गत साउन मध्यको समय । छोरीको निम्तोमा अस्ट्रेलियामा डेढ महिना बस्ने अवसर जु¥यो । अस्ट्रेलियाको राजधानी क्यानभेरा सहर । बाक्ला रुखबिरुवा पातला घरहरू, ठाउँठाउँमा कृत्रिम तालहरू, जसले जमिनलाई जहिल्यै ओसिलो बनाइराख्थ्यो । त्यही सहर जहाँ प्रत्येक घरमा चार÷चार वटा सरकारी बाल्टिन, जुन फोहर राख्ने प्रयोजनका लागि थिए । हरियो, रातो, पहेँलो र नीलो रँगका । हरेक बाल्टिमा फरक–फरक किसिमको फोहर जम्मा गर्नुपर्ने । केही तलमाथि भएमा अटोमेटिक जरिमाना । लेखिदिनुहोला क्यानभेरा सहरका चार बाल्टिन मेरो खुसी ।
ती बाल्टिनले मलाई सरसफाई सभ्यता सिकाए । हामी नेपाली संस्कृतिका धनी छौँ तर सभ्यताका निकै गरिब । सायद हामीमा सिक्ने अभ्यास छैन वा अनुशासन नै कमजोर । त्यस सहरका बाल्टिनमा कस्तो प्रकृतिको फोहर जम्मा गर्ने भन्ने प्लेग्रुपमै बालबालिकालाई सिकाइने रहेछ । प्ले ग्रुपका बालबालिकालाई सबैभन्दा पहिलो कक्षा नै कुन फोहर कहाँ राख्ने भन्ने रहेछ, त्यसपछि मात्र कलम समाउन सिकाइने । मानौ अस्ट्रेलियनले गर्भमै सिक्छन् सभ्यता…। मैले कल्पना गरेँ, हामीले के त्यस्तो अभ्यास गर्न सक्दैनौँ र ? तर आनीबानीलाई परिपक्व बनाउन कानुन र कानुनको कार्यान्वयन उत्तिकै आवश्यक हुँदोरहेछ, त्यसो हुन नेपाललाई धेरै समय लाग्ने छ ।
त्यसो त मेरो डेढ महिनाको अस्ट्रेलिया बसाइँ कम्ति रोचक बनेन । त्यही बसाइँमा मैले बढीमा पन्ध्र दिनमा स्थलमार्गबाटै आधा देश भ्रमण गर्ने अवसर पाएँ । किचन, बेडरुम र शौचालयसहितको एउटा निजी क्याव हामीले बुकिङ गरेका थियौँ । त्यहीँ यात्रा गथ्र्यौँ, त्यहीँ खाना पकाउँथ्यौँ, त्यहीँ आराम गथ्र्यौँ, त्यहीँ निदाउथ्यौँ अर्थात मेरो खुसी किचन बेडरुम सहितको त्यो क्याव, जुन मेरो अविस्मरणीय यात्रा गराउने क्याव थियो । अस्ट्रेलियाका आठवटा प्रान्तमध्ये हामीले चारवटा प्रान्त त्यही क्यावमार्फत् स्थलगत अवलोकन गरेका थियौँ । क्यानभेरा फूलैफूलका रुखको सहर, सडकैभरि ती रङ्गीचङ्गी फूलहरूको दृश्यले मन चङ्ग हुन्थ्यो । ती फूलहरू पनि मेरा खुसी हुन् । त्यो अविस्मरणीय यात्रा गराउने मेरी छोरी प्रीति रावत पनि मेरो खुसी ।
त्यसो त खुसीका अन्य अविस्मरणीय क्षणहरू मसँग नभएका होइनन् । करिव एकदशक अघिको एउटा घटना स्मरण गर्न चाहन्छु । दसैँताका होला, तिथि र मिति याद भएन । हामी चराहरूको अध्ययन अवलोकनको क्रममा रामपुरको चरिङ्गे दह आसपासको जङ्गलमा थियौँ । हामीले एउटा अनौठो चरा देख्यौँ, लाग्यो त्यो यहाँको रैथाने चरा थिएन । हामीले क्यामेरामा त्यो चरालाई कैद ग¥यौँ । उसको तस्बिर विभिन्न प्रजातिका चराहरूसँग दाँज्यौँ । त्यो चरा रहेछ, कालो गरुढ ।
म त्यो बेला नेपाल पक्षी संरक्षण संघसँग कुनै न कुनै हिसाबले आबद्ध थिएँ । नेपालले लोपोन्मुख चराहरूको सूचीमा राखेका १३ प्रजातिका चराहरूमध्ये एक रहेछ । नेपालमा हतपत्ति नदेखिने चरा हामीले फेला पा¥यौँ, त्यो चरा साइवेरियाबाट विछुट्टिएर आएको रहेछ भन्ने थाहा भयो । त्यसलाई पन्छी संरक्षण संघले प्रमाणित ग¥यो । लेखिदिनुहोला मेरो खुसी कालो गरुढ अर्थात् साइवेरियाबाट नेपाल छिरेर रामपुरमा वासस्थान बनाएको चरा, ‘मलाई चराको मोह त्यो बेला जागेको थियो ।
त्यसबेलाको अविस्मरणीय क्षण तपाईँलाई स्मरण गराउन चाहन्छु । म प्रविणता प्रमाणपत्र तह अध्ययनका क्रममा भारतको नयाँ–दिल्लीमा थिएँ । त्यहाँ म मेरा मित्र डा. डिबी सिंह र स्याङ्जाका दामोदर पौडेललाई दिल्लीको प्रशिद्ध होटलमा एक जना दार्शनिक आरपी श्रावको प्रशिक्षण लिने अवसर मिलेको थियो । त्यो पाँचतारे होटलमा हामी पाँचजना नेपाली थियौँ । प्रशिक्षण पर्यावरणको संरक्षणसँग जोडिएको थियो । प्रशिक्षकले अब हाम्रो सबैभन्दा ठुलो दुश्मन भनेकै खराब वातावरण हुनेछ । यदि यसरी वातावरणीय विनाश भइरहँदा त्यसको प्रत्यक्ष नोक्सानी विकासशील र अल्पविकसित गरिब र विपन्न मुलुकहरूले व्यहोर्ने छन् ।
मलाई त्यही दार्शनिकको प्रशिक्षणले वातावरण संरक्षणको मार्गमा डो¥यायो । पछि नेपाल फर्केपछि हामीले दाङमै पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र स्थापना गरी पर्यावरण संरक्षणको यात्रा सुरु ग¥यौँ । त्यही यात्राले मलाई अहिलेसम्म पनि डो¥याइरहेको छ । हो, मेरो अर्को खुसी आरपी श्रावको पर्यावरणीय प्रशिक्षण हो । अहिले पनि म पर्यावरण संरक्षणकै अभियानमा छु । नेपाल पशु संरक्षण संघलगायत केही अन्य संस्थाहरूले पनि सहयोग गरिरहेका छन् । चरा संरक्षण र अध्ययनकै सन्दर्भमा मैले एउटा शोधपत्र पनि नेपाल संस्कृत विश्वविद्यालयको सहयोगमा तयार पारिसकेको छु ।
त्यसपछि हामी विशेष गरी गिद्ध संरक्षणको अभियानमा जोडियौँ । प्रकृतिका कुचीकारका रूपमा रहेका विभिन्न प्रजातिका गिद्धहरू बर्सेनि लोपोन्मुख भइरहेका छन् । यसको प्रमुख कारण गिद्धहरूको आहारामा डाइक्लोफेनेकको मात्रा हुनु अर्थात् पशुहरूको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक सेवनपछि आहाराका रूपमा गिद्धले सेवन गरेपछि गिद्धहरूको मृगौला खराब भएर गिद्धहरू मर्दै जाने समस्या हो । त्यसैले हामीले दाङ जिल्लामा डाइक्लोफेनेक मुक्त अभियान सञ्चालनमा ल्यायौँ ।
सम्भवतः हामीले वि.सं २०६७ सालमा दाङ जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गर्न सफल भयौँ । नेपाल पत्रकार महासंघ दाङको सभाहलबाट यो घोषणा गरिएको थियो । नेपालमै दाङ पहिलो डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा भएको थियो । त्यसपछि क्रमशः अन्य जिल्लाहरू सँगैसँगै सिङ्गै नेपाल डाइक्लोफेनेक मुक्त भएपछि अहिले गिद्धको सङ्ख्या तथा वासस्थानहरू क्रमशः बढिरहेको हामीले पाएका छौँ । ‘लेखिदिनुहोला मेरो अर्को खुसी डाइक्लोफेनेक मुक्त दाङ ।’
त्यसो त मलाई मेरो गिद्ध संरक्षणको अभियानमा अहिले कहीँकतै असन्तोष पनि लाग्ने गरेको छ । त्यो अभियान सुरु गर्दाताकाको तुलनामा अहिले दाङ जिल्लामा गिद्धको सङ्ख्या घट्दै गएको छ । सरकारी निकायबाट गिद्ध संरक्षणका सन्दर्भमा कुनै कार्यक्रम छैनन् । एउटा संस्थाले अभियान थालेर मात्र हुँदो रहेनछ । त्यसैले गिद्ध संरक्षण अभियानमा सबैले हातेमालो गरौँ भन्न पनि चाहन्छु, तपाईँको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिकामार्फत् । किनकि प्राकृतिक सन्तुलन कायम राख्नका लागि हरेक जीवको आ–आफ्नै भूमिका रहन्छ ।
गिद्धको त झनै ठुलो भूमिका रहन्छ अर्थात् गिद्धलाई प्रकृतिको कुचीकार पनि मानिन्छ । लेखिदिनुहोला ती लोपोन्मुख गिद्ध पनि मेरा खुसी…। मैले अरू जागिर र व्यापार व्यवसाय गरिनँ तर चरा संरक्षण र अनुसन्धानको पाटोमा भने अहोरात्र खटिइरहेको छु । हाम्रो यो अभियानमा भरथेग सहयोग स्थानीय सामुदायिक वन उपभोक्ता तथा जिल्ला वन कार्यालय र अन्य केही स्थानीय सरकारबाट पनि हुँदै आएको छ । यो हिसाबले पनि मलाई मेरो अभियानमा आत्मसन्तुष्टि हुने गरेको छ । मलाई चराहरूजस्तै भावनामा उड्ने मन लाग्छ, चराहरू जस्तै सीमारहित हुन मन लाग्छ । चराजस्तै स्वच्छन्द भएर फिर्न मन लाग्छ अर्थात् चरा मेरो खुसी …।
माथि उल्लिखित खुसीका क्षणहरू हुन्, पर्यावरणीय दिगो विकास तथा संरक्षण मञ्च दाङका अध्यक्ष डिल्लीबहादुर रावतका हुन् । तुलसीपुर उपमहानगरपालिका—१८ हेमन्तपुरमा जन्मिएका रावतको प्राथमिक तहको शिक्षा स्थानीय प्रावि बेलझुण्डीमै भए पनि हाई स्कुल र प्रमाणपत्र तहको अध्ययन भने उनले भारतको नयाँ दिल्लीबाट पूरा गरे । अहिले उनी पर्यावरणवादी पत्रकार÷लेखकका रुपमा स्थापित छन् । अझै पनि बिजौरीको स्यालापानीमा गिद्धे रेस्टुरेन्ट चलाएका छन् ।