गोरक्ष समाचारदाता
दाङ, १२ मङ्सिर । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो त्रैमासिक र गत आर्थिक वर्षको जिम्मेवारी सरी आएको कूल ५० विवादमध्ये २२ विवाद फस्र्योट गरेको छ । न्यायिक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्यको प्रमुख आतिथ्यतामा मङ्गलवार पहिलो त्रैमासिकमा सम्पादित कार्यप्रगतिबारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा संयोजक डिसीले न्यायिक समितिमा दर्ता भएका विवादउपर छलफल गराई ४४ प्रतिशत अर्थात् २२ विवाद मिलापत्र गर्न सफल भएको बताइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दाउपर न्यायिक इजलासमार्फत् न्याय निरूपण गर्ने क्रममा दफा १ अनुसार ९ वटा, दफा २ अनुसारका ८ वटा, अन्य उजुरी तथा निवेदन गरी ६ वटा र आर्थिक वर्ष २०८०÷०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरी ५० विवादमध्ये २२ विवाद समाधान भएको न्यायिक समिति संयोजक डिसीले बताइन् ।
उनका अनुसार दफा १ अनुसारका ३ वटा, दफा २ अनुसारका ६ वटा, अन्य उजुरी तथा निवेदनका २ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ११ वटै विवादको मिलापत्र भएको बताइन् । उनका अनुसार अब २८ वटा विवाद मिलापत्र गर्न बाँकी रहेका छन् । न्यायिक समितिमा सबैभन्दा धेरै नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षादीक्षा नदिइएको ५७ वटा, आलीधुर, बाँध, कुलो पानीघाट बाँडफाँड तथा उपयोगका एउटा, सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको एउटा विवाद न्यायिक समितिमा न्यायको माग गर्दै उजुरी परेका छन् ।
अब दफा १ अनुसार, नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षादीक्षा नदिइएको पाँचवटा, सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको एक गरी ६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ । समितिमा सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको एउटा, पतिपत्नी बिचको सम्बन्धविच्छेद एउटा गरी २ वटा उजुरीको मिलापत्र गर्न बाँकी रहेका छन् । यसैगरी अन्य उजुरी तथा निवेदनका चारवटा र गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका १६ विवाद गरी कूल २८ विवादको मिलापत्र गराउन बाँकी रहेका छन् ।
घुम्ती न्यायिक शिविरमार्फत् पछिल्लो समय न्यायिक समितिले काम गर्दै लगेको हुँदा न्याय निरूपणको काम सहज रूपमा भइरहेको बताइन् । त्यस अवसरमा घोराही उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरबासीलाई सहज न्याय दिलाउन न्यायिक समितिले प्रभावकारी रूपमा गर्दै आएको कामले पीडित र पीडक भनिएका दुवै पक्षले जितको महसुस गर्ने गरेको बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, पालिकाका कानूनी सल्लाहकार भुपबहादुर केसी, न्यायिक समितिले नगरबासीलाई कानुनी साक्षरतासँगै न्याय निरूपणको कामले समाजमा सकारात्मक प्रभाव परेको बताएका थिए । कार्यक्रमको सहजीकरण कानूनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन् ।