लमही अस्पतालको शवगृहमा मर्चुरी फ्रिज सेवा
प्रिया स्मृती गजमेर
लमही, १३ मङ्सिर । लमही अस्पतालमा मर्चुरी फ्रिज सेवा सुरु भएको छ । शवगृहमा मर्चुरी फ्रिज राखिएसँगै अब लामो समयसम्म शव राख्नका लागि सहज हुने भएको छ । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त भएको १० लाख बजेटमा निर्माण भएको शवगृहमा लमही नगरपालिकाले आठ लाख रुपैयाँ खर्च गरेर मर्चुरी फ्रिज सेवा सुरु गरिएको हो ।
शवगृहमा मर्चुरी फ्रिज नहुँदा लामो समयसम्म शव राख्न सक्ने अवस्था थिएन । लामो समयसम्म शव राख्दा सड्ने समस्या हुने गरेको थियो तर अब त्यो समस्या हटेको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले बताए । उनले शवगृहमा एसी जडानको काम बाँकी रहेको र त्यो काम चाडै हुने बताए । साथै अस्पतालले निःशुल्क पोस्टमार्टमसँगै मृतक लमही अस्पताल नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने भए घरसम्म निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको बताए ।
अस्पतालको सेवाले नगरबासीलाई सहज भएको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताएका छन् । नयाँ शवगृह निर्माणले व्यवस्थापनमा सहज भएको भन्दै नगर प्रमुख चौधरीले भने, ‘पहिले सानो शवगृह हुँदा शव व्यवस्थापन गर्न कठिन थियो । शव कहाँ राख्ने र पोस्टमार्टम कसरी गर्ने भन्ने झन्झट हुन्थ्यो तर अब त्यो समस्या हटेको छ ।’ नवनिर्मित शवगृहको निरीक्षण गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले शवलाई व्यवस्थित र सम्मानपूर्वक राख्न मिल्ने गरी नयाँ शवगृह निर्माण भएको बताइन् । उनले अस्पतालमा सजिलैसँग पोस्टमार्टम र शव व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय सरकारले शवगृह निर्माणदेखि मर्चुरी फ्रिज राख्ने काम गरेको बताइन् ।
लमही नगरपालिका–४ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन तथा अस्पताल सञ्चालन समितिका सदस्य सुवास न्यौपानेले लमही अस्पतालबाट विभिन्न विषयमा विज्ञता हाँसिल गरेका विषेशज्ञबाट निर्वाध रूपमा सेवा प्रवाह भइरहेको बताए । स–साना समस्या भए पनि अस्पतालले प्रभावकारी रूपमा गुणस्तरीय सेवा दिने गरी लागेको बताए । उनका अनुसार अस्पतालबाट दैनिक एक सय बढीले सेवा लिने गरेका छन् । अहिले लमही अस्पतालमा दुई जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृतसहित पाँच जना डाक्टरले सेवा दिने गरेका छन् ।
एमडिजिपी डाक्टर महेश सिलवालमार्फत् शल्यक्रियामार्फत् सुत्केरी गराउने, एपेन्डिक्ससाइटिस, हर्निया र हाइड्रोसिल जस्ता जटिल रोगको सहजै शल्यक्रिया सेवा प्रदान हुँदै आएको छ । यसैगरी हड्डी तथा नासारोग विषेशज्ञ डाक्टर आकाश बेल्बासेद्वारा हड्डीसम्बन्धी सबै काम लमही अस्पतालबाट हुँदै आएको छ ।
त्यस्तै डाक्टर सुदीप चौधरीबाट पोस्टमार्टम हुँदै आएको छ भने डाक्टर दीपक आचार्य र डाक्टर प्रतीक्षा मिश्राबाट पनि सेवा प्रवाह भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । प्रयोगशालामा चारजना प्रयोगशाला प्राविधिकले चौबीसै घण्टा सेवा प्रदान गरिरहेका छन भने अस्पताल फार्मेसी पनि चौबीसैघण्टा चालु अवस्थामा छ । अब निकट समयमै अस्पताल फार्मेसी अधिकृतको व्यवस्था हुन लागेको प्रशासन प्रमुख खनालले बताएका छन् ।