प्रतिष्ठानमा सिकलसेल उपचारका लागि छुट्टै वार्ड

गोरक्ष समाचारदाता
दाङ, ३ मङ्सिर । थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।

आइतवारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि पाँच बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गरेका थिए । यसलगत्तै थारू समुदायको बसोबास रहेको दाङको घोराहीमा समेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले थारू समुदाययकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउने बताएको एक महिनाकै बिचमा थप अर्को ठुलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो । यससँगै थारू समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत् उपचार सुरु भएको छ । मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ ।

यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकोमा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति लामिछानेले जानकारी दिएका छन् । मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भइरहेको बताएका छन् । विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजना अन्र्तगत काम भइरहेको उनले बताए । हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ । औषधी वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत औषधी निःशुल्क हुने बताएका थिए ।