Goraksha

National Daily

दिल्ली पुगेजस्तो सजिलो छैन अमेरिका पुग्न

युवराज शर्मा

मानिस प्रत्यन्तशील छ । उसको प्रयत्न निरन्तर छ । हुन त मनिसको जीवन क्रियाशील छ । सङ्घर्षशील जीवन मानिसको हो । तैपनि जति सङ्घर्ष गरे पनि झिनो सफलता छ । नेपालको सरकार तीन तहको भए पनि कुनै तहले युवाहरुलाई रोजगारी दिन स्थानीय सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम भए पनि निश्चित व्यक्तिहरु र सम्बन्ध स्थापित मान्छेहरु छन् ।

दुरदराजका गाउँले युवाहरु निर्वाध रुपमा धेरै दिल्ली जान्छन् । उनीहरुको रोजगारीका लागि गन्तव्य स्थल भारतको दिल्ली हो । जहाँ युवाहरु बिना रोकतोक आउजाउ गर्न सहज छ । हुन त नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पनन देश हो र यसको भारतसँग पूर्व, पश्चिम र दक्षिणतर्फका सीमानाकाहरु खुला छन् । आउजाउमा कुनै किसिमको रोकतोक छैन । अझ दक्षिण भूभागका बासिन्दाहरुले भन्दै आएको एउटै भनाइ छ– हाम्रो भारतसँग रोटीबेटीको स्म्बन्ध छ । उनीहरुका लागि नेपाललाई देशका रुपमा सम्झन्छन् । उनीहरु प्रायःजसो भारतीय मूलका मानिसहरु हुन् । नाता सम्बन्ध भए पनि उनीहरुले भारतलाई आश्रय स्थल मान्छन् ।

रोजगारीका लागि नेपाली भारततर्फ जानेको लर्को लाग्छ । दसैँ–तिहार जस्ता महान पर्व सकिनासाथ भारततर्फ जानेहरु अधिकांश सपरिवार जान्छन् । उनीहरुको जानु पर्ने कारण नै रोजगारी र खाद्य समस्या पूरा गर्नका लाग हो । नेपाली भए पनि चार महिना घरमा बसेर खान लाउन सक्ने परिवार छैनन् । यसले रोटीको समस्इा भएका नेपाली कूल जासङ्ख्यामा ८० प्रतिशत छन् भन्न सकिन्छ । यस्तो अवस्था नेपालीको छ । सरकार चलाउनेहरुले ठुला देशहरुबाट ऋण लिएर तलवभत्ता खुवाउने खाने मात्र गर्छन् । विश्वको गरिब र विपन्न देशमा पर्छ तर सत्ता चलाउनेहरुले खाद्य आपूर्ति र भुक्तानी गतिविधिलाइृ घटाउन चाहेको पाइन्न ।

सत्तामा बसेर मोजमस्ती गर्नै व्यक्ति दलको नेता भन्न सुहाउन्न । तैपनि दलका नेताहरुमा दम्भ र प्रतिशोधको भावना बढ्दै गएको अवस्था छ । एक दल अर्को दललाई प्रतिस्पर्धात्मक रुपमा विकास गर्नु पर्दथ्यो तर त्यसो गरेनन् । यद्यपिसम्म गर्न सकेका छैनन् । आफूहरु पदासिन भएको अवधि मात्र गणना गर्छन् । यो अवधिका विकासभन्दा विनाश भइरहेको अवस्था छ । यसले के देखाउँछ भने नेपालको राजनीतिले दलहरुको लोकतन्त्रात्मक विकास नागरिकहरुमा गर्न सकेन । शक्ति, सत्ता र दम्भको मात्र राजनीतिमा अडिरहेको छ । यसले के देखाएको छ भने जो दल सत्तामा भए पनि तानाशाही प्रवृत्ति हाबी भएको अवस्था छ । यसले देशलाई गरिबी, अभाव, बेरोजगारी अवस्था बढाएको छ । त्यसैले नागरिक वर्षापछि भारतको दिल्ली, सिमला, उत्तराखण्ड, हिमाञ्चल प्रदेशका सहरहरुमा कामको खोजीमा घरमा ताला लगाएर गएको गाउँको अवस्था छ ।

गाउँघरमा भन्ने चलन छ– देशको माया भएर के गर्ने, खाने, बस्ने वातावरण नै जुन दल सत्तामा गए पनि गर्न नसकेको भयो । नागरिकले गाउँ–गाउँ छाड्दै गए । किन छाडे भन्ने कुनै तहको सरकार छैन । अब गाउँका युवाहरु गाउँमा बस्न छोडे । अमेरिकाको सपना देख्छन् । दलालतन्त्र हाबी भएको छ । गणतन्त्रलाई दालालतन्त्र बनाउनेहरु नै दलहरुका नेताहरु हुन् भन्छन्– गाउँघरमा युवाहरु । उनीहरु आपसमा भन्छन्– दिल्ली पुगेजस्तो छैन अमेरिका पुग्न । उत्तर अमेरिका पाताल मुनिको देश हो । जसलवाई नेपाली युवाहरुले सपनाको देश, अवसर पाइने देश र अर्थोपार्जनको देश भन्छन् । त्यहाँ जान पनि दलालको सहारा चाहिन्छ । धनपैसा खर्च पनि धेरै लाग्छ । त्यहाँ दलालहरुमार्फत् पुगेका युवाहरुले कमाएको धनपैसाबाट नेपालमा कुनै विकास गरेका छैनन् र, उनीहरु धेरैजसो गाडी, घर र सुविधामा उतै रमाएका छन् । उतैको मान्छे बनेका छन् । नेपालीपन हराएको छ । उनीहरुको स्वभाव र रहनसहनमा नेपाली राष्ट्रियता पाइन्न । आफ्नो घर भुलेका छन् । बन्धुवान्धवहरुलाई बिर्सेका छन् ।

अमेरिका एउटा सम्पन्न र शक्तिशाली देश हो । यो देशको महानता सबै देशहरुले बुझेका छन् । यहाँको सरकार पुँजीवादी लोकतन्त्रात्मक छ । यस देशलाई पत्ता लगाउने पोल्याण्डका नागरिक नासगोडिामा हुन् । उनले त्यस देशलाई प्रणाली, व्यवस्थापन र नीतिनियम कानून बनाएर राज्य सञ्चालन गराएको इतिहास छ । राष्ट्रपति र उपराष्ट्रपति भएपछि उनीहरुको समय भएपछि रिटायर्ड लाइफ सामान्य नागरिक सरह रहनु पर्ने बनाए । अहिले पनि पदासिन व्यक्तिको समय सकिएपछि सामान्य नागरिक सरह रहने व्यवस्था छ । यहाँको लोकतन्त्रले गरेका व्यवस्था नागरिकका लागि उपयोगी भएका छन् ।

उद्योग, व्यवसाय र व्यापार जस्ता क्षेत्रहरुमा प्रभावकारिता बढेको कारण अमेरिका जानेहरुको आकाङ्क्षा बढेको हो । यसले नेपाली युवाहरुलाई आकृष्ट पारेको छ । यस देशमा जाने तीन प्रकारका मार्गहरु छन् । प्रथम डिभिीमार्फत्, दोस्रो अध्ययन भिसामा र तेस्रो पनामाको जङ्गलबाट चोर बाटो भएर । यस्ता मार्गहरुमा खतरा मोलेर युवाहरु जान्छन् । मोटो रकम खर्च गर्छन् । दलालको सहारा लिन्छन् । त्यसैले युवाहरु भन्छन्– दिल्ली पुगे जस्तो छैन पुग्न अमेरिका । तैपनि धनपैसाको ओइरो लगाएर दुःखकष्ट सहँदै अमेरिका पुग्ने गर्छन् । आफ्नो भविष्यको सपना साकार पार्न सफल हुन्छन् ।
नेपाली युवाहरुको भविष्य स्वदेशमा देखिएन । राज्यसञ्चालकहरुको ध्यान आफ्नो र भविष्यको लागि धन सञ्चय बाहेक अरु देखिएन । उनीहरुले युवाहरुलाई सान्त्वना दिन पनि सकेनन् र उनीहरुको भविष्य निर्माण पनि स्वदेशमा देखेनन् । विश्वको प्राकृतिक सम्पदाको धनी देश हुँदाहुँदै पनि गरिब र विपन्नताले घेरिएको भयो भन्छन्– युवाहरु ।

छिमेकी देशहरु सम्पन्न र शक्तिशाली छन् तर नेपाली नेतृत्वले देश विकास गर्न छोडेर आफ्नो विकासमा ध्यान दिए अहिले नेपाली घरबार छोडेर भारतको दिल्ली र अमेरिकाको गल्ली–गल्लीमा जान बाध्य छन् । करिब एक करोड नेपालीले भारतमा काम गरेर जीवनयापन गरेका छन् । त्यस्तै अमेरिका, युरोप, जापान, अस्टे«लिया र धेरै मुलुकहरुमा गएर खान लाउनका लागि धन कमाइरहेका छन् । कष्टकर जीवन यापन गरिरहेको दृश्य राज्य सञ्चालकहरुले टुलु–टुलु हेरिरहनु दुःख लाग्दो समय हो । यस्ता विषयहरुमा सत्ता पक्षको ध्यान जानु पर्छ । युवाहरुलाई पलायन हुन दिनु हुन्न । उनीहरुलाई दिल्ली जाने र अमेरिकाको सपना देख्ने वातावरण निर्मुल पारेर स्वदेशी रोजगार बनाउनु पर्छ ।