गोरक्ष समाचारदाता
दाङ, ११ मङ्सिर । लुम्बिनी प्रदेशमा सिँचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौतापत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारिक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । ‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्नेछ’ प्रवक्ता पन्थीले भने, ‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ ।
यो परियोजना लुम्बिनीसहित पाँचवटा प्रदेशमा लागु हुनेछ । किसान व्यवस्थित सिँचाई प्रणालीमार्फत् कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलतामा सुधार गर्ने, सिँचाइको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।
किसान व्यवस्थित सिँचाइ प्रणालीमार्फत् कृषि क्षेत्रको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पा स्थित रामपुर नगरपालिकाको वडा नं। ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं। १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिँचाइ उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।