‘औषधी नखाँदा हात्तिपाइले रोगको जोखिम कायमै’

हात्तिपाइले रोग नियन्त्रण अभिमुखिकरण
खेमराज रिजाल
दाङ, ११ मङ्सिर । सन २०११ सालदेखि लगातार औषधी अभियान सञ्चालन गर्दा पनि हात्तीपाइलेको परजीवीका सङ्क्रमित देखिने क्रम जारी रहेपछि यसपटक यो अभियानलाई निमिट्यान्न पार्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने भएको छ । यसका लागि सरोकारवालासँग एकदिने अभिमुखीकरण कार्यक्रम सोमवार घोराहीमा सम्पन्न भएको छ । सर्भेपछि प्राप्त नतिजा अनुसार मात्रै नेपाल सरकारले यो जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान पुनः सञ्चालन गर्ने वा यो अभियानलाई बन्द गर्ने भन्ने निर्णय लिने बताइएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको समन्वय तथा स्वास्थ्य कार्यालय दाङको आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आइडिएफ इम्प्याक्ट सर्भे कार्यक्रम दाङमा सञ्चालन हुन लागेको हो । कार्यक्रम सञ्चालन गर्नु अघि स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, पत्रकार महासंघका प्रतिनिधिलगायत जिल्लाका दशवटै पालिकाका स्वास्थ्य प्रवर्धन शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा हात्तीपाइले रोग नियन्त्रण अभियान अन्तर्गत आइडिएफ सर्भेका विषयमा स्वास्थ्य कार्यालय दाङका किटजन्य रोग फोकल पर्सन कमल चन्दले जानकारी गराएका थिए । कार्यक्रममा सहभागीले विगत १३ वर्षदेखि लगातार हात्तीपाइले विरुद्धको आम औषधी अभियान सञ्चालन गर्दा पनि सबै मानिसले औषधी सेवन नगरेका कारण हात्तीपाइले रोग सङ्क्रमणको अझै पनि चुनौती रहेको सहभागीले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्त, जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिना, युएसएआइडी÷आरटिआइका प्रतिनिधि सरोज महासेठलगायतले हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमलाई सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख शरद घिमिरेले गरेका थिए । खानेले सधैँ खाइरहेको र नखानेले अहिलेसम्म औषधी नखाइदिनाले यो अभियान यति धेरै लामो समयसम्म सञ्चालन गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दाङ जिल्लामा आइडिएफ इम्प्याक्ट सर्भे मङ्गलवारदेखि नै सुरु गरिने छ । यसका लागि प्राविधक टोली समेत खटिइसकेको कार्यक्रममा जानकारी गराइयो । सर्भेका लागि दाङ जिल्लाका १० वटा पालिकालाई ३० वटा क्लस्टरका रूपमा विभाजन गरिएको छ । एउटा क्लस्टरबाट कम्तिमा एक सय पाँच जनाको स्याम्पल लिएर प्रयोगशाला परीक्षण गरिने बताइएको छ । दिउँसोको रगत परीक्षण गर्दा हात्तीपाइले एन्टिजेन पोजेटिभ आएमा त्यस्ता व्यक्तिको मध्यरातमा समेत रगतको स्याम्पल लिएर परीक्षण गरिनेछ । सर्भेको नतिजापछि मात्र यो वर्ष दाङ जिल्लामा हात्तीपाइले विरुद्धको आम औषधी अभियानलाई निरन्तरता दिने वा रोक्ने भन्ने विषयमा नेपाल सरकारले निर्णय लिने अभिमुखीकरण कार्यक्रममा जानकारी गराइयो ।

वडा नं १५ बाट आइडिएफ इम्प्याक्ट सर्भे सुरु

हात्तीपाइले अवस्थाबारे जानकारी लिन आइडिएफ इम्प्याक्ट सर्भे सुरु भएको छ । घोराही–१५ मा सर्भे सुरु भएको वडाध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिए । प्राविधिक टोली, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मी घरघरमा पुगेर सर्भेको काम सुरु गरेको उनको भनाइ छ । सर्भेका लागि खटिएको टोलीलाई सहयोग गर्न उनले सबैमा आग्रह गरे । ‘सर्भेका लागि आउने टोलीलाई सहज रूपमा काम गर्ने वातावरण बनाइदिन सबैले आ–आप्mनो स्थानबाट सहयोग गर्नु पर्छ’, उनले भने ।
सर्भे सुरु हुनुअघि सरोकारवालासँग अभिमुखीकरण गरिएको थियो । कार्यक्रम वडाध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण वडा नं १५ नगर स्वास्थ्य केन्द्रका प्रमुख हिरण्य शर्माले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका, सुरक्षा निकायमा प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।