Goraksha

National Daily

घोराहीमा बास्केटबल प्रतियोगिता सुरु

गोरक्ष समाचारदाता
दाङ, १४ मङ्सिर । घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ विहीवारदेखि सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता र नगर प्रवक्ता एवम् सामाजिक विकास समिति संयोजक राममणि पाण्डे, सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यको विशिष्ट आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै निप्रमुख अतिथि डिसीले खेलकुद विकासका लागि घोराहीले पूर्वाधार निर्माणमा जोड दिन लागेको बताइन् । स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको भन्दै खेलकुदका गतिविधि चलायमान बनाउन पूर्वाधार विकासमा ध्यान दिने बताइन् ।

सामाजिक विकास महाशाखा प्रमुख पौडेलले जिल्लाका १० पालिकामध्ये घोराहीले व्यवस्थित रूपमा खेल गतिविधि गरिरहेको भन्दै यस प्रकारका गतिविधिले शिक्षामा योगदान गर्ने काम गरेको बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले खेलकुद स्वस्थ नागरिक उत्पादन गर्ने आधार रहेको बताए । कार्यक्रममा वडा नं. १८ का वडाअध्यक्ष भरतमणि अर्याल, खेल तथा शिक्षाविद् नारायणसिंह गुरुङ, बास्केटबल संघ दाङका अध्यक्ष विपिन केसीलगायतले खेलकुद हरेक व्यक्तिका लागि आवश्यक रहेको बताएका थिए । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता लिग चरणमा सञ्चालन भइरहेको खेल संयोजक बिमल थापाले जानकारी दिए । कार्यक्रमको सहजीकरण नगर खेलकुद विकास समिति सदस्य श्रवणकुमार खनालले गरेका थिए ।