अम्बापुर खानेपानीको ११ औं साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, २३ मङ्सिर । अम्बापुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था घोराही उपमहानगरपालिका वडा नं। १८ अम्बापुर दाङको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष बासुदेव रिजालको अध्यक्षता एवम् खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराहीका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले खानेपानीलाई सफा र व्यवस्थित गर्दै यहाको बस्ती र जनतामा पानीको सहजता प्रदान गर्न सक्नु मुख्य उद्देश्य राख्नु पर्ने बताएका थिए । पानीको कारणले बस्तीमा समस्या आएमा समिति माथि नै दोष आउने भएकाले पानी सरसफाईमा समितिले निकै ध्यान दिनु पर्ने उनीहरूको भनाइ थियो । ओभरहेड ट्यान्की निकै महंगो भएकाले सस्तो प्रविधि अपनाउँदै पानीको व्यवस्था गरिनु पर्ने सहभागिको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलक न्यौपानेले पानीको विकल्प नै नभएको हुँदा यहाँको पानीलाई व्यवस्थित गर्न अत्यन्त जरूरी भएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार एवम् अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारी वडा नम्बर १८ का सदस्य किरण पोख्रेल, बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुषाल, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना अम्विकेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक चेतनाथ गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेल, अम्बे सामुदायिक वनका अध्यक्ष श्रीधर भण्डारी, अम्विकेश्वरी महिला सामुदायिक वनकी तारा रिजालले आफ्ना भनाइहरू राखेका थिए । कार्यक्रमको सहजीकरण कार्यालय सचिव सिमा भट्टराईले गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष किरण विएमले स्वागत गरेका थिए ।

संस्था अन्तर्गत कार्तिक मसान्तसम्म सात सय ७९ वटा धारा रहेका छन् । संस्थाले आफ्नो स्रोत साधनको प्रयोग गरी उपभोक्तालाई सहजरुपमा पानीको वितरणका लागि प्रयास गर्दै आएको जनाएको छ । संस्थाले हिउँदो समयमा पानीको समस्या नहोस् भनेर वैकल्पिक स्रोतको खोजी गर्ने, संस्थाको कार्य क्षेत्रभित्र सडक कालोपत्रे हुने स्थानमा दुवैतर्फ पाइप विस्तार गर्ने, पानीको स्रोत बढाउन डिप बोरिङको समअपवेलको सर्भेक्षण गर्ने अगामी योजना बनाएको छ ।