बालाराम खड्का
तुलसीपुर, २३ मङ्सिर । तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएपछि तुलसीपुर नगर जेसिजले शौचालय निर्माण गर्ने भएको हो । शौचालय निर्माणको शनिवार शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य दीपक गिरीले उक्त शौचालयको शिलान्यास गरेका हुन् ।
‘तुलसीपुर नगर जेसिजका अध्यक्ष पुर्णविक्रम डाँगीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा बोल्दै गिरीले शौचालय निर्माणमा तुलसीपुरनगर जेसीजले अग्रणी भूमिका खेलेकोमा प्रशंसा गरे । ‘यो मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न सबै लाग्नु पर्छ मेरो पनि यसका लागि पहल हुने छ’ उनले भने ।
गिरीले लामो इतिहास बोकेको खेलमैदानको गुरुयोजना बनाउनु पर्ने समेत बताए । ‘यसको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढौँ यसको विकासका लागि मैले गर्न सक्ने सबै सहयोग म बाट हुने छ’ उनले भने । कार्यक्रममा जेसीजका अध्यक्ष डाँगीले मैदानमा शौचालयको समस्या रहेकोले जेसिजले शौचालय निर्माण गर्न थालेको बताए । उनले अपांग बालबालिका मैत्री अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गर्ने बताए । ‘यो शौचालय निर्माणका लागि सबैको साथ सहयोग आवश्यक छ’ उनले भने । यस्तै शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाखमा शौचालयको निर्माण हुने बताए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले शौचालयमा पानीको अभाव हुन नदिने बताए । कार्यक्रमको सहजीकरण जेसीजका मेघराज पोख्रेलले गरेका थिए । साथै अरनिको खेल मैदानमा शौचालय निर्माण हुने भएपछि खेलाडीलाई शौचालयको समस्या सहज हुने अपेक्षा गरिएको छ ।
तुलसीपुरको मुटुमा रहेको यो खेल मैदानमा खेलकुदका लागि आउने खेलाडी होउन् या अफिसियल्स या अन्य कुनै कार्यक्रममा सहभागिता जनाउने विशिष्ट अथिति सबै शौचलाई शौच गर्नु परे अन्यत्र जानु पर्ने समस्या छ । शौचालयका लागि होटेल वा रेस्टुरेन्टमा जानु पर्ने बाध्यता छ । मैदानमा दर्शकका लागि बसेर हेर्ने व्यवस्थित ठाउँ समेत मैदानमा छैन । खेल प्रेमी खेल हेर्न पुग्दा मैदानको छेउमा सकी नसकी उभिएरै खेल हेर्न बाध्य हुन्छन् ।
२०२८ सालमा खेलकुद विकासका लागि भनेर अरनीको मैदान बनाइएको थियो । उतिखेर उत्तर कुनामा मञ्च र व्यवस्थित शौचालय निर्माण गरिएको थियो । पछि त्यो बेवारिसे जस्तै बन्यो । त्यको शौचालय कसैले प्रयोगमा ल्याएनन् भने सरसफाई पनि नपाएको शौचालय र मञ्च जीर्ण अवस्थामा पुग्यो । अन्ततः अरनीको मैदानमा निर्मित मञ्च र शौचालय भत्काइएको थियो । त्यसपछि मैदानको पूर्वी–दक्षिण कुनामा शौचालय बनाइएको थियो, त्यो पनि बेवारिसे बन्न पुग्यो ।
अरनिको मैदानको स्तरोन्नतिका लागि पटक–पटक सामाजिक अगुवाबाट सम्बन्धित निकायको ध्यानाकर्षण नगराएका होइनन् । ध्यानकर्षण गराउँदा पनि कसैले चासो नदेखाएपछि तैँ चुप मै चुपको स्थिति भएको खेलप्रेमी बताउँछन् ।अरनिको मैदानको संरक्षण र भौतिक पूर्वाधार निर्माणका लागि तुलसीपुर उद्योग वाणिज्य संघले पहल थाल्ने निर्णय भने गरेको छ ।
तत्काल अरनिको मैदानमा आवश्यक पर्ने शौचालय, स्टेज र चेन्जिङ रुम निर्माण गर्न पहल थाल्ने महासचिव केशवराज केसीलाई जिम्मेवारी दिने निर्णय वाणिज्य संघको बैठकले केही समय पहिले गरेको छ । महासचिव केशवराज केसीले जेसीजले शौलाय निर्माण गर्न लागेको र अन्य भौतिक निर्माण आफुहरूले गर्ने तयारी गरेको बताए ।