बालाराम खड्का
तुलसीपुर, १६ मङ्सिर । राप्ती बबई क्याम्पस दाङको पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण शैक्षिक धरोहरका रूपमा रहेको छ । २०४७ सालमा स्थापना भएको क्याम्पसमा हाल निम्न तथा मध्यमवर्गीय परिवारका विद्यार्थीले सर्वसुलभ रूपमा उच्च शिक्षा हासिल गरिरहेका छन् तर हजारौँ विद्यार्थीलाई सफल बनाएको क्याम्पस ३४ वर्ष पुग्दा पनि लालपुर्जाविहीन छ । वार्षिक रूपमा हुने कार्यक्रममा भाषण गर्ने जोकोहीले यसको विकास र विस्तारमा सहयोग गर्ने भने पनि क्याम्पस प्रशासनले चाहेजस्तो भने हुन सकेको छैन ।
तुलसीपुर स्थित सामुदायिक राप्ती बबई क्याम्पसले भोगचलन गर्दै आएको जग्गा अहिले पनि क्याम्पसको नाममा दर्ता हुन सकेको छैन । ३४ वर्षसम्म भोगचलन गर्दै आएको जग्गा क्याम्पसको नाममा दर्ता हुन नसक्दा क्याम्पसलाई अनेकौँ समस्या झेल्न बाध्य छ । क्याम्पस व्यवस्थापन समिति र प्रशासनले भने आ–आफ्नो क्षेत्रबाट सकेजति त्यसको उन्नति र प्रगतिमा लागिरहेको छ । क्याम्पसको भौतिक निर्माणदेखि अन्य शैक्षिक गतिविधिलाई बढवा भने दिइरहेको छ ।
सुकुम्बासी क्याम्पसबाट पढेका र यहाँ नेतृत्व गरेकाहरू देशका ठुल्ठुला पदमा रहँदा पनि भोगचलन गर्दै आएको जग्गा क्याम्पसले आफ्नो नाममा दर्ता गराउन सकेको अवस्था भने छैन । राप्ती बबई क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मूल्याङ्कनको प्रमाणपत्र पनि प्राप्त गरेको छ । यो ठुलो उपलब्धि भएको शिक्षा क्षेत्रका व्यक्तिहरूले भन्दै आएका छन् । देशभरका एक हजार चार सय ४० क्याम्पसमध्ये क्याम्पसले क्यूएए प्राप्त गर्ने एउटा संस्था पनि हो । क्याम्पसमा ठुला–ठुला भवन तथा भौतिक प्रगति भने भइरहेको अवस्था छ । पछिल्लो समयमा करिब दुई करोड बढी सङ्घीय सरकार, क्याम्पस दातृ निकाय र खानेपानी मन्त्रालयलगायतका क्षेत्रबाट बजेट आएर क्याम्पसको विकासमा लगाएको क्याम्पस प्रमुख गणेश पार्धेले जानकारी दिए ।
अन्य सामुदायिक क्याम्पसमा विद्यार्थी न्यून रहे पनि त्यसको तुलनामा यस क्याम्पसमा विद्यार्थी सङ्ख्या बढी छ । क्याम्पसमा प्लस–टुतर्फ मानविकी समूह, शिक्षाशास्त्र, व्यवस्थापन समूह, स्नातक तह मानविकी सङ्काय, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय र स्नातकोत्तर तह सेमेस्टर प्रणाली सन्ध्याकालीनमा मानविकी, शिक्षा र व्यवस्थापन सङ्काय गरी सबैमा अहिले करिब दुई हजार छ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । यो सङ्ख्या अझै एक हजार बढीले बढाउने क्याम्पसको वार्षिक योजना रहेका छ ।
‘क्याम्पसको विकास र विस्तारका लागि सबै प्रयास भएका छन् अहिले पनि विद्यार्थी भर्ना भइरहेका छन्, यो शैक्षिक सत्रको आधा नै भएको छ’, क्याम्पस प्रमुख पार्धेले भने । क्याम्पसको करिब दुई बिघा बढी ऐलानी जग्गा र महेन्द्र स्कुलले भोगचलनका लागि जग्गा उपलब्ध गराएको छ । स्थापनाकालमा निकै अप्ठेरो परिस्थितिबाट यो अवस्थामा आएको सामुदायिक क्याम्पसको विकासमा सबैको चासो हुनु पर्ने शिक्षाका जानकार बताउँछन् । क्याम्पसमा ठुला–साना संरचनाहरू निर्माण भए पनि त्यसको लालपुर्जा भने छैन । यो सुकुम्बासी क्याम्पसको रूपम परिचित छ । सुकुम्बासी क्याम्पसमा सुकुम्बासी कुरा र भाषण हुने गरे पनि क्याम्पसले भोगचलन गरेको जग्गा क्याम्पसको नाममा ल्याउन भने समस्या छ । यसका लागि यहाँका सबै राजनीतिक दल, सरोकारवाला एकतृत भएर लाग्नु पर्ने जानकार बताउँछन् ।
तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष मानबहादुर डाँगीले भूमिसुधार मन्त्री डम्बर श्रेठ हुँदा मन्त्रालयमा १६ वटा राजनीतिक दलसहित शिक्षा क्षेत्रका व्यक्ति मन्त्रालय पुगेर यहाँको स्थानीय सरकार तथा सरोकारवालाका सिफारिससहित जग्गा दर्ताको लागि पहल गरेको र तत्कालीन मन्त्रीले मन्त्रिपरिषद्मा फाइल पेस गर्ने आश्वासन दिएका थिए । र त्यो कामले पूर्णता पाउन भने सकेन । दाङका अन्य विद्यालय, क्याम्पससँगै यो समस्या राष्ट्रिय समस्या नै बनेको छ ।
राज्यको नीति नै त्यस्तै भएकाले समस्या हुने गरेको क्याम्पस सञ्चालक समिति बताउँछन् । क्याम्पसको जमिनको लालपुर्जा नहुँदा अन्य अनुदान र सहयोग सहजै प्राप्त गर्न नसकिने अवस्था रहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुख गणेश पार्धेले यस अघि पनि जग्गाको विषयमा फाइल मन्त्रालयमा पेस भएको र अब पनि पहल गर्ने बताए । ‘हाम्रो आगामी कार्यक्रम र नीतिमा यो विषय र क्याम्पसलाई आङ्गीक बनाउने धेरै कुरा छन्, हामीले पहल गर्ने छौँ’, उनले भने ।
केही दिन पहिले भएको साधारणसभामा सहभागी राजनीतिक दल, समाजसेवी, उद्योगी व्यवसायीले क्याम्पसको जग्गा दर्ताका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । ‘म सदस्य सचिव भएकाले मैले प्रतिवेदनमा धेरै कुराहरू उल्लेख गरेको छुँ, यसमा जग्गा दर्तादेखि भोगचलन गरेको जग्गाको लागि सहमति ल्याउने र स्थानीय सरकार कागजात जुटाउने काम हुनेछ, यसमा सबैले सकारात्म तवरले सहयोग गरे हामीले राप्ती बबईको नाममा जग्गा दर्ता गराउनुका साथै, क्याम्पसको विकासका लागि सहज हुनेछ’, पार्धेले भने ।