थुनुवाहरूको मानव अधिकार बुझ्दै संसदीय समिति

गोरक्ष समाचारदाता
दाङ, २१ मङ्सिर । प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले प्रहरी हिरासतमा रहेका थुुनुवाहरूको मानव अधिकारको अवस्थाबारे अध्ययन थालेको छ । यो समितिले विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय पुगेर हिरासतमा रहेकाहरूको मानव अधिकारको अवस्थाबारे बुझ्न जिल्ला भ्रमण थालेको हो ।

लुम्बिनी प्रदेशका जिल्लाका जिल्ला प्रहरी कार्यालहरूमा रहेका थुनुवाहरूको अवस्था बुझ्न निस्केको संसदीय टोली विहीवार जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरूको अवस्थाबारे जानकारी लिएको संसदीय समितिका सदस्य जीवन परियारले जानकारी दिए । यो टोलीले दाङसहित लुम्बिनीका नवलपरासी, रुपन्देही, कपिलवस्तु जिप्रकामा रहेका थुनुवाहरूको अवस्थाबारे जानकारी लिएको छ । ‘हामीले अहिलेसम्म चार जिल्लाका जिप्रकामा रहेका थुनुवाहरूको अवस्थाबारे जानकारी लिएका छौँ’, समितिका सदस्य परियारले भने, ‘नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा पुगेर जानकारी लिने काम भएको छ, अब बाँके जिप्रकामा पुगेर जानकारी लिइने छ ।’

लुम्बिनी प्रदेशका पाँच जिल्लाका थुनुवाहरूको अवस्था बुझेर यो टोली काठमाडौं फर्कने छ । टोलीले गरेको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिने र थुनुवाहरूको मानव अधिकारको अवस्था यकिन गरिने सदस्य परियारले जानकारी दिए । ‘हामीले स्याम्पलका रूपमा पाँच जिल्लाका थुनुवाहरूको अवस्थाबारे जानकारी लिने छौँ र प्रतिवेदन तयार पार्ने छौँ’, परियारले भने, ‘उक्त प्रतिवेदनले थुनुवाहरूको अवस्थाबारे तथ्य सार्वजनिक हुनेछ ।’

परियारका अनुसार थुनुवाबारे जिल्ला प्रहरी प्रमुखहरूसँग जानकारी लिनुका साथै थुनुवालाई फारम भर्न समेत लगाइएको छ । यो फारममा थुनुवाहरूलाई हिरासतभित्रको बसाइँको अवस्थाबारे टिपोट गर्न लगाइएको छ । ‘हिरासतभित्र रहेका थुनुवाका अवस्था के छ भनेर उनीहरूलाई नै लेख्न लगाउने गरी फारम भराएका छौँ’, परियारले भने, ‘त्यो फारममा उनीहरूले आफूहरूको यकिन अवस्था उल्लेख गरेका छन्, फारममा कस्ता कुरा उल्लेख भएका छन् भन्नेबारे भने अहिले नै उल्लेख गर्न मिल्दैन, फारम हामी काठमाडौं पुगेर नै खोल्ने छौँ ।’ संविधानको धारा २० मा व्यवस्था भएको न्यायसम्बन्धी हक र २२ मा उल्लेख गरिएको यातनाविरुद्धको हक अन्तर्गत थुनुवाहरूको मानव अधिकारको अवस्थाबारे संसदीय समितिले जानकारी लिन थालेको हो । लुम्बिनीका थुनुवाबारे अध्ययनका लागि परियारसहित समितिका सदस्यहरू चन्द्रबहादुर विक, पूर्णबहादुर घर्ती र ध्रुवबहादुर प्रधान आएका छन् ।

यसैबिच जिल्ला प्रहरी कार्यालय दाङमा संसदीय समितिले जिल्ला प्रहरी प्रमुखसँग छलफल गरेको छ । समितिले जिल्ला प्ररी प्रमुखसँग प्रहरी हिरासतमा रहेका थुनुवाबारे जानकारी लिएको थियो । ‘हामीले जिल्ला प्रहरी प्रमुखसँग प्रहरी हिरासतमा रहेका थुनुवाका अवस्थाबारे जानकारी लिएका थियौँ’, समितिका सदस्य परियारले भने । जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले प्रहरी हिरासतमा रहेका थुनुवाको अवस्था, उनीहरूलाई हिरासतभित्र गरिने व्यवहार र हिरासतभित्र व्यवस्था गरिएकोबारे ब्रिफिङ गरेका थिए । ‘जिल्ला प्रहरी कार्यालयको अवस्थाबारे मैले संसदीय टोलीलाई ब्रिफिङ गरेको छु’, प्रहरी उपरीक्षक तिमिल्सीनाले भने ।