सत्तारुढ दलको दायित्व

मुलुक संकटका समयमा रहेको बेला र देश एकजुट भएर कोरोनाका बिरुद्धमा लड्नु पर्ने समयमा सत्तारुढ दल भित्र फोहोरी सत्ताको खेल प्रारम्भ भएको छ । यस्तो खेलले जनतालाई निराश पार्ने त छदैछ, राजनीतिक नेतृत्वको लोकलाज समेत गुमेको अबस्था छ । प्रधानमन्त्री केपी ओलीको उन्माद, एक्ले हिड्ने रहर र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने चरित्र नै अहिलेको समस्याको जड हो । विगतदेखि बिभिन्न रुपमा यो स्वभाव प्रदर्शित हुँदै पनि आएको हो । तर, अहिले आफ्नै पार्टी भित्रका समकक्षीहरुका साथ पनि त्यस्तै चरित्र प्रदर्शन गर्दै गर्दा उनी नराम्रोसंग घेराबन्दीमा परेका छन् । अब यहाँवाट उक्मनका लागि उनले थप अराजनीतिक र असोभनीय हर्कत समेत गर्ने खतरा बढ्दै छ ।

सत्ता सञ्चालन भनेको सबैको अभिभावक बन्ने अवसर हो । यो भूमिकामा रहनले सबैको आवाज सुन्ने, योजना बनाउने र सम्बोधनको हरसम्भव प्रयत्न गर्ने हो । यस्तो प्रयत्न गर्दा सबै मैले जानेको छु र म नै बिज्ञ हुँ भन्ने मान्यता राख्न पनि हुँदैन । निरन्तरको संवाद, परामर्श, बिज्ञहरुको राय लिने संस्कृतिले नै नेतृत्वलाई अभिभावकको दर्जामा पु¥याउँछ । प्रधानमन्त्री ओलीले हुँदा हुँदा कोरोनाका लक्ष्यण र भाइरसको चरित्र समेत आफैले सिकाउन थालेको समेत देखियो । यसले उनको मनोदशा प्रकट गर्दछ । उनी कसैको सुन्ने पक्षमा छैनन् । दुईवटा अध्याधेस पाँच दिनमै फिर्ता गर्नुप¥यो । एक्लै हिड्काको परिणाम थियो । राजनीतिवाट भ्रष्टिकरण र अपराधीकरण रोक्ने अपेक्षा सहित बनेको दल संबन्धी बिधेयक र राज्यसत्तामा कसैको कब्जा नहोस् भनी बनाइएको संबैधानिक परिषद सम्बन्धी कानुन नै संसोधन गरेर अध्यादेशवाट ल्याउन भनेको उनी राज्यसत्ता कब्जा गर्ने महत्वाकांक्षामा छन् र राजनीतिलाई भ्रष्टिकरण र अपराधीकणमा रुमल्याएर आर्थिक लाभ र सत्ताको दुरुपयोग चाहन्छन् भन्ने प्रष्ट रुपमा देखियो । यो मानसिकताका साथ लोकतान्त्रिक साशन पद्दतिलाई सही ढंगले नेतृत्व गर्न कसैले पनि सक्दैन । लोकतान्त्रिक शासन पद्दति सञ्चालन शैली र केपी ओली प्रदर्शीत शैली पूर्ण रुपमा भिन्न वा अमिल्दा शैली हुन् । अब उनको नैतिकता लोकतान्त्रिक सत्ताको नेतृत्व गर्ने हैसियतको हुनै सक्दैन । आफैले रचेको चक्रव्यूहमा उनी आफै फस्दै छन् । सत्ताको खेलमा नाङ्गिदै गएका उनको बहिर्गमनको लागि सत्ता रुढ दलले सोंच्नै पर्दछ र संसदीय पद्दतिलाई बलियो, थप आकर्षक र लोकतान्त्रिक बिधीद्वारा त्यसलाई निर्णायक बनाउनु पर्दछ । होइन भने, सत्तारुढ दलले पनि सत्ताकै खेल र अन्य नेताको महत्वाकांक्षा र अवसको उपयोगलाई साथ दिएको मात्र सावित हुने छ ।

यो प्रक्रियामा समय वर्वाद गर्न हुँदैन । घेराबन्दीमा परेको नेतृत्वले सही र उचित निर्णय गर्न सक्दैन । कोरोनाका बिरुद्धमा फुकी फुकी कदम चाल्नु पर्ने छ । लकडाउनको स्वरुप हेरफेर गरेर जनजीवन स्वस्थ्य, सुरक्षित राख्दै सहज बनाउनु पर्ने छ । यस्तो बेला चरम दवाव र घेराबन्दीमा परेको नेतृत्वले सही निर्णय गर्न सक्दैन । उसले आफ्नो सुरक्षा र सत्ताको निरन्तरतालाई ध्यानमा राखेर मात्र निर्णय लिन्छ । तसर्थ यो मनोदशाको नेतृत्वलाई बिस्थापित गरेर देशलाई एक ढिक्कामा राख्दै कोरोना बिरुद्धको लडाईको नेतृत्व गर्न सक्ने, त्यसपछिको अबस्थामा पुनरुत्थानको अभियानलाई सही दिशा दिनसक्ने नेतृत्व राष्ट्रका लागि जरुरी हुन्छ । यस तर्फ अबिलम्ब निष्कर्षमा पुग्न सत्तारुढ दलले बिलम्ब नगरोस्, किनभने जनमत र संसदको अंकगणित उसैसंग छ ।