घोराही, ११ मंसिर । घोराही उपमहानगरपालिका–१३ मा एक सय तीन जनालाई निशुल्क चश्मा वितरण गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं। १३ को व्यवस्थापन तथा नेपाल नेत्रज्योती संघ लमही अस्पतालको प्राविधिक सहयोग तथा सिलोम सेन्टर कोरियाको आर्थिक सहयोगमा सोमवार भएको निशुल्क आँखा जाँच कार्यक्रममा आँँखा सम्वन्धी समस्या भएका एक सय तीन जना बिरामीलाई चश्मा वितरण गरिएको हो ।
कार्यक्रममा आँखा परिक्षण गरिएका दुई सय ३१ जनाको आँखा जाँच गरिएको घोराही उपमहानगरपालिका वडा नं। १३ का अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिएका छन् । वडा अध्यक्ष पोख्रेलका अनुसार घोराही उपमहानगरपालिका–१३ को कार्यालय कात्तिकेमा भएको स्वास्थ्य शिविरमा एक सय ६१ जना महिला र ७० जना पुरूषको आँखा परिक्षण गरिएको थियो ।
उनीहरुमध्ये २८ जना महिला र २९ जना पुरुष गरेर ५७ जनामा मोतिबिन्दुको समस्या पाइएको थियो । आँखामा मासु पलाएका तथा जटिल समस्याका ७ जनालाई थप उपचारका लागि लमही अस्पताल रिफर गरिएको छ । मोतिबिन्दु भएकालाई सिलोम सेन्टर कोरियाको ५० प्रतिसत सहुलियतमा शल्यक्रिया गरिने बताएको छ ।