सहमतिपछि आन्दोलन फिर्ता

गोरक्ष समाचारदाता
तुलसीपुर, २१ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका र आन्दोलनरत कर्मचारीबिच सहमति भएको छ । कार्यपालिकाबाट तह घटुवा गरेको विरोधमा आन्दोलनरत कर्मचारीले आन्दोलन फिर्ता लिएका हुन् । नगर प्रमुख टीकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीसहितका पालिका प्रतिनिधिसँग सहमति भएपछि कर्मचारीले विहीवारदेखि आन्दोलन रोक्ने निणर्य गरेका हुन् ।
सहमतिका आधारमा कर्मचारीले पाँचबुँदे सहमति स्वीकार गरेपछि आन्दोलन फिर्ता भएको हो । पालिकाले स्थानीय तहका कर्मचारीको तह वृद्धिसम्बन्धी कार्यविधि २०७८ अनुसार बढुवा गरिएका ३३ जना कर्मचारीमध्ये १२ जना पुनरावेदनमा गएका र अन्य १४ जना सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकाले मुलुकी देवानी संहिता कार्यविधि २०७४ को दफा २३१(ख) बमोजिम हालको पद कायम राखी खाइपाइ आएको सेवासुविधा उपलब्ध गराउने र सर्वोच्च अदालतबाट उक्त मुद्दामा अन्तिम फैसला आएमा सोही बमोजिम हुने गरी यथाशीघ्र नगर कार्यपालिका बैठकमा निणर्य गर्ने सहमति भएको छ ।
यसैगरी अस्थायी करार कर्मचारीहरूको करार सम्झौता अविलम्ब गर्ने, कर्मचारी नियुक्ति र कार्यालयका अन्य कार्यहरू जनप्रतिनिधिसँग समन्वय गरेर गर्ने सहमति गरिएको छ । यसैगरी प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीको तह वृद्धिसम्बन्धी कार्यविधि, २०७८ उपर गरेको पत्राचारका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको रिटको पालिकाले अपनत्व ग्रहण गरी सोमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति भएको छ ।
सहमतिको कागजमा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख खड्का, प्रमुख प्रशासकीय अधिकृत डाँगी र सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले हस्ताक्षर गरेका छन् । आन्दोलनरत कर्मचारीको तर्फबाट सङ्घर्ष समितितका संयोजक ललितबहादुर घर्ती, उपसंयोजक टोपबहादुर डाँगी, सचिव झरेन्द्र खरेल, पदम ज्ञवाली र केशव डाँगीले हस्ताक्षर गरेका छन् ।