बबईको मलइमा स्वास्थ्य शिविर

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ मङ्सिर । दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिका वडा नम्बर ७ मलइमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शनिवार भएको शिविरमा एक सय ७० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको तुलसीपुर नगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगीले बताए । तुलसीपुरदेखि करिब ३० किलोमिटर टाढा पर्ने मलइमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा दाँतको उपचार, आँखाको उपचार, महिलामा देखिने विभिन्न स्वास्थ्य समस्यालगायतका सेवा प्रदान गरिएको हो ।

अध्यक्ष डाँगीले विषेशज्ञ स्वास्थ्य सेवा लिन समस्यामा रहेका नागरिकलाई विशेषज्ञ डाक्टरसहितको टोलीले गाउँमै स्वास्थ्य सेवा प्रदान गरेको बताए । देउती माविमा सञ्चालित शिविरमा मलइ र आसपासका नागरिकले स्वास्थ्य सेवा लिएका छन् । जेसीजले सञ्चालन गरेको स्वास्थ्य शिविरले सहज बनाएको बबई–७ निवासी ७६ वर्षीय बमबहादुर बुढाले बताए । उनले आगामी दिनमा पनि स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिन अनुरोध गरे । यसैगरी जलजला गाउँ निवासी रोमा बस्नेतले पनि गाउँमै विशेषज्ञ सेवा लिन पाउँदा खुसी व्यक्त गरिन् । यसैगरी कानको समस्या डाक्टरलाई देखाउन पाउँदा स्थानीय ५६ वर्षीय गोपाल खड्काले खुसी व्यक्त गरे । शिविरमा स्वास्थ्य जाँचसँगै निःशुल्क औषधी वितरण गरिएको हो ।

शिविरमा कतिपयको जटिल अवस्था भएकाले थप उपचारका लागि सुझाव प्रदान गरिएको डाक्टरले बताएका छन् । स्वास्थ्य कार्यक्रम संयोजक गोविन्द केसीले ग्रमीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताए । बबई गाउँपालिका वडा नं. ७ को सहकार्य, तुलसीपुर उपमहानगरको समन्वय, मेट्रो सिटी पोलिक्लिनीक तुलसीपुर, तुलसीपुर सिटी हस्पिटल, राप्ती आँखा अस्पताल रक्षाचौर, मनकामना डेन्टल प्रालि तुलसीपुर, रौनियार पोलिक्लिनीक प्रालि तुलसीपुरको प्राविधिक सहयोगमा तुलसीपुर नगर जेसीजले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता एवम् बबई गाउँपालिका वडा नं ७ का अध्यक्ष तिलकराम भण्डारीको विशिष्ट आतिथ्यतामा शिविर सम्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष खत्री क्षेत्रीले नागरिक स्वस्थ भए मात्रै अरू विकासको सम्भव हुने भन्दै शिविरले नागरिकलाई स्वास्थ्य सचेतनामा थप वृद्धि गर्ने बताए । यसैगरी वडाध्यक्ष भण्डारीले मलाई गाउँ भौगोलिक हिसाबले ग्रामीण क्षेत्र भएकाले नागरिकको सहजताका लागि गाउँमै विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले पछिल्लो समय सर्ने भन्दा नसर्ने रोग धेरै देखिन थालेकाले स्वास्थ्य जाँच गराउन नागरिकलाई सुझाव दिए । कार्यक्रम संयोजक बसन्त योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, मोहन सुनार, केशवराज केसी, दिपेश भण्डारी, पत्रकार दीपक बोहरालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीजका सल्लाहकार बुद्धि सापकोटाले गरेका थिए ।