टेकबहादुर पुन
देउखुरी, २३ मङ्सिर । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशले आफ्नो जिल्ला सभापति र केन्द्रीय सदस्यलाई सम्मान गरेको छ । प्रदेशबाट केन्द्रीय सदस्य भएका र प्रदेशका जिल्लामा जिल्ला सभापति भएकालाई लमहीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
हालै सम्पन्न अधिवेशनले लुम्बिनीबाट दशजना केन्द्रीय सदस्यमा र लुम्बिनीका बाह्र जिल्लामा जिल्ला सभापति सहित नया नेतृत्व चयन गरेको थियो । तिनै जिल्ला सभापति र केन्द्रीय सदस्यलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा फुलराम थारु (सभापति बर्दिया), कृष्णबहादुर पुन (सभापति बाँके), कुलबहादुर बुढा मगर (सभापती दाङ), दलबहादुर घर्ती (सभापती पूर्वी रुकुम), मति पुन (सभापति रोल्पा) रहेका छन् ।
त्यसैगरी देउमान थापा मगर (सभापति प्युठान), कृष्णबहादुर राना (सभापति पाल्पा), विक्रम गरुङ (सभापति गुल्मी), दिनेशकुमार घर्ती (सभापति अर्घाखाँची), नरबहादुर थापा (सभापति रुपन्देही), कमला राना (सभापति नवलपरासी) र नारायणबहादुर थापा (सभापती कपिलबस्तु) सम्मानित भएका हुन् ।
त्यस्तै लुम्बिनीबाट केन्द्रीय सदस्य भएकाहरू टोपबहादुर थापा (बर्दिया), सावित्रा राना (दाङ), सीता श्रेष्ठ (बर्दिया), थानबहालुर कँवर मगर (पाल्पा), रुपमाया पुन (रुपन्देही), टिचन गुरुङ (नवलपरासी), खगेश्वर थापा मगर (प्युठान), रामबहादुर राना मगर (अर्घाखाँची), होमबहादुर शेरचन (दाङ) र प्रमोदबहादुर श्रेष्ठ (बाँके) सम्मानित भएका हुन् ।
छलफलले कार्यसमिति सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यबाट मासिक लेवि उठाउने निर्णय गरेको छ । साथै महासंघलाई सक्षम र सुदृढीकरण बनाउन दाङको घोराहीमा आगामी माघको ११ र १२ गते दुई दिन प्रशिक्षण कार्यक्रमको आयोजना गरिने निर्णय गरेको छ । छलफलले प्रदेश समितिको घुम्ती बैठक प्रत्येक जिल्लामा गर्ने भएकाले आगामी बैठक फागुन महिना रोल्पामा, २०८२ जेठ गुल्मीमा र २०८२ भदौमा प्युठानमा गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकलाई सम्वोधन गर्दै नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा प्रदेश सभा सदस्य माया पुनले नव निर्वाचित पदाधिकारीलाई वधाई ज्ञापन गर्दै सक्रिय रुपमा जनताको पक्षमा काम गर्नु पर्ने बताइन् ।
महासंघ नेपाली कांग्रेसको एक बलियो जग भएकाले यसलाई सक्रिय बनाउन सबै लाग्नु पर्ने उनको भनाइ छ । महासंघ बलियो भए सिंगो कांग्रेस बलियो हुने जिकिर गर्दै सबै वडा–वडामा समेत संगठन विस्तार गर्नु पर्ने उनले बताइन् । महासंघका प्रदेश उपसभापति भुमा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश सचिव दिपक श्रेष्ठले गरेका थिए । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष माया पुनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।