पशुपति महिला सहकारीको साधारणसभा
गोरक्ष समाचारदाता
तुलसीपुर, १३ मङ्सिर । श्री पशुपति महिला बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाका यमुना शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यता एवम् जिल्ला सहकारी संघ दाङ अध्यक्ष हेमराज गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीहरू धरासायी बन्दै गएको भन्ने भनाइलाई चुनौती दिँदै महिलाहरूले सञ्चालन गरेको सहकारी संस्थाले राम्रो काम गर्दै आएको भन्दै वक्तहरूले प्रशंसा गरेका थिए । जिल्लामा महिलाहरूले नेतृत्व गरेको सहकारीहरू स्वच्छ र पारदर्शी तरिकारले सञ्चालन भइरहेको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष एवम् सल्लाहकार प्रभा खडका, महिला अधिकारकर्मी सूष्मा गिरी, तुलसीपुर–५ का पूर्व वडा सदस्य सावित्री गुरुङ, कमला जिसी, लीला पुन, रुपकली कँडेललगायतले सहकारीले महिलाहरूलाई सशक्त, जागृत बनाउँदै अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए ।
वार्षिक साधारणसभाको अवसरमा संस्थाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । यसैगरी सेयर सदस्य वृद्धि गर्ने पाँच जना महिला, बालबचतकर्तामार्फत् चार जना बालबालिकालाई जिपिए अनुसार सम्मान गरेको छ । संस्थाले स्थापनाकालदेखि हालसम्म संस्थालाई निरन्तर सल्लाह सुझाव र सहयोग गर्दै आएका सात जना महिलालाई सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मी वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला भट्टाईले गरेकी थिइन् । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रेश्मी वलीले आर्थिक प्रतिवेदन, सचिव सुशीला भटटाईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने लेखा समितिका सयोजक पुष्पा सुवेदीले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । हाल संस्थामा सात सय बढी सेयर सदस्य छन् ।