calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

सम्पादकीय : सडक टालटुलमा खेलाँची

घोराही–तुलसीपुर सडक स्नरोन्नतिको ठेक्का तोडिएसँगै अघिल्लो आर्थिक वर्षदेखि यो सडकलाई डिभिजन सडक कार्यालयमार्फत् टालटुलको काम हुँदै छ । अघिल्लो वर्ष दुई ठेक्काको गरी करिब ३ करोड रुपैयामा ठेक्का सम्झौता भएर गरिएको टालटुलले एक वर्षसम्म करिब–करिब सडक सास्ती कम भएको थियो ।

सडकैभरि परेका खाल्डाका कारण दैनिकजसो दुर्घटना बढेसँगै सरकारले डिभिजन सडकमार्फत् यो सडकलाई टालटुल गरी चलाउने काम थाल्यो । त्यसै अनुरुप यो वर्ष घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको करिब २९ किलोमिटर सडक टालटुलको काम धमाधम भइरहेको छ । सम्भवतः टालटुलको काम घोराहीदेखि नारायणपुरसम्म सम्पन्न भएको छ । यस क्षेत्रमा तोकिएको मापदण्डमा सडकको बिच भागमा परेका खाडलसँगै भत्किएका किनाराहरु पक्की गरियो । यसले यातायात सेवामा कहीँ सहज भएको छ ।

घोराहीदेखि नारायणपुरसम्मको टालटुल जस्तै नारायणपुरदेखि तुलसीपुरसम्म सुरु भएको छ तर यो टालटुलमा व्यापक त्रुटिहरु देखिएका छन् । सडकको बिच भागमा मात्र टालटुल गर्दै निर्माण कम्पनी अघि बढेको देखिएको छ । भत्केका सडक किनारामा टालटुल भएको देखिँदैन । बिच सडकमा परेका खाडलहरुमा अप्राविधिक रुपले झारा टार्नैै काम मात्रै भएको छ । टालटुलमा अघिल्लो वर्षको जस्तो गुणस्तर देखिएको छैन । न्यून गुणस्तरको टालटुल एक सातामै भत्कन समेत थालेको छ ।

यसैगरी टालटुलको काम कालाखोला उकालोमा होस् वा ग्वारखोला पक्की पुलका दुवै किनारामा प्रभावकारी र अर्थपूर्ण रुपमा हुन सकेको छैन । निर्माण व्यवसायीले सडकबिचमा परेका खाडल पक्की पिच गर्ने क्रममा खाडलमा रहेको धुलो समेत नउठाएर कालोपत्रे गर्ने गरेको व्यापक जनगुनासो देखिन थालेको छ । अहिले झन घोराही–तुलसीपुर सडक पुनः स्तर वृद्धिका लागि ठेक्का प्रक्रियामा लैजाने निश्चित भएपछि टालटुलको काम अझै दयनीय गुणस्तरको देखिएको छ । यो टालटुल जुनसुकै बेला भत्कन सक्ने देखिन्छ ।

सडक टालटुलको काम ठेक्का प्रक्रियाबाट भइरहेको छ । यसको ठेक्का घोराही स्थित डिभिजन सडक कार्यालयमार्फत् भइरहँदा टालटुलको गुणस्तरका सम्बन्धमा डिभिजन सडक कार्यालय गम्भीर देखिएको छैन । ठेक्का सम्झौता वमोजिम टालटुलको काम भएको छ÷छैन भनेर अनुगमन गर्ने र निगमन गर्ने जिम्मा डिभिजन सडककै हो तर घोराही–तुलसीपुर सडक टालटुल गर्दै गर्दा नियमित निगमन र अनुगमन हुन सकेको छैन । सडकका प्राविधिकहरु नियमित रुपमा साइटमा आउने गरेका छैनन् । यसले निर्माण व्यवसायीलाई न्यून गुणस्तरको कालोपत्रे गर्न थप सहज भएको छ । यही कारण टालटुल गरिएको सडकको गुणस्तरमा समेत प्रश्न तेर्छिएका छन् ।

यो विषयमा डिभिजन सडक कार्यालय गम्भीर हुन आवश्यक छ । यसैगरी यो सडकमा प्रमुख जिल्ला अधिकारीदेखि स्थानीय सरकारका प्रतिनिधिहरु नियमित जसो आउजाउ गर्छन् तर गुणस्तरहीन र ठेक्का सम्झौतामा उल्लेख भएबमोजिमको गुणस्तरका लागि निगरानी बढाउनु पर्ने हो । यो टालटुलको गुणस्तरका विषयमा स्थानीय प्रशासनलगायत स्थानीय सरकारले अर्थपूर्ण रुपमा चासो दिएको देखिँदैन । यसैको लाभ निर्माण कम्पनीले उठाइरहेको छ । कम्तिमा दुई वर्षसम्म चल्ने गरी सडक मर्मतको काम अघि बढाउनु पर्छ भन्ने आम नागरिकको अपेक्षा छ ।

अब केही महिनापछि सो सडकखण्डलाई मदन भण्डारी राजमार्गको हैसियतमा कालोपत्रे र स्तरोन्नति गर्नका लागि बजेट सुनिश्चितता नभएको होइन तर आउँदा दुई वर्षसम्म चल्ने गरी सडक मर्मत गर्नु पर्नेमा कुनै विमति छैन । सडक स्तरोन्नति हुन अझै केही वर्ष लाग्ने छ । यो अर्थमा सडक टालटुलको कामलाई प्राविधिक रुपले तोकिएको मापदण्डमा रहेर अघि बढाउन आवश्यक छ । टालटुल गरिएको सडकमा गुणस्तर कायम राखौँ । टिक्ने खालको सडक मर्मत गरौँ । सामान्य कालो पोतेर सडकको टालटुल भएको मान्न सकिने छैन । जिल्लाका दुई ठुला उपमहानगरपालिका जोड्ने सडकमा खेलाँची नगरौँ ।