कोइलाबास भन्सार,लक्ष्य अनुसार भएन राजस्व सङ्कन
अमरराज आचार्य
दाङ, १२ मङ्सिर । कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म लिएको लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । नाकामा चहलपहल घटेसँगै राजस्व घटेको हो ।
भन्सार कार्यालयले साउन महिनामा १२ लाख राजस्व उठाउने लक्ष्य लिएको थियो । जसमा नौ लाख २३ हजार आठ सय ६२ रुपैयाँ राजस्व उठाएको छ । जुन लक्ष्यको ७६.९९ प्रतिशत हो । भदौ महिनामा १३ लाख १९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जसमा छ लाख १९ हजार छ सय ९७ रुपैयाँ सङ्कलन भएको छ । जुन ४६.९८ प्रतिशत हो । असोज महिनामा १३ लाख २६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएमा सात लाख आठ हजार दुई सय ७० रुपैया सङ्कलन भएको छ । जुन ५३.४१ प्रतिशत हो । कात्तिक महिनामा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा नौ लाख १३ हजार आठ सय ९५ रुपैयाँ सङ्कलन भएको छ । जुन ७०.९० प्रतिशत हो ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षमा एक करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले एक करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत वर्ष भन्सार कार्यालयले एक करोड तीन लाख रुपैयाँ राजस्वय सङ्कलन गर्ने लक्ष्य राखेको थियो । गत आर्थिक वर्ष २०८०÷०८१ मा भन्सार कार्यालयले पहिलो चौमासिकसम्म ३१ लाख ७७ हजार चार सय ६९ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख शर्माले जानकारी दिए ।
चौमासिकसम्म ३२ लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । भन्सार कार्यालयले साउन महिनामा आठ लाख १० हजार छ सय ११ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । साउन महिनामा छ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । साउन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो । भदौ महिनामा सात लाख ४४ हजार आठ सय तीन रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौमा आठ लाख ६६ हजार राजस्व सङ्कलन लक्ष्य लिएको थियो । असोज महिनामा छ लाख ४१ हजार पाँच सय ८२ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । असोजमा नौ लाख आठ हजार उठाउने लक्ष्य लिएको थियो ।
कात्तिक महिनामा नौ लाख ८० हजार चार सय ७३ राजस्व सङ्कलन गरेको थियो । कात्तिक महिनामा आठ लाख २५ हजार उठाउने लक्ष्य लिएको थियो । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम हुँदा राजस्व कम उठेको प्रमुख शर्माले बताए । ‘भारततर्फको प्रवेशमा कडाइ गरेकाले नाका हुँदै जानेको सङख्यामा कमी देखिएको छ’, उनले भने । कोइलाबास नाका भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको भनाइ छ । यस्तै खालका झमेलाका कारण यो नाकाबाट आवागमन गर्नेको सङ्ख्यामा कमी भएको बताइएको छ । कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी भएको उनको भनाइ छ । ‘भारतीय सवारी साधनबाट उठाउने राजस्व नै राजस्वको प्रमुख स्रोतको रूपमा लिइएको छ’, प्रमुख शर्माले भने ।
भारतबाट नेपाल आउने गाडीबाट दिनको छ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।
सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको छ । ‘भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो’, प्रमुख शर्माले भने । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाका बन्दै गएको छ ।
व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्ने भन्दा भारतीय पर्यटक नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो । ‘नेपाल र भारत दुई सरकारबिच कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ’, प्रमुख शर्माले भने । नेपालतर्फ सामान ल्याउन कुनै समस्या नभएको उनले बताए । भारतीय पर्यटकका लागि सबैभन्दा सहज र सरल बाटो भएकाले यसै बाटो भएर आउने गर्छन् । कोइलाबास नाकाबाट विशेष गरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिएको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका कोइलाबास भए पनि व्यापारीको रोजाइमा नपरेको देखिन्छ ।
कोइलाबास नाकालाई दिगो रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक देखिन्छ । नेपाल र भारतबिच जी–टु–जीको माध्यमबाट नाकालाई दिगो रूपमा सञ्चालनको पहल गर्नु पर्ने स्थानीयले बताएका छन् । दुवै देशबिचमा कोइलाबास भन्सारबाट व्यापार बढाउन समन्वय र सहकार्य हुनु पर्ने आवाज उठे पनि यसले मूर्तरूप लिन सकेको छैन । व्यापार संगठनबिच पहल भए पनि सरकारी स्तरबाट पहल नहुँदा कोइलाबास नाका व्यापारिक दृष्टिकोणले कमजोर देखिन थालेको छ । दाङलगायत साविक राप्ती अञ्चलमा सामान पु¥याउन कठिन हुने गरेको छ ।