calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

युवाहरूको नेतृत्व र व्यक्तित्व विकास जेसीजको उद्देश्य : अध्यक्ष केसी [अन्तर्वार्ता]

त्रिभुवननगर जेसीज सन् १९८५ सालमा स्थापना भएको संस्था हो । यो संस्था खुलेसँगै युवाहरुको नेतृत्व र क्षमतासँगै विभिन्न सामाजिक कार्य गर्दै आएको हो । यो जेसीजको कर्म पनि हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक विकास तथा रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको त्रिभुवननगर जेसीजले हालसम्म धेरै युवाहरुलाई समाजका विभिन्न तहसँगै राजनीतिक नेतृत्वदायी भूमिकामा पु¥याएको छ । यससाथै आर्थिक रुपमा विपन्न, विपदमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यसै सन्दर्भमा सन् २०२४ का लागि त्रिभुनवनगर जेसीजको अध्यक्षमा निर्वाचित रविकिरण केसीसँग गोरक्षको सातावार्ताका लागि गोरक्षकर्मी लीलाधर वलीले गरेको कुराकानीको सार सङ्क्षेप ।

 तपाईको जेसीजको यात्रा कसरी सुरु भयो ?

 बजारमा हिडिरहँदा सन् २०१५ सालतिर अग्रज दाईहरूले जेसीजमा लाग्न आग्रह गर्नुभयो । तिमी जत्तिकको क्षमतावान मान्छे जेसीजमा लाग्नुपर्छ भन्नुभयो । जेसीजले तिम्रो क्षमताअभिवृद्धि गर्छ । भोलि तिमी राम्रो टे«नर बन्न सक्छौ भन्नुभयो । हाम्रो एउटा पूर्व परिचय तालिम आयोजना गरिएको थियो । उक्त तालिमको प्रशिक्षक कुमारराज श्रेष्ठ हुनुहुन्थ्यो । जेसीजका बारेमा त्यो तालिमबाट धेरै कुरा थाहा भयो र म जेसीजमा आवद्ध भएको थिए । एक व्यक्ति, एक पद र एक वर्षसम्म भन्ने कुराले नेतृत्वमा पुग्ने अवसर आउने रहिछ भनेर लागेको थिए ।

 जेसीज भनेको कस्तो सस्था हो, यसले के कस्ता कार्य गर्ने गर्दछ ?

 जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । जेसीजको मुख्य केन्द्रविन्दु भनेको व्यक्ति हो । जेसीजले सामाजिक कार्य गरे तापनि यो सामाजिक संस्था भने होइन । जेसीजलाई युवाको नेतृत्व र व्यक्तित्व गर्ने अनौपचारिक विश्वविद्यायलयका रूपमा लिने गरिन्छ । युवाको व्यक्तित्व र नेतृत्व विकासका लागि अवसर र सम्भावना प्रशस्त हुन्छन् । त्यी अवसरलाई लिएर आफ्नो क्षमता विकास गर्दै सामाजिक विकास र सामाजिक रूपमान्तरणका लागि युवालाई अघि बढाउने संस्था जेसीज हो ।

 तपाई त्रिभुवननगर जेसीजको नेतृत्वमा रहँदा उपलब्धिमूलक के–के काम गर्न सफल हुनुभयो ?

 त्रिभुवननगर जेसीजले विगतका वर्षदेखि नै उत्कृष्ट कार्य गर्दै आइरहेको छ । यो संस्था दाङमा सन् १९८५ मा स्थापना भएपछि हालसम्म नेतृत्वमा आउनु हुने सबैले उदाहरणीय कार्य समाजमा गर्दै आउनुभएको छ । मेरो नेतृत्वमा विगतमा भएका उदाहरणीय कार्यलाई निरन्तरता दिँदै थप इटा थप्ने काम भएका छन् । यो वर्ष अन्तर्राष्ट्रिय टेनर राजु घलेलाई शाखामा ल्याएर उहाँबाट ‘बन्धन तोडौ’ तालिमको आयोजना गरेका थियौ । जसमा सय बढी सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय अनुसन्धानकर्ता तथा आविष्कार महाविर पुनलाई ल्याएर जेसीजलगायतका युवालाई सहभागी गराएर साक्षात्कारसँगै उहाँको अभियानलाई सहयोग गराँै भनेर पुस्तक खरिद गरेका थियौँ । अहिलेको समयमा युवाको विदेश पलायन अत्यधिक भएकाले ‘युवा विदेश पलायनका चुनौती’ विषयक छलफल गरेका थियौँ । घोराही उपमहानगरपालिकासँगको समन्वयमा गरेर घोराहीका नगर प्रमुख नरुलाल चौधरी, प्रतिष्ठित व्यवसायी मनोज बुढाथोकी, दाङ जिल्ला पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीसँगै अमेरिकाबाट फर्किनुभएका युवा अनिल बस्नेतलाई राखेर प्यानल छलफल गरेका थियाँै ।

त्यसैगरी नियमित कार्यक्रमअन्तर्गत विगतका वर्ष जस्तै दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता गरेका छौँ । यसमा घोराहीमा विभिन्न विद्यालयबाट बालबालिकाको सहभागीता रहेको थियो । यसैगरी यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल आईटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी लीलाधर बस्नेतलाई सम्मान गरेका थियौँ । त्यसैगरी वैशाख १ गतेदेखि सात गतेसम्म जेसीज सप्ताह गरेका थियौँ । त्यसमा विभिन्न कार्यक्रम गरेका थियौँ । ट्राफिक सचेतना, लागुऔषध दुव्यर्सन, पुस्तकालय स्थापनाका लागि पुस्तकलगायतका सामग्री सहयोगलगायतका विभिन्न कार्यक्रममा सहयोगसँगै त्रिभुवननगर जेसीजले मातृत्व प्रदान गरेका शाखालाई समेटेर नेतृत्व तथा क्षमताअभिवृतिलगायतका कार्यक्रम गर्न सफल भएका छौँ ।

 युवालाई त्रिभुवननगर जेसीजमा आकर्षित गर्न र उनीहरूको नेतृत्व तथा क्षमता विकासका लागि जेसीजले के–कस्ता कार्यक्रम गर्ने गर्दछ ?

 बालकसँग इतिहास छैन, भविष्य छ । वृद्धसँग इतिहास छ, भविष्य छैन तर इतिहास र भविष्य दुवै भएका वर्तमान युवा हुन् । युवाले चाहेमा समाज र देशको विकासका लागि योगदान गर्न सक्छन् । युवालाई जेसीजले सकारात्मक सोचको विकासका लागि विभिन्न तालिम र कार्य गर्दै आएको छ । युवाले सकारात्मक सोचका साथ काम गर्न सके समृद्ध समाज निर्माण गर्न सकिन्छ भनेर युवाका लागि नेतृत्व र व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

साथै जेसीजमा लागेका युवाका लागि हरेक वर्ष उद्घोषण कला र व्यक्तित्व विकाससम्बन्धी तालिम, बैठक, साधारणसभा र कार्यक्रममार्फत् आफ्नो प्रतिभा, क्षमता प्रफुष्टन गर्ने र व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्दै नेतृत्व तहमा पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । जेसीज सौजन्यबाट चल्ने संस्था भएकाले हाम्रा हरेक कार्यक्रम सञ्चालनका लागि सहयोगी, दातासँग समन्वय गर्ने क्रममा, जेसीजका एरिया सम्मेलन, महाधिवेशन जस्ता कार्यक्रम मार्फत् विभिन्न व्यक्तित्वसँग परिचय र समन्वय हुने गर्दछन् । युवालाई जेसीजले रोजगार दिने नभए पनि रोजगारीमा लाग्नका लागि प्रेरित गर्ने गर्दै आएको छ ।

जसबाट पनि क्षमता विकास गर्दै नेतृत्व तहमा पुग्नलाई महत्वपूर्ण भूमिका रहन्छ । जेसीजमा लागेका युवालाई विभिन्न खोल तालिम, प्रशिक्षण दिने र समाजमा नेतृत्व गर्न सक्ने बनाउनका लागि जेसीजका कुनै न कुनै पदमा राखेर उसलाई कार्यक्रम गर्नेदेखि कार्यक्रम गर्नका लागि स्रोतको व्यवस्थापन गर्न लगाएर क्षमताअभिवृद्धिका लागि पहल गर्ने गर्दै आएको छ । यो हिसाबले युवा जेसीजमा जोडिरहनु भएको छ ।

 जेसीजलाई सम्पन्न व्यक्तिको संस्था भनिन्छ, के त्रिभुवननगर जेसीज आर्थिक रूपमा सम्पन्न युवाको संस्था हो ?

 एकदमै राम्रो प्रश्न गर्नुभयो । जेसीजप्रतिको धेरै बुझाइ पनि यस्तै रहेको पाइन्छ तर वास्तवमा जेसीज सम्पन्न व्यक्तिको संस्था नभएर सबै क्षेत्रका युवाको नेतृत्व र क्षमता विकास गर्दै सम्पन्न बन्न प्रेरित गर्ने संस्था हो । त्रिभुवननगर जेसीजमा अहिले ९० जनाभन्दा बढी युवा आवद्ध हुनुहुन्छ । त्रिभुवननगर जेसीजका चारवटा मातृ शाखा छन् ।

जेसीजमा लागेका सबै युवा सम्पन्न हुनु हुँदैन । समाजका विभिन्न क्षेत्रमा संलग्न युवा जेसीजमा जोडिनु भएको छ । त्यसमा कोही बंैंक, कलेज, विद्यालय, इन्सोरेन्स, स्वरुपमलगायत अन्य विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ । काम गरेर आर्थिक सङ्कलन गर्दै आफ्नो व्यत्तित्व र नेतृत्व विकासका लागि जेसीजमा लाग्ने धेरै युवा हुनुहुन्छ । वास्तवमा भन्नु पर्दा जेसीज आर्थिक रुपमा सम्पन्न युवाको संस्था नभएर समाजमा रहनुभएका साइकल चढ्नेदेखि कार चढ्ने सबै युवाको सस्था हो ।

 नेतृत्वको क्रममा रहँदा के कस्ता चुनौती सामना गर्नुप¥यो र ती चुनौतीको सामना कसरी गर्नुभयो ?

 कुनै पनि काम गर्दा चुनौती नआउने होइन हुँदैन, चुनौती आउने गर्दछन् । यी आउने चुनौतीलाई अवसरका रुपमा लिनुपर्छ । जेसीजले हरेक चुनौतीलाई अवसरका रूपमा लिएर अगाडि बढ्नका लागि युवालाई सक्षम बनाउने काम गर्दै आएको छ । जसले गर्दा जेसीजमा लागेका युवामा नेतृत्व र क्षमता विकासमा अझ निखारता आउने गर्दछ ।

जेसीज विशुद्ध सौजन्यबाट चल्ने संस्था हो । जेसीजमा कतैबाट बजेट आउँदैन । यस हिसाबले हामीलाई काम गर्दा आर्थिक रूपमा मुख्य चुनौती आउनसक्छ । त्यसका लागि मैले त्रिभुवननगर जेसीजका पूर्व अध्यक्षज्यू, वर्तमान कार्यसमितिलगायत सबैसँग समन्वय र सहकार्यका गर्दै कार्यक्रमका क्रममा आउने चुनौतीलाई समाधान गर्दै अघि बढ्ने प्रयास गर्दै आएको छु । जेसीजले सहयोग उठाउने गर्छ तर कुनै संघसंस्था वा स्थानीय सरकारको सहयोगमा कार्यक्रम गर्दैन तर सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएका छाँै । जेसीजमा आवद्ध युवाले आफै संकलन गरेर, सहयोगी निकायको खोजी गर्दा नेतृत्व र सहकार्य गर्ने क्षमतामा विकास गर्ने उद्देश्यले अन्य संघसंस्थाले लिने जस्तो बजेट लिँदैन । बरु जेसीजले गर्ने कार्यक्रमका लागि आवश्यक स्रोत गाइजात्रा होस् वा विपद्का क्रममा सबैसँग समन्वय गरेर स्रोत खोज्ने र आर्थिक जम्मा गर्ने काम गर्दै आएको हुन्छ ।

 तपाईको एक वर्षको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

 एक वर्ष अर्थात ३६५ दिन धेरै लामो समय होइन । यो अवधिमा धेरै ठुलो लक्ष्य र उद्देश्य लिने र के–के नै गर्छु भन्ने सम्भव हुँदैन रहिछ, मेरो थिएन पनि तर म त्रिभुवननगर जेसीजको अध्यक्ष हुँदै गर्दा प्लान अफ एक्सन प्रस्तुत गरेको थिए । सोही अनुसार आफ्ना कार्यक्रम गर्दै आए । त्यसमा केही नयाँ कार्यक्रम थपिएका छन्, केही छुट्न पुगेका पनि हुन सक्छन् । समग्रमा भन्नु पर्दा सन् २०२४ को कार्यकाल सबैको साथ र सहयोगले उत्कृष्ट बन्न पुगेको छ । यसमा घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय, विभिन्न विद्यालय, मिडियालगायत धेरै संघसंस्था तथा अग्रज व्यक्तिसँगै जेसीजका साथीहरूले आफूले सोचेअनुसार काम गर्न र युवामा सकारात्मक सोचको विकास गर्न सफल भएको महसुस भएको छ ।

 त्रिभुवननगर जेसीजमा आउने नयाँ नेतृत्वले के गर्न आवश्यक देख्नुहुन्छ ?

 समाजमा आधुनिक प्रविधिसँगै धेरै कुरा भित्रिरहेका छन् । त्यी हरेक प्रविधिलाई क्याच गर्दै समाजको विकास र युवाको क्षमताअभिवृद्धिमा टेवा पु¥याउने गरी काम गर्नुपर्छ । विगत र वर्तमानको कार्यसमितिले गरेका राम्रा कामसँगै आफ्नो प्लान अफ एक्सनअनुसार अघि बढनुपर्छ । विगतमा हरेक नेतृत्वले फरक–फरक तरिकाले काम गर्दै पनि आउनुभएको छ । साथै स्थानीय सरकारलगायत विभिन्न संघसस्थासँग समन्वय गरेर गाउँघर र दुरदराजमा प्रजनन् अधिकार र क्षमताअभिवृद्धि लगायतका कार्य गर्न आवश्यक छ । त्यसैगरी प्रभावकारी रुपमा बोल्न सक्ने कलाको विकास गर्न आवश्यक छ ।

 अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 अन्त्यमा जेसीजले युवामा सकारात्मक सोच ल्याएर क्षमताअभिवृद्धिका काम गर्दै आएका छौँ । यस क्रममा हामीलाई आर्थिक रुपमा समस्या पर्ने गरेको छ । जसले गर्दा जेसीजले गर्न सक्ने अझै युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै उद्यमशीलताका लागि काम गर्न सकेको छैन । यसतर्फ ध्यानदिन आवश्यक छ । अन्त्यमा फेरि पनि त्रिभुवननगर जेसीजको उद्देश्य र वर्षभरी गरेका कार्यको बारेमा राख्न दिने अवसर दिएको धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा पनि जेसीजसँगको सम्बन्ध, समन्वय र सहयोग निरन्तर रहने अपेक्षा गर्दछु ।