सानाकिसानको साधारणसभामा किसान सम्मानित

टेकबहादुर पुन
देउखुरी, ३ मङ्सिर । सानाकिसान सहकारी संस्थाले २७ बढी किसानलाई सम्मान गरेको छ । सानाकिसान सहकारी संस्था लिमिटेड सतबरियाले आफ्नो २१औँ साधारणसभामा उत्कृष्ट किसान, म्यादी बिमा किसान, एकल र ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । उत्कृष्ट किसानको रूपमा सँस्थामा आबद्ध सुबर्णी चौधरी, रिमा चौधरी र पबित्राकुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरी ज्येष्ठ नागरिक प्रेमबहादुर कवर, पतिराम चौधरी, प्रेमलाल चौधरी, जौराम चौधरी, गयाराम चौधरी, शालिकराम चौधरी, जयमाला घर्ती, चमेली चौधरी र मोहनलाल चौधरी सम्मानित भएका हुन् ।

संस्थाले एकल महिलालाई पनि भव्य सम्मान गरेको छ । लक्ष्मी थापा, कृष्णादेवी शर्मा, प्रिती थापा, तेजमा कवर, लक्ष्मी थापा, बेलमती गिरी, भुमा पुन मगर, प्रेमपति चौधरी, जुद्धकुमारी वली र सुशीला चौधरी सम्मानित भएका हुन् । यसैगरी म्यादी बिमातर्फ पवित्रा पुन मगर, निर्मला घर्ती मगर, सीमा चौधरी, रीता खत्री र दिलमाया घर्तीलाई संस्थाले भव्य सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले संस्था बलियो भए आफू पनि बलियो हुने भएकाले सक्रिय भएर लाग्नु पर्ने बताइन् ।

संस्थामा आबद्ध भएपछि व्याज, ऋण र बचत बेलैमा बुझाउनु पर्ने र सँंस्थाले पनि किसानको हकहितका निम्ति उद्यम बिकाश तर्फ अग्रसर हुनु पर्ने बताए । कार्यक्रमकि प्रमुख अतिथि समेत रहेकी उपप्रमुख योगीले आयआर्जनमा लाग्दै जीविकोपार्जनतर्फ लागेर आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिइन् । सीपमूलक तालिममा समावेश भएर खेर जाने वस्तुलाई प्रयोगमा आउने गरी उत्पादनमा जोडिनुका साथै तालिमको आवश्यकता परे वडा र नगरपालिकाले त्यसको व्यवस्था गर्ने समेत प्रतिबद्धता गरे ।

कार्यक्रमका विशिष्ट अतिथि लमही नगरपालिका वडा नं ८ का वडाध्यक्ष उमेशकुमार खड्काले सहकारी देश विकासको मेरुदण्ड भएकाले यसको संरक्षण र चलायमानका लागि सबै भूमिकामा रहनु पर्ने बताए । संस्थाको विकासका लागि वडाले गर्नुपर्ने सहयोगमा कञ्जुस्याइँ कहिल्यै नहुने बताउँदै त्यसको लागि किसान ले मिहिनेतका साथ अग्रसर हुनु पर्ने कुरामा जोड दिए । संस्थाका उपाध्यक्ष पवित्रा पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्रबन्धक अमृकुमारी थापाले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक कमला चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष तेजमणि ज्ञावलीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शिद्ध सचेतना बचत तथा ऋण सहकारी सँस्थाकि अध्यक्ष सर्मिला श्रेष्ठ, लमही नगरपालिकाकी सहकारी प्रमुख लक्ष्मी सुवेदी, सानाकिसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय नेपालगञ्जका प्रबन्धक विशाल तुलाधर, सानाकिसान कृषि सहकारी संस्था लक्ष्मीपुर दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, कृषि सहकारी संघ दाङकी अध्यक्ष पद्मा आचार्य, नेपाल कृषि सहकारी केन्द्रीय संघका सुपरीवेक्षण समितिका सदस्य चिरञ्जीवी केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य जितबहादुर बुढा मगरले गरेका थिए ।