स्थानीय तह उपनिर्वाचन, लम्बिनीमा ४४ जनाको उम्मेदवारी

गोरक्ष समाचारदाता
दाङ, ३ मङ्सिर । स्थानीय तहको मंसिर १६ गते हुने उपनिर्वाचनमा लुम्बिनी प्रदेशको रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार कांग्रेसको चुनाव चिह्न रुखबाट लड्ने भएका छन् । नेपाली कांग्रेस–एमाले पार्टीबिच भएको सहमति अनुसार माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमाले उम्मेदवार लड्ने भएका हुन् ।

आइतवार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरेका हुन् । सहमति अनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् । पुथाउत्तरगंगा माओवादीको बलियो आधार क्षेत्र भएको पालिका हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस–एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवारले दोब्बर मत ल्याएर विजयी भएका थिए । पुथामा माओवादीले भने ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा पुथाउत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा चार हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले एक हजार आठ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार एक सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि चार जना स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा पनि कांग्रेस एमालेले साझा उम्मेदवार बनाएका छन् । वडामा भने एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ । रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २ सय ३४ र कांग्रेसका कर्णबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरेका थिए । माओवादीबाट पुथाउत्तरगंगा २ को अध्यक्षमा जगत घर्ती र स्वतन्त्रबाट शुकराज विक उम्मेदवार बनेका छन् ।

यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडा अध्यक्षका लागि छ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट भुपमणी पुनमगर, नेकपा एमालेबाट बेगम पुन, नेकपा माओवादी केन्द्रबाट नरेशजंग सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहलबहादुर वली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमबहादुर पुन उम्मेदवार बनेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशकै गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा हुने निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । कपिलबस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्ष का लागि १४ जना, बर्दिया जिल्ला ठाकुरबाबा गाउँपालिका–४ को वडा अध्यक्षमा छ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

मङ्सिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुन थालेको छ । जस अनुसार कोशी प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष–एक र वडाअध्यक्ष–६ पदका लागि उपनिर्वाचन हुँदैछ । मधेश प्रदेशअन्तर्गत वडाअध्यक्ष–६ पदका लागि, बागमती प्रदेशअन्तर्गत नगरप्रमुख–एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष–पाँच पदमा उपनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको गोरखा नगरपालिका–५ मा वडाअध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख–एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष– पाँच स्थानमा उपनिर्वाचन हुँदैछ भने सुदूरपश्चिम प्रदेशअन्तर्गत गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष–चार स्थानमा उपनिर्वाचन हुँदैछ ।