बालबालिकाको पोषण अवस्था जाँच गरिँदै
गोरक्ष समाचारदाता
देउखुरी, १४ मङ्सिर । राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन तीन हजार तीन सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान सुरु गरिएको छ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाको नौ वटै वडाका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो ।
हेलन केयर, भिटामिन एन्जेल र आइडिईको सहयोगमा बेस संस्थाद्वारा सञ्चालित ‘पोषणमार्फत् जीवन रूपान्तरण परियोजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । बालबालिकाको पाखुराको बिच भागको परिधि मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ । गाउँपालिकाका ९ वटै वटाका ६४ जना महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको छ । परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत् सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टिसेक्टरल एक्योन् फर न्युट्रिसन (मुआक) लिने कार्य गरिनेछ ।
मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयोजक अनिल केसीले बताए । पाँचवर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयोजक केसीले बताएका छन् । बेस संस्थाका जिल्ला सचिव रुपलाल चौधरीले महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबिच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताए ।
राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न जोड दिइन् । त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष प्रवक्ता पहलवान चौधरीले बालबालिकाहरू कुपोषणमुक्त भए मात्रै उनीहरूको शारीरिक, मानसिक तथा शैक्षिक अवस्था राम्रो हुने बताउँदै यो अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिए । राप्ती गाउँपालिकामा हाल ०.३५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याङ्कले देखाएको छ ।