्रमका सहभागीले लैङ्गितामा आधारित हिंसा न्यूनीकरणका लागि सबैले हातेमालो गर्नु पर्ने बताए । घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख हुमा डिसीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको बताइन् ।

विगतको तुलनामा पछिल्लो समय लैङ्गिक हिंसाका घट्नाहरू धेरै कम हुने गरेको भन्दै कार्यवाहक नगर प्रमुख डिसीले अब नवपुस्ताले हुनै नदिने गरी लाग्नु पर्ने बताइन् । घोराही उपमहानगरपालिकाले बालमैत्री उपमहानगरपालिका घोषणा गरेर लैङ्गिक हिंसा मुक्त स्थानीय तह बनाउने अभियानमा लागेको भन्दै यो अभियान बालबालिका, युवा पुस्तासँगै ज्येष्ठ नागरिकलगायतका सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा घोराही उपहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यले लैङ्गिक हिंसा न्यूनीकरणका सचेतना आवश्यक रहेको बताए । लैङ्गिक हिंसासम्बन्धी सचेतनाको अभावसँगै कानुनी कारबाहीबारे जानकारी नहुँदा समाजमा लैङ्गिक हिंसाका घटनाहरू हुने गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले लैङ्गिक हिंसासम्बन्धी सचेतनासँगै गरेमा हुने कानुनी कारबाहीबारे जानकारी दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सदस्य ध्रुव गौतमले नेपाल नेत्रज्योयोति संघले लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरेको बताए । उनले हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको भन्दै आम नागरिकलाई नीति र कानूनबारे जानकारी दिई सचेत बनाउन सकियो भने मात्र हिंसा न्यूनीकरण हुने बताएका थिए । उनले सबैको साझा प्रयासले मात्र हिंसा न्यूनीकरण हुने बताएका थिए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका सूचना अधिकारी बालाराम खड्काले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत सञ्चालित अस्पतालहरू लैङ्गिक, बालबालिकामैत्री भएको भन्दै आँखा अस्पतालमा विभिन्न लैङ्गिक हिंसाका घटनाबाट घाइतेहरू आउने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबैले हातेमालो गर्न आवश्यक भएको बताए । उनले आँखामा चोटपटक लागेर अस्पतालमा आउने त्यस्ता घटनालाई सम्बन्धित निकायमा न्यायका लागि पठाउन आफूहरूले सहजीकरण गर्ने बताए ।

खड्काले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालले गरेका कार्यबारे सङ्क्षिप्त जानकारी दिँदै नेपाल नेत्रज्योति संघले सुशासन बालबालिका र लैङ्गिकमैत्री नीति ल्याएको भन्दै अस्पतालले हिंसामा परेका व्यक्तिहरूको विवरण लिने गरेको र हिंसा रोक्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकला विश्वकर्मा र अधिकारकर्मी विकिरण गौतमले जानकारी दिएका थिए ।