किन हुँदैन टरिगाउँ विमानस्थलको रनवे वृद्धि ?

खेमराज रिजाल
तुलसीपुर, १६ मङ्सिर । ‘विसं २०६८ सालमा तत्कालीन पर्यटनमन्त्री म लोकेन्द्र विष्ट र संविधान सभाका सभामुख स्वर्गीय सुभाष नेम्वाङ काठमाडौंबाट हेलिकोप्टरबाट पश्चिम जाँदै थियौँ । त्यही क्रममा तुलसीपुरको टरिगाउँ विमानस्थलबाट कुनै माननीयलाई पिकअप गर्नु पर्ने भएकाले हामी तुलसीपुरको टरिगाउँ विमानस्थलमा ल्यान्ड ग¥यौँ । विसं २०११ सालमा सञ्चालनमा आइसकेको एयरपोर्ट अझै घाँसे मैदान थियो, हामीलाई लाग्यो– यसलाई कालोपत्रे गर्नुपछ भन्ने । काठमाडौं पुगेपछि प्रक्रिया सुरु भयो र कालोपत्रेको काम पनि भयो ।’

गरिगाउँ विमानस्थल कालोपत्रे भएको स्मरण गर्दै पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट सम्झन्छन्, ‘सायद त्यो बेला एयरपोर्ट कालोपत्रे गर्न ११ करोड रुपैया खर्चिएको थियो ।’ त्यो बेला टरिगाउँ विमानस्थलको स्तर वृद्धिका लागि कालोपत्रे गर्ने र रनवेको एलाइन्मेन्ट डिजायन गर्न तत्कालीन नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारी आएका थिए ।

उनले यस्तो एलाइन्मेन्टमा डिजाइन गरे कि यो विमानस्थलको रनवे वृद्धि गर्न यही एलाइनमेन्टमा नसकियोस् । किनकि प्रदीप त्यो बेलादेखि नै भैरहवा र नेपालगञ्जका राजनेता तथा व्यापारीको इसारामा चल्थे । उनीहरूकै इसारामा सकेसम्म टरिगाउँको विमानस्थलको स्तरवृद्धि सानोतिनो बजेटले हुन नसकोस् भनेर डिजाइन भयो । सायद यो कुरा तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष बिमल रिजाललाई पनि जानकारी थियो ।

उनै प्रदीप अधिकारी अहिले नागरिक उड्डयन प्राधिकरणका डिजी छन् र उनको नेपालगन्ज र भैरहवाको एयरपोर्ट मोह अझै गाढा थियो । त्यसैले टरिगाउँ विमानस्थललाई हतपत्ति स्तरवृद्धि भएको उनी देख्न चाहन्नन् । यही कारण नागरिक उड्डयन प्राधिकरण अझै तुलसीपुरको टरिगाउँ विमानस्थलको धावनमार्गको रनवे वृद्धि गर्न सकारात्मक छँदै छैन । ‘जबसम्म प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा रहन्छन् उनले टरिगाउँ विमानस्थलको स्तर वृद्धि गर्न सकारात्मक होलान् भन्ने विषयमा हामीलाई शङ्का छ’, टरिगाउँ विमानस्थललाई विगत लामो समयदेखि नियाल्दै आएका तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल भन्छन् ।

यो वियायमा यहाँका राजनेताहरू गम्भीर हुनु पर्ने रिजालको तर्क छ । ‘त्यो बेला नै धावन मार्गको लम्बाइ बढाउन सकिने गरी आफूहरूले इन्जिनियर अधिकारीलाई पटक–पटक आग्रह गरे पनि आफूहरूको कुरा उनीबाट सुनुवाइ नभएको रिजाल बताउँछन् । ‘धावनमार्गको यस्तो एलाइन्मेन्ट डिजाइन गरिदिए कि जताबाट पनि धावनमार्गको चौडाइ वृद्धि हुन नसकोस्, अर्थात् रनवे बढाउनका लागि फेरि जग्गा व्यवस्थापनको कुरा उठोस्’, तुलसीपुर उद्योग वाणिज्य संघकै अर्का पूर्व अध्यक्ष रामप्रसाद चालिसेको तर्क छ तर यहाँबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरू यो विषयमा जानकार छैनन् ।

टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ अहिले सात सय ५० मिटर मात्र छ । यसमा १६ सिटे ट्विनटर मात्र अवतरण गर्न सक्छ । ठुला जहाज अवतरणका लागि कम्तिमा १२ सय मिटर लम्वाइको धावनमार्ग निर्माण गर्नु पर्ने नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको भनाइ छ । यति लम्बाइ पु¥याउन धावनमार्गको एलाइन्मेन्ट भने परिवर्तन गर्नु पर्ने हुन्छ ।

एलाइन्मेन्ट परिवर्तन गर्दा एयरपोर्टलाई पुनः कालोपत्रे गर्नु पर्ने अवस्था प्राधिकरणका प्राधिकरणले बताउँदै आएका छन् । यसका लागि ठुलो चिरो भाट्नु पर्ने तथा थप जग्गा अधिग्रहण गर्दा तीन अर्ब रुपैयाँसम्म बजेट लाग्ने प्राविधिक अनुमान पछि एयरपोर्ट स्तरवृद्धिको काम प्रचारात्मक अभियानमा मात्रै सीमित रहेको छ । खास प्राविधिक समस्यामा यहाँका नेताहरू सायद जानकारी नै नभएको अनुभूति भइरहेको तुलसीपुरका एक व्यावसायीले बताए ।

उनै प्रदीप अधिकारी अहिले नागरिक उड्डयन प्राधिकरणको डिजीको हैसियतमा फेरि भइरहवामा विवादमा तानिएका छन् । उनले विवादास्पद अभिव्यक्ति दिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ठाडो चुनौती पनि दिएका छन् । महानिर्देशक अधिकारीले शुक्रवार भैरहवामा आयोजित एक कार्यक्रममा भैरहवामा अन्र्तराष्ट्रिय विमानस्थल चल्दैन भनेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा दिएको अभिव्यक्तिप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सङ्घीय सांसदले आपत्ति जनाएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको विषयमा विहीवार साँझ भैरहवामा आयोजित कार्यक्रममा बोल्ने क्रममा महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानहरूका लागि बजार नभएकाले यसलाई आन्तरिक विमानस्थल बनाउनु पर्ने अभिव्यक्ति दिएका थिए । ‘भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबै क्यान अन्तर्गतकै भएकाले काठमाडौं आउने जहाज घटाएर भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सकिएला तर बजारका हिसाबले हेर्ने हो भने काठमाडौंबाहेक अर्को विमानस्थल चल्न सक्दैन, यही सत्य हो’, महानिर्देशक अधिकारीले भने ।

उनले यति अभिव्यक्ति दिइरहँदा क्यानकै प्राविधिक सुपरीवेक्षणमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको विषयलाई बिर्से । अहिले विभिन्न पाँचवटा विमान कम्पनीले भैरहवाबाट सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको तर यात्रु नहुँदा कतिपय विमानहरू भैरहवामा अवतरण र उडान मात्र गर्दै आएकाले यो विमानस्थल चल्न नसक्ने बताएका थिए । महानिर्देशक अधिकारीले अहिले सधैँभरि घाटा खाएर विमानस्थल सञ्चालन नहुने बताएर कार्यक्रमबाट बाहिरिएका थिए ।

अधिकारीको अभिव्यक्तिलाई लक्षित गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले बनाएको कार्ययोजनालाई खण्डित हुने गरी बोल्ने अधिकार सरकारी निकायमा रहेका कुनै पनि कर्मचारीलाई नभएको भन्दै जनतालाई निराशा बनाउने खालका अभिव्यक्ति बन्द गर्न सचेत बनाए ।

सरकारले आवश्यकता देखेर भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको र यसको सञ्चालनका लागि कार्ययोजना बनाइरहेको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिले नै नकारात्मक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए । यस्ता विवादास्पद अभिव्यक्ति मुख्यमन्त्रीकै सामु खुलेआम बोल्ने क्यानका डिजी टरिगाउँ विमानस्थलप्रति सकारात्मक नभएको व्यवसायहीले बताएका छन् । उनी क्यानको नेतृत्वमा रहेसम्म टरिगाउँ विमानस्थलको स्तरवृद्धि असम्भव रहेको व्यवसायीदीर्घामा यतिबेला चर्चामा छ ।