शरद रेग्मी
गंगटे, २ मङ्सिर । नेपाली कांग्रेसको सयदिने संगठन सुदृढीकरण अभियान गंगटेमा भइरहँदा त्यहाँका स्थानीयबासीको बेग्लै आक्रोश छ । उनीहरू एकातिर निकुञ्जबाट आउने बन्य जन्तुको आक्रमणले त्राहि–त्राहि छन् । अर्कोतिर गंगटेको समग्र विकासमा स्थानीय सरकार नै बेखबर रहेको स्थानीयबासीले बताएका छन् ।
जिल्ला सभापतिसहित कांग्रेस गंगटे पुग्दा त्यहाँका स्थानीयबासीले गंगटेको सबैभन्दा ठुलो पीडा भनेको निकुञ्जबाट आउने जङ्गली जनावरको आतङ्क हो । यसलाई रोक्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारसँग त्यहाँका स्थानीयबासीले कांग्रेसको घरदैलो अभियानमा माग गरेका छन् । ‘राजनीति र नेपाली कांग्रेसलाई हामीले राम्ररी बुझेका छौँ, अब संगठन विस्तारसँगै यहाँका जनताको दैनिक जनजीविकालाई सुरक्षित बनाउन निकुञ्जमा तारबार गर्न र बबई नदीमा पक्की तटबन्ध निर्माण गर्न आग्रह गर्दछौँ’, बबई गाउँपालिका–१ का स्थानीयबासी पोखरसिंह बुढाले भने । उनले जङ्गली जनावरले वर्षभरि गुजारा गर्न फलाएको अन्नबाली स्याहार्नै नदिने समस्याबाट मुक्ति दिने विकल्प खोज्न पार्टी प्रतिनिधिहरूलाई आग्रह गरे ।
‘हामी एकातिर निकुञ्ज क्षेत्रबाट आउने बाघ, बँदेल र बाँदरबाट आतङ्कित छौँ, अर्काेतिर हामीलाई विकासको अनुभूति हुन सकेको छैन’, गंगटेकै अर्का स्थानीयबासी रामबहादुर पुनले भने । गंगटेलाई केही अघि मात्र सडक यातायातले छोए पनि बाह्रैमहिना यातायात सुविधा नहुँदा स्थानीयबासीलाइ निकै कठिनाइ भइरहेको उनले बताए । ‘सुत्केरी व्यथाले च्यापेका गर्भवतीलाई एम्बुलेन्समा अस्पताल लैजान समस्या छ’, रामबहादुरले भने, यहाँ आउने बाटो बाह्रैमहिना चल्ने बनाउन विनम्र आग्रह गर्दछु ।’ गंगटेबासी बिरामी परेमा वा सुत्केरी व्यथाले च्यापेमा चिन्ना लगाएर बबई तरेर शम्शेरगञ्ज निस्केर कोहलपुर पुग्नु पर्ने बाध्यता रहेको उनले बताए ।
यसैगरी गंगटेमा सहज रूपमा सफा पिउने पानीको समस्या रहेको, विद्युतको नियमितता नभएको, टेलिफोन सेवा मुस्किलले सञ्चालन हुनेलगायतका समस्यैसमस्या रहेको उनले बताए । ‘यो सडकलाई बाह्रैमहिना चल्ने गरी बनाउन हामीले पटक–पटक हापुरे गएर स्थानीय सरकारलाई गुहा¥यौँ तर स्थानीय सरकारको यहाँ उपस्थिति नै छैन’, रामबहादुरले स्थानीय सरकारप्रति आक्रोश पोखे । जुन पार्टीको स्थानीय सरकार बने पनि गंगटे उपेक्षामा परिरहेको उनीहरूको भनाइ थियो । कांग्रेसको सयदिने अभियानमा पार्टी संगठन सुदृढीकरणको भन्दा पनि स्थानीयलाई समावेशी एवम् समानुपातिक विकासको चिन्ता थियो । स्थानीयबासीले राजनीतिलाई विकास निर्माणसँग जोड्न सकेमात्र आम गंगटेबासीको अपेक्षा पूरा हुने स्थानीयबासीको अभिव्यक्ति थियो ।
नेपाली कांग्रेस बबई गाउँपालिका वडा नम्बर १ का इकाइ सभापति डिल्लीबहादुर विष्टको अध्यक्षतामा भएको नेपाली कांग्रेसको सयदिने अभियानलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीले गंगटेको समस्यामा नेपाली कांग्रेस सधैँ सकारात्मक रहेको बताए । ‘तपाईँका यावत समस्यामा नेपाली कांग्रेस दाङ सँगसँगै छ, यहाँको समग्र विकास निर्माणका लागि संघ र प्रदेशमा आवाज उठाउने छु’, सयदिने अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले भने । गंगटेको समग्र विकासमा सबैभन्दा बढी नेपाली कांग्रेस चिन्तित रहेको भन्दै बगरापुरदेखि यहाँ आउने सडकलाई बाह्रैमहिना चल्ने बनाउन आफूले तीनै तहका सरकार समक्ष पहल गर्ने उनले आश्वासन दिए ।
बबई गाउँपालिका–१ गंगटेमा आयोजित नेपाली कांग्रेसको सयदिने अभियान अन्तर्गतको घरदैलो कार्यक्रमको संयोजन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिमल रिजालले गरेका थिए । कार्यक्रममा विषयप्रवेश गराउँदै महाधिवेशन प्रतिनिधि रिजालले गंगटेको समस्याप्रति नेपाली कांग्रेस गम्भीर रहेको बताउँदै यहाँको यातायात, खानेपानी तथा स्वास्थ्य सेवाका विषयमा कांग्रेसले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए । ‘यसै महिनाको अन्तिम साता नेपाली कांग्रेस दाङ र तुलसीपुर सिटी अस्पतालको आयोजनामा हामीले गंगटेमा विशेषज्ञ सहितको निःशुल्क शिविरको आयोजना गर्ने छौँ’, महाधिवेशन प्रतिनिधि रिजालले भने । कांग्रेस हरेक जनताको सुखदुःखमा साथ दिने पार्टी भएको स्मरण गर्दै उनले गंगटेको समृद्धिका लागि पार्टीले हरतरहले प्रयास गर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ख का सभापति खिमबहादुर वली, नेपाली कांग्रेस क्षेत्रीय सचिव पूर्णबहादुर केसी, जिल्ला सदस्य शंकरप्रसाद शर्मा, बबई गाउँ इकाइ सभापति प्रकाश बस्नेत, तुलसीपुर उद्योग व्यापार समितिका दुर्गा खड्कालगायतले सयदिने अभियानका विषयमा चर्चा गरेका थिए । साउन महिनामै सुरु भएको नेपाली कांग्रेसको सयदिने अभियान अविरल वर्षात भएर भएका क्षतिका कारण रोकिएको थियो । त्यसपछि पर्वहरू नजिकिएसँगै तिहारपछि पुनः नेपाली कांग्रेसको सयदिने अभियान सुरु भएको छ । नेपाली कांग्रेस दाङले सयदिने अभियानका लागि जिल्लाका सयवटै वडामा प्रतिनिधि खटाएको कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताएका छन् । गंगटेमा आयोजित सयदिने अभियानको सहजीकरण बबई गाउँपालिका कार्यपालिका सदस्य मोतीसरा विकले गरेका थिए ।