Goraksha

National Daily

तुलसीपुर उपमहानगरपालिकाका,तह वृद्धि भएका कर्मचारी आन्दोलित

गोरक्ष समाचारदाता
तुलसीपुर, १४ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाबाट तह वृद्धि भएका कर्मचारीले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरूले असोज १३ गते भएको २६औँ नगरकार्यपालिका बैठकमा तह वृद्धि भएका कर्मचारीउपर छलफलको कुनै एजेण्डा नभएको र छलफलको विषय नै नभएको अवस्थामा बैठक बसेको एक महिनापछि नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक हुँदा निर्णय नं. २२ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भई तुलसीपुर उपमहानगरपालिकालाई लिखित रूपमा जानकारी गराइएकोमा सर्वोच्च अदालतको समेत अपेहलना हुने गरी पुनरावेदन दोपा दर्ता भएको मुद्दालाई लत्याउँदै कर्मचारीलाई घटुवा सम्बन्धको निर्णय प्रमाणीकरण भई सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

कर्मचारीले पत्रकार समेलन गरेर प्रमुख प्रशासकीय अधिकृतको यो गलत कार्यप्रति सचेत गराउँदै उक्त निर्णय खारेजीको लागि माग समेत गरेका छन् । यसैगरी उनीहरूले अस्थायी करार कर्मचारीहरूको करार सम्झौताबिना नै गैरकानुनी तवरबाट कामकामजमा लगाइएको, सहायक कर्मचारीको सेवा सुविधा थप गर्नुको सट्टा कटौटी गरेको, सेवा निवृत्त कर्मचारीहरूको उपदान रोकेको, समयममा तलव उपलब्ध नगराएको र आफैँले पारित गरेका ऐन कार्यविधिभन्दा बाहिर गई मनोमानी निर्णय गरेको भन्दै आन्दोलनका कार्यक्रमसहित सङ्घर्ष गर्ने जानकारी गराएका छन् ।

आन्दोलन अन्तर्गत सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधी विरोध जनाउने, पेनडाउन गरी कामकाज ठप्प पार्ने, घर्ना कार्यक्रम गरी सबै पक्षलाई आन्दोलनमा सहभागी गराउने र कार्यालयमा तालाबन्दी गरी काम काज ठप्प पार्ने सङ्घर्ष समितिका संयोजक ललितबहादुर घर्तीले जानकारी दिए । त्यस्तै विभिन्न वडाध्यक्षले पनि कार्यपालिकाको छलफलको विषय नै नभएको अवस्थामा बैठक बसेको एक महिनापछि निर्णय नं. २२ सार्वजनिक भएको देख्दा आफूहरू आश्चर्यचकित भएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।

वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले स्थानीय सरकारको रूपमा रहेको पालिका बैठकमा छलफलका विधिबाट हुनु पर्ने निर्णय एकात्मक तथा गैरछलफलबाट आएको बताए । वडाध्यक्षले जारी गरेको विज्ञप्तिमा यो भन्दा अघि पनि कार्यपालिका बैठकमा यस्ता गतिविधि पटक पटक भएकाले सो कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रमुख प्रशासकीय अधिकृतको यो गलत कार्यप्रति सचेत गरा राएका छन् । निर्णय नंं २२ मा गम्भीर असहमति प्रकट गदै उक्त निर्णय खारेजीको लागि माग समेत गरेका छन् । विज्ञप्तिमा ६ जना वडाध्यक्षको नाम रहे पनि वडाध्यक्ष घनश्याम ढकाल, धर्मराज वली, थलराज पुरी, वीरेन्द्र शाहले हस्ताक्षर गरेका छन् ।

पत्रकार समेलनमा वडाध्यक्ष शाहले अन्य दुई जना अध्यक्षले हस्ताक्षर नगरे पनि रामबहादुर जिसी कामविशेषले अन्यत्र गएको र वीरबहादुर विक उपस्थित नभएको जानकारी गराएका थिए । असोज १३ गते भएको २६औँ नगर कार्यपालिका बैठकले तुलसीपुर उपमहानगरपालिका स्थानीय तहका कर्मचारीहरूको तह वृद्धिसम्बन्धी कार्यविधि २०७८ अनुरूप बढुवा गरिएका कर्मचारीको सम्मानित उच्च अदालन तुलसीपुरको २०८० चैत २६ गतेको फैसला र यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलाय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको उजुरी र तत्सम्बन्धी छानबिन गर्ने पटकपटकको पत्रलाई मध्यनजर गर्दै उक्त कार्यविधि २०७८ अनुरूप बढुवा गरिएका कर्मचारीको सम्बन्धमा उच्च अदालत तुलसीपुरको रिट खारेजसम्वन्धी आदेशलाई सम्मान गर्दै सर्वोच्च अदालतबाट पछि आदेश भई आएमा सोही बमोजिम गर्ने गरी हाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भावना र उच्च अदालत तुलसीपुरको आदेशको मर्मलाई कार्यान्वयन गर्ने भनेर निर्णय सार्वजनिक गरिएको छ ।