नेपालले बिनाजुत्ता ओलम्पिक दौडेको इतिहास छ : प्रदेश प्रमुख घर्ती

चौथो हिरास्मृति फुटवल प्रतियोगिता सुरु
खेमराज रिजाल
तुलसीपुर, ३ मङ्सिर । दोस्रो हिरा डाँगी स्मृति फुटबल प्रतियोगिता आइतवार तुलसीपुरमा सुरु भएको छ । नेपालका तीन प्रदेश र भारतको उत्तरप्रदेशको टिम समेतको उत्साहजनक सहभागिता रहेको सो प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख एवम् खेलप्रेमी कृष्णबहादुर घर्तीले गरेका छन् ।

प्रतियोगिताको उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रदेशप्रमुख घर्तीले नेपालले खेल पूर्वाधारबिनै ओलम्पिक खेलमा सहभागिता जनाएको स्मरण गरे । ‘नेपालमा खेलप्रतिको अधिक क्रेज छ, जुत्ताबिनै नेपालले ओलम्पिक खेलमा दौडेको इतिहास हामी सामु छ’, उद्घाटन मन्तव्यमा प्रमुख अतिथि समेत रहेका घर्तीले भने । खेल क्षेत्रको विकासमा अब स्थानीय सरकार पनि प्रतिबद्ध भएर लाग्ने उनले विश्वास गरे । आफू लुम्बिनी प्रदेशको सेरेमोनियल नोकर भएको उल्लेख गर्दै प्रमुख अतिथि घर्तीले आफूले लुम्बिनी प्रदेशबासीलाई सधैँ भगवान मान्ने समेत बताए ।

नेपालमा ख्यालख्यालममा खेल्दाखेल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्मिएको प्रसङ्ग उठाउँदै प्रमुख अतिथि घर्तीले लुम्बिनी प्रदेशमा खेलजगत उत्साहित रहेको बताए । लुम्बिनी क्षेत्रमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्मिएको बताए । ‘हामीले अन्तर्राष्ट्रिय खेल हे¥यौ, अशक्त खेलाडीले भर्खरै गोल हानेर ६५ लाख रुपैयाँ पुरस्कार पाउन सफल हुनुभएको छ’, प्रदेशप्रमुख घर्तीले भने । खेल अनुशासनका लागि, खेल राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि मात्र नभएर खेल स्वयम् व्यक्ति र परिवारका लागि अपरीहार्य रहेको उनले बताए । प्रतियोगिता उद्घाटनकै क्रममा प्रमुख अतिथि घर्तीले तुलसीपुरको अरनीको मैदानलाई काठमाडौंका खेलमैदानभन्दा राम्रो बनाउन नगर प्रमुख टीकाराम खड्कालाई आग्रह गरे । ‘यो खेल मैदान पश्चिमपट्टि अलिकति मिचिएको रहेछ, यो सानो खाडललाई भाटेर खेलमैदानलाई अलि फराकिलो बनाउन हाम्रा मेयर सापलाई कुनै कठिनाइ पर्ने छैन’, प्रमुख अतिथि घर्तीले भने ।

सो अवसरमा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले तुलसीपुर उपमहानगरपालिका खेल क्षेत्रको विकासमा सधैँ उदार रहेको बताउँदै हरेक वडाबाट खेलाडीलाई प्रोत्साहन गर्दै जिल्लास्तरीय, प्रदेशस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म लैजान सफल रहेको दाबी गरे । ‘हामीले खेल क्षेत्रलाई वार्षिक कार्यक्रममै प्रार्थमिकतामा राखेका छौँ, खेल क्षेत्रलाई समृद्ध बनाउन तुलसीपुर उपमहानगरपालिका कहिल्यै पछि पर्ने छैन’, विशिष्ट अतिथि खड्काले भने ।

प्रतियोगिताको उद्घाटन मन्तव्य व्यक्त गर्दै अर्का विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले फुटबलको विश्वव्यापि इतिहासदेखि नेपालमा सुरु भएको फुटबलको इतिहासको व्याख्या गरेका थिए । फुटबललाई विज्नेस, राजनीति र एकतासँग जोड्दै सदस्य सचिव गौतमले फुटबल पूर्वाधारको विकासमा स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

प्रतियोगिता आयोजक संस्था हिरा स्मृति फाउन्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल टेबलटेनिस संघका अध्यक्ष अरुण लहरेले हिरा डाँगी स्मृति फाउन्डेसनले खेल क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रमका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण हिरास्मृति फाउन्डेसनका सल्लाहकार तथा खेलकुद पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।

खेलकुद प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ । जसमा दाङ जिल्लाका चारवटा समूह र दाङबाहिरका चारवटा समूहको सहभागिता रहेको छ । आठ दिनसम्म चल्ने प्रतियोगितामा दाङबाट अघिल्लो वर्षको विजेता टिम घोराहीको राइजिङ स्टार क्लब, युएनबिसी, पब्लिक ज्ञानज्योति र टरिगाउँ युवा क्लबको सहभागिता रहेको छ । यसैगरी दाङ बाहिरबाट सहभागी हुने टिममा भारतको लखनउको सहारा क्लब, सुर्खेतको स्काइ क्लब, कपिलवस्तु—११ र ललितपुरको विरगेट ब्वाइज क्लब रहेका छन् । बाहिरका टिमलाई खाने, बस्नेलगायतका सबै व्यावस्थापन आयोजक हिरा डाँगी स्मृति फाउन्डेसनले गरेको छ ।

जिल्लाकै सर्वाधिक धनराशीको पुरस्कार रहेको सो प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख दुई हजार दुई सय रुपैयाँ, पदक र प्रमाणपत्रले सम्मान गरिने छ । यसैगरी दोस्रो हुने टिमलाई एक लाख एक हजार र्एक सय रुपैयाँ, पदक र प्रमाणपत्रले सम्मान गरिने आयोजक हिरा स्मृति फाउन्डेसनले जनाएको छ । यसैगरी व्यक्तिगत विधातर्फ प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरिने छ । हरेक विधामा उत्कृष्ट प्रदर्शन गर्नेलाई एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रमुख रेफ्रीको भूमिकामा आदेश केसी र सहायक रेफ्रीको भूमिकामा खुम वली र शिवहरि शर्मा रहेका छन् । फोर्थ अफिसियलमा लक्ष्मी श्रेष्ठ रहेको आयोजक संस्थाले जनाएको छ ।

आइतवार पहिलो खेल गत वर्षको विजेता टिम घोराहीको राइजिङ स्टार क्लब र सुर्खेतको ब्लु स्काइ क्लब भिडेका छन् । राइजिङ स्टार क्लब घोराहीले विजयी सुरुवात गरेको छ । राइजिङ स्टारले एकका विरुद्ध चार गोलअन्तरले ब्लु स्काई क्लब सुर्खेतलाई पराजित गरेको छ । राष्ट्रिय टिममा समेत परिसकेका र केही विदेशी खेलाडीसहित मैदानमा उत्रिएको स्काई क्लबलाई पराजित गर्दै प्रतियोगितामा राइजिङ विजयी भएको हो । प्रतियोगितामा सोमवार दिउँसो २ बजे युएनबिसी घोराही र ज्ञानज्योति तुलसीपुरबिच खेल हुनेछ । आठ टिम सहभागी रहेको प्रतियोगितामा प्रत्येक दिन एउटा खेल हुने आयोजक हिरा डाँगी फाउन्डेसनले जानकारी दिएको छ ।