गोरक्ष समाचारदाता
दाङ, ११ मङ्सिर । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरे ।
लुम्बिनी प्रदेशलाई हिंसामुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको बिचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका छन् । ‘सबै प्रकारका हिंसाविरुद्धका अभियान चलाउन सरकार प्रतिबद्ध छ । नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेर सरकार अघि बढेको छ’, उनले भने, ‘हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउन जरुरी छ । यसका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधार हो ।’
अभियानको क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रमहरू गरिँदै छन् । ती अभियानमा जनप्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ताले समेत सचेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । लुम्बिनी प्रदेशमा बालविवाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताका कारणले हिंसा बढेको देखिए पनि हिंसा न्यूनीकरणका लागि साझा प्रयास थालिएको जनाइएको छ ।
सामाजिक न्याय र समतामा आधारित लैङ्गिक समानतायुक्त प्रदेश बनाउन सरकारले काम गरिरहेको मुख्यमन्त्री आचार्यले बताए । लैङ्गिक हिंसा अन्त्यका लागि सबैको साझा ऐक्यबद्धताको खाँचो समेत औल्याए । ‘संविधानले सबैखाले विभेदको अन्त्य गरेको छ । त्यही मूलमर्म अनुसार कसैमाथि कुनै प्रकारको हिंसा हुन्छ भने त्यो दण्डनीय ठहरिन्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक रूपान्तरण, सशक्तीकरण र हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा ऐक्यबद्धता आवश्यक छ ।’
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यस वर्ष ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ मुख्य राष्ट्रिय नारासहित दिवस मनाउन थालिएको हो ।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सुधारिएको समाज निर्माण नहुँदासम्म हिंसा विरुद्धको अभियान निरन्तर चलिरहने बताए । समाज रूपान्तरणका अभियानलाई सबैको सहभागितामा अघि बढाइने समेत जानकारी दिए । ‘सुधारिएको समाजको परिकल्पना हामीले गरेका छौँ । सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने अभियान चलिरहन्छ’, उनले भने, ‘हिंसा सहेर बस्नु हुँदैन भन्ने मान्यताको विकास गर्न जरुरी छ ।’
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा गत आर्थिक वर्ष २०८÷०८१ मा सात सय १९ वटा विभिन्न लैङ्गिक हिंसाका मुद्दा दर्ता भएका छन् । जसमध्ये छ सय ६८ वटा मुद्दा फस्र्योट भएका छन् । ८१ वटा मुद्दा फस्र्योट हुन बाँकी देखिन्छ । जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बहुविवाह, बालविवाह, बोक्सी आरोप, जातीय छुवाछुत, गर्भपतन, बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन, मानव बेचविखन जस्ता मुद्दाहरू दर्ता भएका छन् ।
प्रदेशका सबै तह र क्षेत्रमा लैङ्गिक समानता कायम गरी प्रदेशको सामाजिक तथा आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने सङ्कल्प प्रदेश सरकारले लैङ्गिक समानता नीति २०८० मा समेत गरेको छ । महिला तथा लैङ्गिक विभेदमा परेका सबै समुदायका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मनोव्यावहारिक तवरले सशक्तीकरण गर्दै लैङ्गिक समानताका आधारमा लैङ्गिक उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्य नीतिमा समावेश छ । प्रदेशमा स्वीकृत भएको नीतिको प्रभावकारी कार्यान्वयनबाटै लैङ्गिक समानताको आधार तय गर्नेमा जोड दिइएको छ । लैङ्गिकताका आधारमा हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्य गर्ने, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने उद्देश्य सरकारले राखेको छ ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक
यसैबिच लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा सोमवार घोराहीमा भएको साझेदार निकायहरूका लागि लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना आवश्यक रहेकोमा जोड दिएका हुन् ।
समितिका संयोजक राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले लैङ्गिक हिंसा साझा सरोकारको विषय भएको र यसको निवारणका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले लैङ्गिक हिंसा निवारणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । उनले घोराही उपमहानगरलाई लैङ्गिक हिंसामुक्त बनाउने अभियानमा सबै सरोकारवालाको सक्रिय सहभागिता महत्वपूर्ण रहेको औंल्याइन् ।
घोराही उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव रिजालले विषय प्रवेश गराएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक ईश्वर थापा, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लैङ्गिक हिंसा नियन्त्रणमा सचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा उपमहानगरपालिकाले लैङ्गिक हिंसा निवारणका लागि तयार पारेको २२ वटा आधारभूत र १० वटा संस्थागत गरी कूल ३२ वटा सूचकबारे छलफल भएको थियो ।
विषयविज्ञ विकिरण गौतम र दुर्गालाल केसीले सहजीकरण गरेको कार्यक्रममा सहभागीले लैङ्गिक हिंसा नियन्त्रणका लागि कानुनी व्यवस्था, जनचेतना र संस्थागत संयन्त्र निर्माणमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण मोती विश्वकर्माले गरेकी थिइन् ।
यसैबिच महिला मानवअधिकार रक्षक सञ्जाल दाङले दिवसको अवसरमा घोराहीमा सडक कविता वाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीले महिला हिंसा न्यूनीकरणसम्बन्धी कविता वाचन गरेका थिए । सञ्जालकी जिल्ला अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुशीला पौडेलले गरेकी थिइन् । कार्यक्रमका सहभागीले कवितामार्फत् हिंसारहित समाज निर्माणका लागि सामाजिक एकता र सचेतनाको आवश्यकता रहेको बताएका थिए ।