अमरराज आचार्य
दाङ, १९ मङ्सिर । जिल्लामा पछिल्लो समयमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको छ । कृषकहरूले जैविक विषादीको प्रयोगभन्दा पनि रासायनिक विषादीको प्रयोग बढाउँदै गएको पाइएको छ । कृषकले प्राविधिकको सल्लाहबिनै रासायनिक विषादीको प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेत बताउँछन् । बस्नेतले बालीमा कुनै समस्या देखापरेमा प्राविधिकको सल्लाहभन्दा एग्रोभेटबाट आफैले किनेर रासायनिक विषादीको प्रयोग गर्ने गरेको पाइएको बताए ।
रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा यसले मानव स्वास्थ्य, पशुपन्छी तथा वातावरणमा समेत प्रभाव पर्ने उनी बताउँछन् । ‘रासायनिक विषादीको प्रयोग गर्दा प्राविधिकसँगको सल्लाह अनुसार कृषकले सिफारिस गरेको मात्र विषादी आवश्यक मात्रामा प्रयोग गर्नुपर्छ’, कृषि ज्ञान केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत बस्नेतले भने, ‘त्यसका लागि कृषकले आफ्नो तरकारीलगायत अन्य बालीको निरीक्षण गरी बालीमा कुनै समस्या छ कि छैन भन्ने पत्ता लगाउन प्राविधिकसँग सल्लाह लिनु पर्छ ।’
तरकारी प्रयोगका लागि विषादीको हरेक प्रयोगपछिको केही समय कुर्नु पर्ने, उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी विषादी प्रयोग गरिसकेपछि पर्खने समय पुगेपछि मात्र बाली टिप्ने, विषादी प्रयोग गर्ना साथ खेतबारीमा कृषक समेत प्रवेश गर्न नहुने कृषि विज्ञ बताउँछन् । विषादीले प्रयोग गरेको क्षेत्रमा कृषक बिनास्वास्थ्य सचेतना हिड्ने, विषादी प्रयोग गरेको छोटो समयमा तरकारी टिपेर बिक्री गर्ने गर्दा मानव स्वास्थ्य र वातावरणमा पर्ने असर भयावह बन्दै गएको बताए ।
विषादीका कारण तरकारी व्यवसायमा संलग्नसँगै उपभोग गर्ने उपभोक्तामा पछिल्लो समय छालामा एलर्जी हुने, आँखा पोल्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर शिथिल हुने जस्ता समस्या देखिने गरेका छन् । विषादीले वातावरणको खाद्य शृङ्खला र खाद्य चक्रमा भएका जीवहरूको प्रजाति नष्ट, बाली बिरुवामा परागशेचन गराउने पुतली र मौरीमा असर, वातावरणीय खाद्य शृङ्खलामा असर, भूस्खलन, माटोको बनोट र उर्वराशक्तिमा असर, पानीको गुणस्तरमा असर, चराचुरुङ्गीमा असर, माछा र जलचरमा असर, प्रजनन्, वृत्ति विकास र व्यवहारमा परिवर्तनलगायतमा असर पुग्ने गरेको पाइएको छ ।
विषादीबाट बच्नका लागि उपभोक्ताले तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनुभन्दा धारा वा बग्ने पानीमा ब्रसले कुना काप्चा सबै राम्ररी धोएपछि मात्र प्रयोग गर्नु पर्ने उनले बताए । नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर दुई कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८० प्रतिशतसम्म घट्ने अधिकृत बस्नेत बताउँछन् ।
विषादीविरुद्धको सचेतना
विषादी प्रयोग मुक्त सप्ताहको अवसरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र दाङको आयोजना तथा अम्बिकेश्वरी कृषक समूह घोराही उपमहानगरपालिका वडा नम्बर १८ को सहकार्यमा मसिनामा सचेतामूलक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष भरतमणि अर्यालले कृषकले ज्ञानको अभावमा रासायनिक विषादीको प्रयोग बढी गर्ने गरेको बताए ।
कृषकलाई सचेतना प्रदान गरेर रासायनिक विषादी प्र्रयोग गर्नतर्फ लाग्नु पर्ने उनको भनाइ थियो । ‘कृषिकहरूले प्राविधिक सल्लाह लिएर व्यावसायिक रूपमा खेती गरेमा सहज हुने छ’, वडाध्यक्ष अर्यालले भने, ‘प्राविधिको सल्लाहबिनै विषादीको प्रयोग गर्दा मानिस, पशुपन्छी एवम् वातावरणलाई पनि प्रभाव पर्ने गरेको छ ।’
जैविक विषादीकोे प्रयोग गरेर पनि खेती गर्न सकिने भएकाले त्यसबारे सचेतना जगाउनु पर्ने उनले बताए । कृषकहरू समूहमा आबद्ध भएर रासायनिक विषादी न्यूनीकरणमा लाग्न उनले आग्रह गरे । यसका लागि आवश्यक पर्ने सहयोग वडा तथा उपमहानगरपालिकाले गर्न तयार रहेको बताए । अम्बिकेश्वरी कृषक समूहका अध्यक्ष पूर्णबहादुर मल्लले कृषकहरू आप्mनो स्वास्थ्यलाई ध्यान दिएर खेती गर्नु पर्ने बताए । ‘खेती बचाउँदा आफैँ सकिने अवस्था छ’, उनले भने । यसबारे समयमै ध्यान दिनु पर्ने उनले बताए । कृषि प्राविधिकसँग कृषिसम्बन्धी सरसल्लाह लिएर खेतीकिसानी गर्न किसानलाई उनले आग्रह गरे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले कृषकले खेती गर्दा अपनाउनु पर्ने साधानी, के–कस्ता रासायनिक विषादीको प्रयोग गर्न सकिन्छ, रासायनिक विषादीको प्रयोगले पार्ने प्रभावबारे जानकारी दिएकी थिइन् । यसैगरी रासायनिक विषादीको नभई घरमै के–कसरी जैविक विषादीको प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराएकी थिइन् । उनले कृषकलाई अर्गानिक उत्पादन गर्नतर्फ लाग्न आग्रह गर्दै कृषकका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको बताइन् । कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्र दाङका अधिकृत देवा महराले गरेकी थिइन् ।