महिला स्वास्थ्य स्वयम्सेविकाको भूमिका महत्वपूर्ण
भरत विश्वकर्मा
रोल्पा, २१ मङ्सिर । स्वास्थ्य क्षेत्रमा स्वयम्सेविकाको भूमिका महत्वपूर्ण रहेको कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय महिला सामुदायिक स्वयम्सेविका दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले स्वास्थ्य स्वयम्सेविकाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वयम्सेविकाको भूमिका उल्लेखनीय रहेको बताइन् । रातदिन नभनी सेवा गर्न तत्पर रहने स्वयम्सेविकाबारे स्थानीय सरकारले सकारात्मक रहेको भन्दै उपाध्यक्ष थापाले स्वयम्सेविकाले गरेको योगदानको उचित मूल्याङ्कन गरेरै सम्मान स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताइन् । महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको भन्दै आगामी दिनमा महिलालाई जोड्ने गरी कार्यक्रमको आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले स्वयम्सेविकाको महत्वपूर्ण भूमिकाले समाज परिवर्तनको दिशामा अघि बढेको बताए । कार्यक्रममा स्वयम्सेविकाको हकमा सरकारले अपेक्षा गरे अनुसारको काम नगरेको स्वयमसेवीकाले बताएका थिए । सरकारले स्वयम्सेविकाको समग्र पक्षलाई ध्यानमा राखेर उपलब्धिमूलक कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए । कार्यक्रममा स्वयम्सेविकालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सुनिलस्मृति–३ का अनुराधा विष्ट, वडा नं. ७ का प्रेमकला विक, वडा नं. १ का लीला पुन, वडा नं. ५ का हेमलता घर्ती, वडा नं. २ का चन्द्रा शाह, तेजी थापा र दीर्घा सेन रहेका छन् । सुनिलस्मृति गाउँपालिका स्वास्थ शाखा सहसंयोजक सावित्रा थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ शाखा प्रमुख मतिम आलमले गरेका थिए ।
