गोरक्ष समाचारदाता
तुलसीपुर, १९ मङ्सिर । अपाङ्गता भएका व्यक्तिको जीवनलाई सहज बनाउन प्रविधि र पूर्वाधारमा उनीहरूको पहुँच सुनिश्चितता गर्नु पर्ने सरोकारवालाले जोड दिएका छन् । मानवअधिकार तथा शान्ति समाज दाङले ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तुलसीपुरमा गरेको नागरिक संवाद कार्यक्रममा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिका अधिकार र उनीहरूको समावेशी विकासका लागि प्रविधिको समुचित प्रयोग र पहुँचलाई प्राथमिकता दिनु पर्ने जोड दिएका हुन् ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले स्थानीय संघसंस्थाहरूले अपाङ्गता भएका व्यक्तिलाई समावेश गर्न आवश्यक पूर्वाधार निर्माणमा राज्यले ठोस कदम चाल्नु पर्ने बताइन् । उनले अपाङ्गता भएका व्यक्तिलाई पहुँचयुक्त यातायात, शिक्षालगायत अन्य सेवाहरू उपलब्ध गराउन पहल गर्नु पर्ने बताइन् । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष ईश्वरीप्रसाद खड्काले अपाङ्गता भएका व्यक्तिको स्वतन्त्रता र सम्मानजनक जीवनको ग्यारेन्टी गरिनुपर्ने बताए ।
उनले अपाङ्गता भएका व्यक्तिलाई गरिने व्यवहारमा परिवर्तन ल्याउन नसक्दा आत्मसम्मानमा ठेस पुग्ने गरेको बताए । राप्ती बहिरा संघ दाङका अजयकुमार शर्माले सडक, पुल अपाङ्गमैत्री नहुँदा समस्या हुने गरेको बताए । उनले सुन्न नसक्ने अपाङ्गता भएका व्यक्तिका लागि दोभाषे आवश्यक पर्ने बताए । मानवअधिकारकर्मी सुशील बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई उपयोगी हुने स्मार्ट प्रविधि र पहुँचयुक्त भवन निर्माण आवश्यक रहेको बताए । यस्तै मानव अधिकार शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले अपाङ्गता भएका व्यक्तिलाई लोक सेवा आयोगमा प्रतिस्पर्धा गर्ने छुट्टै व्यवस्था हुनु पर्ने बताए ।
दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले तयार पारेको अवस्था विश्लेषणसहितको अवधारणापत्र प्रस्तुत गरिएको थियो । शाखा सदस्य एवम् अपाङ्गताको अधिकारको क्षेत्रमा काम गर्दै आएकी रजनी शाहले अवधारणा–पत्र प्रस्तुत गरेकी थिइन् । प्रस्तुत अवधारणा–पत्रमा अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वाइन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सिर्जित विभिन्न अवरोधसँग अन्तरक्रियाको कारणले समाजमा अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गमा सहभागी हुन बाधा भएको व्यक्तिसमेतलाई उल्लेख गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि गरिएका संवैधानिक तथा कानूनी व्यवस्थालाई कार्यान्वयन गरिनु पर्छ । त्यसका लागि उनीहरूलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउन शिक्षा, स्वास्थ्य, रोजगारी, सिप तथा क्षमता विकासको अधिकार सुनिश्चितता गरिनु पर्नेमा जोड दिएको शाहले बताइन् । त्यससँगै कानुन निर्माण प्रक्रिया, योजना तथा कार्यक्रम निर्माण प्रक्रिया र बजेट कार्यान्वयन प्रक्रियामा समेत सहभागी गराउनु पर्ने उल्लेख गरिएको छ । सकारात्मक सोच र विकासबाटै परिवार, समाज र राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने कार्यक्रमहरू ल्याउने कुरामा जोड दिएको छ ।
शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको नागरिक संवादमा दृष्टिविहीन रामबहादुर खड्का, शान्तिसमाजका केन्द्रीय सदस्य तुलसीराम सुनार, शाखा सल्लाहकार निर्मल डाँगी योगी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि दीपेश भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी, पत्रकार दीपक बोहरा, जितसागर जिएम र उदीराम चौधरीलगायतले अपाङ्ता भएका व्यक्तिलाई अवसर, प्रविधि र पूर्वाधारमा पँहुचयुक्त बनाउनु पर्नेमा जोड दिएका थिए । उपसभापति अमृतप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव मधुसूदन गौतमले गरेका थिए ।
यसैबिच घोराहीमा प्रभातफेरीसँगै सार्वजनिक यातायातका साधनमा सचेतनामूलक पोस्टर टाँसेर दिवस मनाइएको छ । अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा घोराहीमा प्रभाफेरी गरी बसपार्क पुगेर सार्वजनिक यातायातलाई समावेशी बनाउन टाँसिएको थियो ।प्रभातफेरी जिल्ला प्रशासन कार्यालयबाट सुरु भएर बजारका विभिन्न भाग परिक्रमा गर्दै घोराहीको नयाँ बसपार्क पुगेको थियो । ¥यालीमा अपाङ्गता भएका व्यक्तिसँगै अपाङ्गता क्षेत्रमा काम गर्ने अधिकारकर्मी, विद्यार्थी, प्रहरी, महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न टोलका स्थानीयलगायतको सहभागिता रहेको थियो ।