गोरक्ष समाचारदाता
दाङ, ३ मङ्सिर । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिका आधारमा अघि बढाइने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिका आधारमा अघि बढाउन निर्देशन दिएका छन् । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथ ग्रहणपश्चात भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरण आयोजनालाई जग्गाधनीको सहमतिका आधारमा तीव्रता दिन निर्देशन दिए ।
‘यो महत्वपूर्ण जिम्मेवारी हो, फिल्डमा सहमति जुटाउने कामलाई तपाईँहरूले अघि बढाउनुस् । स्रोत साधन जुटाउने काममा हामी जुट्छौँ’ मुख्यमन्त्री आचार्यले भने, ‘नदी सभ्यतामा आधारित राजधानी सहर बनाउने परिकल्पना सरकारको छ । यो परिकल्पनालाई साकार बनाउने महत्वपूर्ण जिम्मेवारी छ ।’ जग्गा एकीकरण आयोजनाको कामलाई विवादरहित ठाउँबाट अघि बढाउन र त्यसलाई नमुनाको रूपमा प्रस्तुत गर्न मुख्यमन्त्री आचार्यले बताए । ‘हामी राजधानी सहर निर्माणका लागि साधन स्रोतको खोजीमा जुटेका छौँ, तपाईँहरू समुदाय स्तरको काममा लाग्नुस्’, मुख्यमन्त्री आचार्यले भने, ‘सबैलाई समन्वय र सहकार्य गरेर काम अघि बढाउन जरुरी छ ।’
जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्ष नियुक्त भएका राप्ती गाउँपालिका–१ निवासी सुशीलकुमार बस्नेतलाई मुख्यमन्त्री आचार्यले शपथ ग्रहण गराएका हुन् । कात्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१औँ बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको थियो । राजधानी सहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच वर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको छ । लगानी सुनिश्चितता गरेर हरित र सुविधा सम्पन्न सहर निर्माणको योजना बनाइएको छ । जसका लागि प्रदेश सरकारले विदेशी दातृ निकायसँग पहल गरिरहेको हो ।
२०७७ असोज २० गते बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो । राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३, शीतगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई राजधानी क्षेत्रभित्र समेटिएको थियो । राजधानी क्षेत्रभित्रको १२ हजार बिघा जग्गामध्य यस वर्ष एक हजार बिघा जग्गालाई एकीकरण योजनाभित्र राखिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए । उनका अनुसार १४ ब्लक निर्माण गरिएको छ । पहिलो चरणमा तीनवटा ब्लकबाट जग्गा एकीकरणको काम अघि बढाउने योजना छ ।