गोरक्ष समाचारदाता
दाङ, २५ मङ्सिर । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरूले गाउँ समाजमा आफूहरूले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरूले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनका लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेस गरेका हुन् ।
मुख्मन्त्री आचार्यले किशोरीहरूले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । किशोरीहरूले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोरकिशोरीको स्वास्थ्य, शिक्षालगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउने गरी कार्यक्रम बनाएको जानकारी दिए ।
समुदाय केन्द्रित जनजागरण अभियानलाई तीव्रता दिन, त्यस अभियानहरूमा किशोरकिशोरीको सहभागिता सुनिश्चितता गरिने बताए । ‘तपाईँहरूले उठाएका माग प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरूको साथ र सहयोग चाहिन्छ’, उनले भने, ‘बनेका नीति, नियम तथा कानुनहरूको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’ बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नु पर्ने बताए । पुथाउत्तरगंगामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
समुदायमा अझैँ पनि जातीय छुवाछुत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, बहुविवाह गर्ने जस्ता समाजिक र सांस्कृति परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनु पर्ने किशोरीहरूले माग राखेका छन् । पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरूमा लागूऔषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार जस्ता सामाजिक अपराधहरू बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ । स्वास्थ्यचौकीको स्थापना र सहज उपचार सेवादेखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान, खेलसामग्रीको व्यवस्था गर्न माग राखेका छन् ।
घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नु पर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भए तापनि समयमा आइ नपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनु पर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृति सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धि बुढा, सुप्रिया घर्तीलगायत सहभागि भएका थिए ।