Goraksha

National Daily

जनप्रतिनिधिहरू पार्टीभन्दा बाहिर रहन सक्दैनन् : सभापति डाँगी [अन्तर्वार्ता]

अहिले नेपाली कांग्रेसको सयदिने विशेष अभियान देशभर सञ्चालन भइरहेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार अभियान गत असोजदेखि नै सुरु भएको थियो । यद्यपि मुलुकमा बाढीपहिरोको विपत्का कारण अभियान केही दिन स्थगित भयो । स्थगित भएको कार्यक्रम अहिले पुनः सुरु भएको छ । दाङमा पनि गत कात्तिक १० गतेदेखि यो अभियान निरन्तर चलिरहेको छ । यो अभियानका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीलाई खटाएको छ । कांग्रेसको सयदिने विशेष अभियानको सेरोफेरोमा रहेर नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डागीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
 नेपाली कांग्रेसले सुरु गरेको सयदिने अभियानका विषयमा सङ्क्षिप्त जानकारी गराइदिनुस् न ?
 सयदिने विशेष अभियान नेपाली कांग्रेस केन्द्रीय समितिले तय गरेको कार्यक्रम हो । यसका लागि कांग्रेसले एक जना केन्द्रीय सदस्यलाई हरेक जिल्लामा खटाएको छ । सतहत्तरै जिल्लामा यो अभियान सुरु भएसँगै दाङ जिल्लामा पनि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली खटिनुभएको छ । उहाँको उपस्थितिमा दाङ जिल्लाका सयवटै वडामा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । यसमा जिल्लाबाट प्रतिनिधि खटाइएको छ । खास गरी पार्टीको आन्तरिक सांगठनिक जीवनलाई चुस्त, दुरुस्त र मजवुत बनाउनका लागि यो अभियान हो । पार्टीपङ्क्तिमा रहेका आम कांग्रेस कार्यकर्तामा क्रियाशीलता बढाउन तथा राष्ट्रिय राजनीतिबारे आम कांग्रेसजनलाई जानकारी गराउनु विशेष अभियानको धेय रहेको छ ।
खास गरी कांग्रेस सरकारमा रहँदा के–कस्ता राम्रा कामहरू भए भन्ने विषयमा जनतालाई जानकारी गराउन तथा जनताका आकाङ्क्षा के–कस्ता छन्, जनताका पिरमर्का के के छन् र यी आकाङ्क्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा यो अभियान केन्द्रित रहेको छ । यसैले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने विशेष अभियानमा नेपाली कांग्रेस दाङले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू, क्षेत्रीय नेतृत्वहरू, पार्टीका विभिन्न भ्रातृ संस्थाहरू तथा शुभेच्छुक संस्थाका प्रतिनिधि तथा पदाधिकारीहरूलाई प्रत्यक्ष एवम् परोक्ष रूपमा सहभागी बनाएको छ ।
 जिल्लाका कुन–कुन स्थानमा सयदिने विशेष अभियान सम्पन्न भयो ?
 यो अभियान अहिले चलिरहेको छ । हामीले अभियानलाई जिल्लाका १० वटै पालिकाका सय वटै वडासम्म लैजाने छौँ । कही भेटघाट, कही समीक्षा, कहीँ बैठक, कहीँ आम कांग्रेसजनसँगको अन्तरक्रियालगायतका माध्यमबाट हामी पार्टीको सबैभन्दा तल्लो इकाइमा रहेका आम कांग्रेस कार्यकर्ता माझ पुग्ने छौँ । यो विशेष अभियान सय दिनसम्मै सञ्चालन हुने छ । वडा तहसम्म मात्र नभएर हामीले यो अभियानलाई विभिन्न भ्रातृसंस्था तथा शुभेच्छुक संघसंस्थामाझ लैजाने छौँ । यसका लागि पार्टी जिल्ला समितिले एउटा क्यालेन्डर समेत बनाएको छ । सयदिने अभियान यही क्यालेन्डरमार्फत सञ्चालन भइरहेको छ ।
 तपाईँहरूले सयदिने विशेष अभियान चलाइरहँदा नेपाली कांग्रेस पार्टी र पार्टीको टिकट लिएर विजयी भएका जनप्रतिनिधिबिच ‘ज्वाइन्ट एक्सन’ भएको देखिँदैन भन्ने गुनासो छ नि ?
 नेपाली कांग्रेसबाट टिकट पाएर चुनाव जितेका जनप्रतिनिधि पार्टी बाहिर कहिल्यै रहन सक्दैनन् र जान पनि सक्दैनन् । कहीँकतै जनप्रतिनिधिहरूको कार्यव्यस्तता होला, अभियानमा सहभागी हुन नसके होलान् तर पार्टीलाई बाइपास गरेर जनप्रतिनिधि चलेका छैनन् र चल्ने पनि छैनन् भन्ने पार्टीलाई पूर्णविश्वास छ ।
हो, हामीले अभियान सञ्चालन गर्दैगर्दा कहीँकतै जनप्रतिनिधिको प्रत्यक्ष सहभागिता नभएको हुन सक्दछ तर यसको अर्थ पार्टी संगठनलाई वास्ता नगरेको भन्ने होइन । यस अभियानमा हामीले जनप्रतिनिधिलाई जोडिरहेका छौँ । पार्टी र जनप्रतिनिधिबिचको सुसम्बन्ध स्थापित गर्ने सन्दर्भमा यो विशेष अभियानले कहीँ न कतै सम्बोधन गर्ने छ । तपाईँले भनेजस्तो अभियानमा ज्वाइन्ट एक्सन नभएको होइन, हामीले जनप्रतिनिधिहरूलाई साथै लिएर अभियानमा गइरहेका छौँ । पार्टी र जनप्रतिनिधिबिच नङ र मासुको सम्बन्ध स्थापित गर्न हामी लागिरहेका छौँ ।
 पछिल्लो समयमा आम नागरिकमा ठुला राजनीतिक दलहरूप्रतिको जनविश्वास घट्दै गएको पाउनुभएन ?
 ठ्याक्कै त्यस्तो अवस्था होइन, ठुला राजनीतिक दलको विकल्प छैन र यो व्यवस्थाको विकल्प छैन । नेपालको सङ्घात्मक संविधान विश्वकै उत्कृष्टमध्येको संविधान हो र यो राज्य व्यवस्था उच्चतम लोकतान्त्रिक व्यवस्था हो तर व्यवस्थापनका सवालमा कहीँकतै कमजोरी भएका छन् । व्यवस्थापकहरूलाई सच्याउनु आवश्यक छ । यो विषयमा पार्टी केन्द्रीय समितिमा बहस र छलफल निरन्तर चलिरहन्छ ।
अभियानकै सन्दर्भमा कुरा गर्ने हो भने कांग्रेसप्रतिको जनविश्वासमा कमी आएको छैन, कहीँकतै कार्यकर्ता व्यवस्थापनमा कमीकमजोरी होलान्, कतिलाई कांग्रेसले सरकारमा रहँदा र सरकारमा नरहँदा पनि गरेका राम्रा कामबारे जानकारी गराउन सकिएको छैन । त्यसैले त यो सयदिने विशेष अभियान चलाइएको हो । मलाई लाग्छ अहिले पनि ठुला राजनीतिक दलको विकल्प देखिएको छैन । अहिलेको आवश्यकता व्यवस्था बदल्नेभन्दा व्यवस्थापन चुस्त बनाउने हो । यसका लागि हामी कांग्रेस नेतृत्व गम्भीर भएर लागेका छौँ ।
 सयदिने विशेष अभियान मिसन ०८४ सँग पनि जोडिएको हो ?
 होइन, हामीले मिसन ०८४ लाई छुट्टै रूपमा सञ्चालन गर्ने छौँ । यो त पार्टीको आन्तरिक सांगठनिक जीवनलाई चुस्तदुरुस्त बनाउनकै लागि हो । कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ बुझाउनका लागि हो । राष्ट्रिय राजनीतिका विषयमा आम कांग्रेसजनलाई परिचालित गरी पार्टीमा पुनर्जागरण ल्याउनका लागि हो । जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायित्व बनाउन हो । यो आगामी आम निर्वाचनसँग जोडिएको विशेष अभियान होइन ।
 नेपाली कांग्रेसले सयदिने विशेष अभियान चलाइरहँदा आम कांग्रेसजन एवम् आम नागरिक जनप्रतिनिधिहरूप्रति निराश देखिएका छन् नि ? चुनावी प्रतिबद्धताहरू पूरा नभएको गुनासो पनि सुनिन्छ नि । 
 हो, जनताका आकाङ्क्षा धेरै छन् । चाहे अनुसारको आर्थिक समृद्धि मुलुकले हासिल गर्न सकेको छैन । हाम्रो जिल्लामा पश्चिम बबईको गंगटेदेखि देउखुरी उपत्यकाको राजपुरका नाका क्षेत्र अत्यन्तै दुर्गम छन् । ती बस्तीहरूमा मुस्किलले सडक पुगे पनि अन्य आकाङ्क्षाहरूको सम्बोधन हुन सकेको छैन । शिक्षाको समुचित व्यवस्थापन हुन सकेको छैन । सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध छैन । विद्युतको समस्या छ । स्तरीय सडकको पहुँच छैन ।
यस्तो अवस्थामा जनता जनप्रतिनिधिसँग निराश हुनु स्वाभाविकै हो । विकासका हरेक आकाङ्क्षा पूरा गर्न राज्यसँग पर्याप्त स्रोत साधन छैन । यसैले हामीले चाहेको विकास भनेको समानुपातिक, समावेशी र सन्तुलित विकास हो । दुर्गमका जनतालाई पनि विकासको मूलप्रवाहमा जोड्नु पर्छ भन्नेमा नेपाली कांग्रेसले स्थापनाकालदेखि नै प्रयत्न गर्दै आएको छ । यही कुरा सबैलाई बुझाउन नेपाली कांग्रेसले अहिले सयदिने विशेष अभियान सञ्चालन गरेको हो ।
 तपाईँहरूले सयदिने विशेष अभियान चलाइरहँदा झुपडीमा बसेर कांग्रेस जोगाएका आम कांग्रेसजनमा कस्तो प्रभाव परेको पाउनुभयो ?
 हो, तिनै झुपडीमा बस्ने जनताले नेपाली कांग्रेसलाई मुलुककै ठुलो पार्टी बनाएका हुन् । त्यसैले यी झुपडीमा बसेरै पनि पार्टी निर्माणमा सङ्घर्ष गर्ने आम कार्यकर्ताका आकाङ्क्षा पूरा गर्नु नेपाली कांग्रेसको दायित्व हो । अहिले हामीले विशेष अभियानमा उहाँहरूलाई सँगै जोडेका छौँ । उहाँहरूमा उर्जा थपिएको हामीले अनुभूति पनि गरेका छौँ, यद्यपि उहाँहरूका सबै आकाङ्क्षालाई हामीले पूरा गर्न सकेका छैनौँ तर पार्टी सरकारमा रहँदा र सरकार बाहिर रहँदा पनि दुर्गम क्षेत्रको विकासका लागि कांग्रेसले गरेका राम्रा कामको विषयमा उहाँहरूलाई जानकारी गराउन पाएका छौँ । यसमा उहाँहरूमा थप उर्जा र उत्साह थपिएको हामीले पाएका छौँ ।