गोरक्ष समाचारदाता
दाङ, १९ मङ्सिर । बालबालिकालाई गुणस्तरीय र व्यावहारिक शिक्षाको आवश्यक रहेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले बताएका छन् । घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको ज्ञानमाला एकेडेमीले १७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसलाई सम्बोधन गर्दै सामाजिक विकास महाशाखा प्रमुख पौडेलले गुणस्तरीय शिक्षासँगै पढिसकेपछि समाजमा केही गरिखाने शिक्षा आवश्यक रहेको बताएका हुन् ।
विद्यार्थीले किताबी ज्ञान हासिल गर्ने तर व्यावहारिक जीवनमा आइपर्ने ज्ञान नहुँदा पढेर पनि बेरोजगार बन्नु पर्ने अवस्था रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले विद्यालयले बालबालिकालाई शिक्षासँगै उनीहरूमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटनमा ध्यान दिनुपर्ने बताए । शिक्षासँगै विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु आवश्यक रहेको भन्दै पौडेलले शिक्षा क्षेत्रमा अघि बढ्दै गरेको ज्ञानमाला एकेडेमीले विद्यार्थीको चौतर्फी विकासलाई मध्यनजर गरेर शिक्षा दिनु पर्ने बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तारा डिसीले गुणस्तरीय शिक्षासँगै बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको उजागर गर्न विद्यालयले महत्वपूर्ण कार्य गरेको बताए । परम्परागत शिक्षा प्रणालीले देशले चाहेको जस्तो जनशक्ति उत्पादन गर्न नसक्ने भएकाले प्रविधिसँग जोडेर शिक्षाको विकासमा लाग्नु पर्ने बताए । विद्यालयले वार्षिक प्रतिवेदनले वर्षभरि गरेका क्रियाकलापसँगै शैक्षिक उपलब्धि हासिल गर्दै विद्यालय अघि बढिरहेको भन्दै शिक्षाको विकासका लागि विद्यालयसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण वली, सिर्जनशील बाल क्लबकी अध्यक्ष तथा कक्षा ९ मा अध्ययनरत विद्यार्थी स्मारिका चौधरीलगायतले बोेलेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा भएका प्रतिभा उजागर गर्नमा ध्यान दिनु पर्ने बताएका थिए । विद्यालयले छोटो समयमै शैक्षिक तथा भौतिक सुधारमा राम्रो प्रगति गरेको भन्दै वक्ताले प्रशंसा गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेका विभिन्न प्रतियोगिताका विजेतासँगै सर्वोत्कृष्ट विद्यार्थी २०८१ बाट अदिति केसी, वर्ष उत्कृष्ट जेहेनदार विद्यार्थीबाट इक्षा थापा मगर, अनुशासनतर्फ प्राथमिक तहमा यसु चौधरी र निमावि र मावितर्फ सनिष केसी, सरसफाइतर्फ सर्वोत्कृष्ट विद्यार्थीका रूपमा पूर्व प्राथमिक तहमा इसान रोका मगर र प्राथमिक तहमा सुप्रिया चौधरी, सामाजिक कार्यमा उत्कृष्ट विद्यार्थी बुद्धिप्रकाश चौधरी, उत्कृष्ट अभिभावकका रूपमा कमला चौधरी र हुकुम रावतलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा २०८० को एसइई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । २०६५ देखि प्राथमिक तहको स्वीकृति लिएर सञ्चालनमा आएको विद्यालयले अहिले प्ले ग्रुपदेखि कक्षा १० सम्म पढाइ सञ्चालन गर्दै आएको छ । विद्यालयमा चार सय ६ जना विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक विद्यालयकी शिक्षक बिमला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी अदिति केसी र सुदीक्षा वलीले गरेका थिए । विद्यार्र्थीको अन्तरनिहित क्षमता मूल्याङ्कन गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सुधार गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएको विद्यालयले सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्य अनुसार शैक्षिक सत्र २०८१ देखि आफ्नै ज्ञानमाला एकेडेमी एप समेत सञ्चालन गरेको छ ।