घोराहीमा प्याव्सन रनिङ शिल्ड हुने
गोरक्ष समाचारदाता
दाङ, २२ मङ्सिर । विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले घोराहीमा ‘प्याव्सन रनिङ शिल्ड–२०८१’ हुने भएको छ । घोराही नगर प्याव्सनको आयोजनामा यही मङ्सिरको २७, २८ र २९ गते घोराहीको नवलपुर खेल मैदानमा प्याव्सन रनिङ शिल्ड प्रतियोगिता हुन थालेको हो ।
प्याव्सन घोराही नगर समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्याव्सन रनिङ शिल्ड–२०८१ का बारेमा जानकारी गराएको हो । रनिङ शिल्डमा संस्थागत विद्यालयतर्फ कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीले भलिबल, कवड्डीलगायत एथ्लेटिक्सका विभिन्न ३० वटा इभेन्टहरूमा प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगितामा छात्रहरूले भलिवल र कबड्डीमा छात्राहरूले मात्रै सहभागीता जनाउने प्याव्सन घोराही नगर समितिले जनाएको छ । रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राका लागि एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर र १५ सय मिटरमा प्रतिष्पर्धा गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) घोराही नगर समितिका अध्यक्ष बालकृष्ण वलीले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगितामा लङ जम्प, ट्रिपल जम्प, हाइ जम्प, सट फुट, ज्याव्लिङ थ्रो र सात कक्षासम्म अध्ययनरत छात्रछात्रा विद्यार्थीका लागि ६० मिटर दौड, लङ जम्पलगायतका इभेन्ट समावेश गरिएका छन् । विद्यार्थीको पढाइसँगै खेलका माध्यमबाट समयको महत्व, अनुशासन, समूह कार्य, शारीरिक तन्दुरुष्टिसँगै विद्यार्थीको चौतर्फी विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष वलीले बताए ।
प्रतियोगिताका विजेताहरूलाई नगदसहित शिल्ड, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागीताका लागि मङ्सिरको २५ गतेसम्म समूह दर्ता गराइ सक्न समेत प्याव्सन घोराही नगर समितिले विद्यालयलाई आग्रह गरेको छ । प्रतियोगितामा प्याव्सनमा आवद्ध घोराही नगर क्षेत्रका ५० बढी विद्यालयबाट छ सय बढी खेलाडीको सहभागीता रहनेछ । प्रतियोगिता सञ्चालन गर्दा ६ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।