मेरो खुशी : उत्कृष्ट कार्यक्रमको प्रस्तोतामा पहिलो हुँदा …

‘रेडियोमा बोल्न थालेपछि म आफूलाई चिन्न थाले । मेरो रुचि, मेरो, चाहाना, मेरो सपना अनि मेरो खुसी ।’ पछि ठुलो भएपछि तिमी के बन्ने ? मेरो जवाफ हुन्थ्यो ‘गायिका’ एफ.एम रेडियोका साङ्गितिक कार्यक्रममा भाग लिएपछि सोधिने प्रश्नमा मेरो जवाफ यही हुन्थ्यो आफ्ना खुुसीका पलहरू सम्झँदै पत्रकार दिप्तीशिखा चौधरीले भनिन् ।
‘स्कुले जीवनमा स्वागत कार्यक्रम, विदाई कार्यक्रममा स्वागत र विदाई गीत लेखेर गाउँने म ।’ विस्तारै एमएम रेडियोमा बज्ने साङ्गितिक कार्यक्रममा भाग लिएर गीत गाउँथे । त्यो समयमा रेडियो स्वर्गद्धारीमा दिदि बसुन्धरा गौतमको ‘तपाईको प्रतिभा’ र तुलसीपुर एफ.एममा विनोद आवरणको ‘प्रतिभाको खोजी’ कार्यक्रममा खुबै भाग लिने गर्दथे । गीत गाएर विजेता हँुदा खुबै खुसी लाग्थ्यो । बाबाले दिएको खाजा खाने पैसाले एफएमका कार्यक्रममा फोन लगाएर गीत गाउँनलाई पुग्थ्यो । त्यो समय अनेक सपना अनि अनेकौँ खुसी पनि । जीवनमा यो बन्छु भने पनि समयले कता–कता पु¥याउँदो रहेछ । अनेक सपनामा खुसी बुन्दै यो गर्छु यो बन्छु भन्दै उनेका माला आज कता–कता जेलिन पुग्यो ।
 जब दाङमा विस्तारै एफएम रेडियो खुल्न थाले । एफएम रेडियोमा बोल्ने रुचि बढ्दै गयो । २०६७ मा रेडियो हाम्रो पहुँचको स्थापना भयो । रेडियोकै आयोजनामा दश दिने रेडियो पत्रकारिता तालिम सञ्चालन भयो । ६०÷६५ जनाको समूहबाट उत्कृष्ट कार्यक्रमको प्रश्तोतामा म पहिलो भए पत्रकार चौधरीले आफ्ना खुसीका पल सम्झँदै भनिन् । ‘त्यति बेला खुसीको सीमा नै रहेन’ उनले भनिन् ।
हजारौँ किलोमिटरको यात्रा एक पाईलाबाट सुरु हुन्छ, पाईला चाल्न डराउँने हो भने यात्रा नै सुरु हुँदैन भन्ने सोचेर तालिम भरी थर थराएका खुट्टा, कापिएका आवाजलाई स्थिर बनाउँदै असल रेडियोकर्मी बन्छु भन्ने सोचका साथ सिक्नका लागि पछाडि नहटेको उनी बताउँछिन् । ‘त्यही आत्मबलले मलाई मेरो नाम चिनाउँन सफल भए’ म यसैमा खुसी छु चौधरीले भनिन् । बोली, ईमान्दारीता र सहनशीलता यी तीन गुणले मान्छेलाई सफल बनाउँछन् भन्ने कुरा जहिले पनि बाबा आमाले भने गरेको र त्यो समय ‘म केही गर्छु’ भन्ने सोच आउँने समयमा आफूले यही कुरालाई सम्झने गरेको उनी बताउँछिन् ।
२०६७ साल भदौँ ५ गतेबाट रेडियो हाम्रो पहुँच प्रशारण सुरु भएको र रेडियोमा बोल्ने रहरले पालो गरेर विज्ञापनमा बोल्न पाउँनु त्यो नै अर्को खुसीको पल भएको उनी बताउँछिन् । रेडियो यात्रा रहरको यात्रा भएको र अनेक संघर्षका बिचमा पनि खुसी लुकेको उनी बताउँछिन् । ‘बिहानदेखि साँझसम्म काम गर्दा पनि नथाकिने त्यो पल सम्झिँदा अझै पनि मिठो लाग्छ, समाचार, कार्यक्रम, विज्ञापनमा बोली रहनु दैनिकी भयो । घरमा बस्दा पनि रेडियो खोलेर बस्नु आफ्नो आवाज आफै सुनेर खुसी हुनु कति आनन्द लाग्थ्यो त्यो पल’ उनले विगत सम्झँदै भनिन् । रेडियो एफएम नसुन्ने बाआमा रेडियो खोलेर बस्न थाल्नु भयो ।
‘कहिले रातिकाे समयमा दश बजेको समाचार पढ्ने दिन छ भने आज रातिको समाचार छोरीले भन्दै छे भनेर न निदाएर सुत्ने बाआमा, यस्तो लाग्थ्यो मैले जीवनमा बाआमालाई संसारभरीको खुसी दिए ।’ ‘समाचार पढ्थे दाङमा अर्को कोमल वली जस्तो बोल्नेको होला भन्ने श्रोता पनि थिए, बाबाले पनि त्यही भन्नुहुन्थ्यो । छोरी तिमी कोमल वलीको जस्तै समाचार पढ्छौँ । मेरो खुसीको सीमा नै रहदैनथ्यो । मलाई मेरो आवाज कोमल वलीको जस्तो कहिले लागेन तर धेरै श्रोताहरूले त्यसै भन्नु हुन्थ्यो ।’ यस्तै चौधरीले आफूलाई श्रोताहरू रेडियोमै भेट्न आउँदा त झनै खुसीको सीमा नै नरहने गरेको बताइन् । । ‘खाना खाएर प्रेस लेखेको ज्याकेट र सानो टर्च लिएर गल्लीमा भेटिने आर्मीहरूको गस्ती बिचबाट हिड्दा आफूलाई महान, निडर छोरी रहेछु भन्ने लाग्ने गरेको र रेडियोको लतले डर नै हराउने गरेको उनले भनिन् ।
‘त्यो समयमा रेडियोको धेरै नै महत्व थियो, छ महिनासम्म पैसा बिनाको काम गर्दा पनि जाँगर मेहनत उत्तिकै थियो पत्रकार चौधरीले भनिन् । उनले आफू पैसाको पछि नलागेको बताइन् । अल्छी गरेर बस्नुभन्दा आफूलाई कर्मक्षेत्रमा सक्रिय गराई राख्ने यो पनि राम्रो तरिका हो जस्तो लाग्छ । सिक्दै सिकाउँदै अनि दाम पाउँनेभन्दा पनि नाम कमाउँने आशामा रेडियो यात्रा अगाडि बढाएको भन्दै रेडियो पत्रकारीले मान्छे चिन्ने र चिनाउँने समाजसँग भिज्ने मौका मिलेको भन्दै उनले खुुसी व्यक्त गरिन् । आफूलाई सामाजिक मान्छेको रुपमा चिनिने अवसर मिल्नुका साथै रेडियोभित्र मान्छे बस्छ ? भन्ने जिज्ञासा पनि मेटियो भन्दै त्यसभन्दा खुसीको क्षण अरू के हुन सक्छ र ?
आफू सँगैका धेरै साथीहरू सरकारी जागिरे भए तर नामको पछि आफू दौडिए त्याे समयमा उद्देश्य लक्ष्य नै रेडियो भएको उनी बताउँछिन् । । ‘समयसँग चल्नु पर्ने घण्टा नभएर सेकेन्ड र मिनेट सँगसँगै यसैले आज समयको मूल्य बुझे झै लाग्छ, गल्ती हुन्छ सच्याइन्छ ।’ उनले सात आठ वर्षको रेडियो यात्रा आफ्नो लागि सिकाई नै भएको भन्दै आफू राम्रो बन्ने प्रयासमा पत्रकारीतालाई पेसाको रुपमा अङ्गाल्न पुगेको भन्दै खुसी व्यक्त गरिन् ।
रेडियो यात्रासँगै इन्सेकमा रेडियो कार्यक्रम गर्ने मौका मिलेको भन्दै त्यसमा पनि आफू खुसीका साथ लागेको बताइन् । रेडियो नेपाल लगायत देशका अन्य एफएम रेडियोबाट आफ्नो कार्यक्रम सुन्दा झनै खुसी लागेको बताइन् । त्यस्तै चौधरीले २०७० सालमा म काठमाडौँ जागिर गर्न गएको बताइन् ‘नौँलो ठाउँ, नौलो परिवेश नयाँ मान्छे, सबैथोक नयाँ लाग्थ्यो तर पनि केही जान्ने र बुझ्ने अवसरको रुपमा लिँदै खुसी हुन्थे’ उनले भनिन् । जीवन भनेकै कहाँ, कसको सजिलोसँग गुज्रिएको छ र ? अलि कति अप्ठ्यारो अलि कति सजिलो मोड आउँछ । उल्झनभित्र अल्झिँदै यात्रा गर्दाको मजा नै बेग्लै भनेर आफैँ खुसी हुने प्रयास गर्थे । यो नै मेरो जीवनको बिर्सन नसक्ने खुसीका पल हुन् ।
काठमाडौँ बसाई पछि फेरि आफ्नै ठाउँमा काम गर्न अवसर रेडियो प्रकृतिमा मिलेको उनी बताउँछिन् । त्यहाँ पनि तीन वर्षसम्म काम गरेपछि दंगीशरण गाउँपालिकामा प्रेस संयोजकको रुपमा काम गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरिन् । ‘स्थानीय तहमा जनप्रतिनिधिको एक वर्षे कार्यकाल बितिसकेको र दोस्रो वर्षबाट स्थानीय जनप्रतिनिधिसँग काम गर्ने अवसर मिल्यो कोहीसँग पनि त म को भावना नराखी चार वर्ष बिताए ।’ सानैदेखि जीवनसँग हार्नु हुँदैन भन्ने भावनाको विकास भएको उनी बताउँछिन् । पत्रकार चौधरीले छोरी भएर पनि छोरीको दर्जामा आफूलाई नराखेर म छोरी मान्छे हो भनेर कहिल्यै सोचिन । कामको सिलसिलामा हिड्नु पर्ने ठाउँमा हिड्ने र दगुर्ने ठाउँमा दगुर्ने गर्दा खेरी नयाँ–नयाँ कुरासँग सम्झौता गर्ने दिन आउँने गरेको उनी बताउँछिन् ।
यस्तै पत्रकारीताको अनुभवसँगै मेरो योग्यता, क्षमताको कदर गर्दै प्रेस चौतारी दाङले २०७६ सालमा नेपाल पत्रकार महासंघ दाङको सह–सचिव पदमा उठाउने निर्णय गरेको र अग्रज, सहकर्मी सबैको मायाले चुनाव जितेको भन्दै सबै संगठनसँग प्रेस चौतारी एक्लै लड्दा जितेपछिको परिणाम त्यो झनै आफ्नो लागि जीवनको बिर्सन नसक्ने खुसी भएको उनी बताउँछिन् । चुनावमा कसरी जित्ने, कसरी होमिने सबै कुरा सिकाइको भन्दै खुसी व्यक्त गरिन् । ‘भोलिका दिनमा मेरो लागि पूर्ण पाठ भयो, मेरो परिवार, मेरो साथीभाइ, इष्टमित्र सबैजना खुसी भएको पल सबैबाट मुस्कान सहितको प्रेममय वधाई पाउँदा त …त्यो पल अविष्मरणीय मिठो लाग्छ’ उनले भनिन् ।
मिजासिली सहयोग सधै खुसीका साथ सतकर्म गर्ने चौधरीले जीवनमा दुःख, संघर्ष बिचबाट प्राप्त गरेका धेरै खुसीका पल भएको भन्दै खुसीका पल लेख्दा लेख्दै डायरी नै भरिने र मनका कुरा नसकिने बताइन् । ‘समस्या बिनाको जीवन हुँदैन तर समाधानबिना समस्या पनि हुँदैन, समस्या भएर नै समाधान पनि हुन्छ नै’ उनले भनिन् । पत्रकार चौधरीले जीवन अनुभव अनुभूतिको संगालो भएको भन्दै कहिले खुसी कहिले रोदन ।
आफूलाई आफू बनाएर उभ्याउन कति कठिन छ नारीलाई हरेक परिस्थितिमा । जीवन संघर्षका प्रत्येक क्षणमा खुसी खोज्ने प्रयासमा जीवन चल्दै छ हेरौँ कहाँ–कहाँ भेटिन्छन् खुसी’ चौधरी भन्छिन् ।
प्रस्तुति : बालाराम खड्का