Goraksha

National Daily

राप्तीमा दुई सय बढी कुकुरको बन्ध्याकरण

गोरक्ष समाचारदाता
देउखुरी, १३ मंसिर । राप्ती गाउँपालिकामा २ सय बढी कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिका क्षेत्रमा सामुदायिक ९छाडा० कुकुरको संख्या बृद्धि भई दुर्घटना निम्त्याउने जोखिम बढेपछि शिविर सञ्चालन गरेर कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिएका छन ।

उनका अनुसार शिविरमा १ सय १६ वटा भाले र ८९ वटा पोथी कुकुर गरी २ सय ५ वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष ९पोखरा० को प्राविधिक सहयोगमा बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरेको थियो ।

घरमा पालेको कुकुरहरुलाई बेला बेलामा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरे तापनि सामुदायिक ९छाडा० कुकुरहरूको उपचार र भ्याक्सिनेसन गर्ने काम राज्यको भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । उनले पशुपंक्षीमध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथी भएको र घरलगायत अन्य काममा समेत सुरक्षा प्रदान गर्ने भएकाले पालिकाले कुकुरहरुको उन्मूलन नभई व्यवस्थित गर्न लागेको बताए ।

शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण र उपचार गरिएको थियोे । बन्ध्याकरण गरिएका कुकुरहरुलाई नियन्त्रण लिएकै स्थानमा लगेर छोडिएको छ । शिविर मंसिर १० गतेदेखि १३ गतेसम्म पालिकाको वडा नं।४ गोपीनालास्थित पशु उपचार केन्द्रमा सञ्चालन गरिएको थियो । शिविर समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका डा प्रतिमा विष्ट,अधिकृत कृष्ण न्यौपाने,हिमालयन एनिमल रेस्क्यू कोषका प्रमुख खगेश्वर शर्मा भट्टराईलगायतको सहभागीता रहेको थियो ।