जनता ढाँट्ने काम मात्र भयो

भूपेन्द्र सुवेदी

विश्वमा आज कोरोना भाइरसको प्रकोपबीच आम मानव जाति आतंकित भइरहेको अवस्था छ । तर यसको उपचारको लागि औषधि आजसम्म कुनै वैज्ञानिकले ग्यारेण्टीका साथ यही हो र यसको उपचारमा यो–यो विधि र औषधि प्रयोग गरौँ भनेर भनेका छैनन् । यस विषयमा चीन वाहेक अन्य देशहरुले सन्देश दिएर आ–आप्mना नागरिकलाई आश्वस्त पार्न सकेको अवस्था रहेन । तर चिनले आप्mनो देशमा धेरै नागरिकको हताहत, मृत्युपछि मात्र यदाकदा समाचारमा भ्याक्सिन तयार गरेको सुन्नमा आएको छ । तर यसको उपचारले कोरोना भाइरसका संक्रमित ठीक भयो भन्ने ग्यारेन्टी दिनसकेको अवस्था भने छैन ।
नेपालमा कोरोनाको उपचारको विषयमा नेपालका विज्ञहरुको खाली आश्वासन वाहेक अन्य कुनै उपाय निकाल्न सकेको स्थिति छैन । तर नेपालको राजनीतिको अवस्थाका बारेमा कुरा गर्ने हो भने गरिसाद्दे छैन । जनताबाट निर्वाचित जनप्रतिनिधिले संविधानअनुसार काम गर्न नसकेको र नेपालको राजनीति स्वतन्त्र रुपमा प्रयोग गरेको अवस्था रहेन । किनभने आप्mनै जनताको भोटले विजय भएर सरकार सञ्चालनको आदेश आम जनताले दिँदा पनि नेताहरुले भारतको सुझाव नलिएसम्म सरकारको कुनै विधिविधानसम्म पारित हुन नसक्ने अवस्था विगतदेखि नै छ । र, कसैगरी पारित भइहाल्यो भने पनि भारतको अवरोधको कारण सरसकार बीचमै रुक्ने स्थितिमा गुज्रिरहेको छ । तर यतिसम्म भारतले नेपाललाई आप्mनो कब्जामा राख्न खोजेको छ । तापनि नेपालका नेता सरकार जनताको वहुमतको एकलौटी सरकार हुँदासम्म पनि फेरि भारतकै आशीर्वाद लिन किन मरिहत्य गरेका हुन्छन् ? केही पत्रपत्रिकामा पढ्न र सुन्न पाएका छौँ कि नेपालमा भारतीयहरुको बढी दबाब भारतीय दूतावासको एउटा केवल (रअ) व्यूरोक्रेसीले मात्र नेपालको राजनीतिको मिहिगो नचाएको हुन्छ, तर नेपालका राजनीतिक दलका नेताहरु सधैँ उनैको आशीर्वादबिना कुर्सीमा जान नसक्ने सोचमा रहेका हुन्छन् । तर संसद्मा पु¥याउने नेपाली जनताको आफै अपमान गर्दै आएको परिणाम आज हारेको नेतालाई लगेर प्रधानमन्त्रीमा लग्ने परिपाटीकै कारण नेपालको राजनीति सफल हुनसकेको छैन ।
त्यसैको उदाहरण प्रधानमन्त्रीज्युले आफूखुशी अध्यादेश पारित गराउनु हो । सांसदहरुको कुनै सरसल्लाह नलिई केवल राष्ट्रपतिबाट आज अध्यादेश पारित गर्ने र भोलि फेरि फिर्ता गरे भनेर आफै बच्चाको व्यवहार गरेर देखाएको हुनाले नै छिमेकीले नपत्याएको हो । तर आज त स्वयम् आम जनता समेतको नजरबाट प्रधानमन्त्रीलाई खस्नुपरेको स्थिति छ । खोई त कुरा बुझेको ? राष्ट्र चलाउने राष्ट्रप्रमुखहरुको यस्तो नामर्दी हर्कत देख्दा निकै दुःख लागेर आउँछ । नेपाल सरकारको र सरकार चलाउने नेताको अब कसले र कसरी विश्वास गर्ने हो ?
विश्वको जल्दोबल्दो समस्या कोरोना भाइरस विगत ४ महिना अघिदेखि चीनमा फैलिएको अवस्थालाई धेरै विकसित देशहरुले समेत समयमै नियन्त्रणका उपाय नभेट्टाएर यस्तो भयावह भोगिरहेका छन् । विश्वमा सबैभन्दा शक्तिशाली कहलिने राष्ट्र अमेरिकाका राष्ट्रपति आफै रुँदै हिडेको अवस्था छ भने हामी नेपालीको अवस्था झन के होला ? यहाँ त स्वयम् नेपाली जनता आफै अनुशासित भएर आप्mनै घरको कम्पाउण्डमा रहेर सरसफाईको विषयमा संवेदनशील रहनु वाहेक अर्को विकल्प छैन । सरकारले जनतामा लागेको कोरोना भाइरसको उपचारमा ग्यारेण्टी दिनसक्ने आवस्था अझै छैन । त्यस्तै कुनै स्वास्थ्यकर्मीले त्यस्तो योजना पनि सार्वजनिक गर्ने कुनै आँट देखिएको अवस्था छैन । एउटा उखान छ–‘माल पाएर चाल नपाउने’ भनेजस्तै हामी नेपाली नागरिक हौँ भन्दा अर्को अर्थ नलाग्ला । किनभने भगवान्ले विश्वमा सबैभन्दा सुन्दर, स्वस्थ ऋषिमुनिहरुको तपोभूमि कैलाश पवर्तमा शिवले ध्यान बसेको तपोभूमिमा यस्ता भाइरसहरुको निराकरण हुने अमृत, विष, यही नेपालको भूमिमा सिर्जित छन् । तर नेपालमा ययको खोज अनुसन्धान गरेर आफ्नै देशको जडिबुटीले कोरना भाइरसको उपचार गर्न सक्ने विज्ञहरुको उत्पादन गर्ने अबको यो मौका कोरोना भाइरसले नेपाललाई दिएको छ । अब हाम्रो स्वदेस तथा विदेशमा रहनुभएका आयुर्वेद चिकित्सा शिक्षा हाशिल गर्नुभएका र नगरेकाले गर्नुपर्ने अरु स्वस्थ जनशक्तिको विकास गर्न आज नेपाल सरकारको जिम्मेवारीमा हो । अबको पहिलो सर्वपक्षीय आम नागरिकको जीवन सुरक्षाको लागि योजना आउनु आजको जटिल समस्या समाधान गर्नुपर्ने सोचका साथ कोरोनाको संकट सामाधानको उपाय तत्काल निकाल्न विज्ञ समूहहरुको हातमा दिनुपर्ने छ । नेपाली जनताको अधिकारको लागि भन्दै सडकमा कुर्लंदै भाषण गर्ने, एकआपसमा द्वन्द्व मच्चाउने, मेरो पार्टीले तपाईंहरुको समस्या सामाधान गर्छ भन्दै सडकका पेटी रँगाउने, सडकबीच चौराहामा आ–आफ्ना पार्टीका झण्डा लियर भाषण गर्ने नेताहरु खोई ? आज किन कोरोना भाइरसको कारण सरकारले लगाएको लगडाउनबाट विचलित घर नघाट भएका आम जनताको समस्या समाधान गरेको ? यो चैते गर्मीमा हप्तौँ हिंडेर काठ्माडौंबाट सुदूरपश्चिम र सुदूरपूर्व आ–आफनो घर जान हिडेका यात्रुहरुलाई सहयोग गरेको ? हिजो चुनावमा आफूलाई र आप्mनो पार्टीलाई जिताउन उनै जनताको घरदैलोमा गाडी लिएर भोट बोक्ने नेताले आज किन त्यस्तो आपतकालीन अवस्थामा समेत घरमै बसेर आम जनताको समस्या टुलुटुलु हेरेका होलान् ? के भोलिका दिनमा फेरि उनीहरुको भोट आवस्यक पर्दैन होला र ? के भोलि फेरि भारतीय प्रधानमन्त्रीको कुर्ताको फेरो समाते र बिना चुनाव अथवा चुनाब हारेको छु, मलाई प्रधानमन्त्री बनाइदिनुप¥यो भन्न जाने योजना बुनिँदै त छैन ?
आम जनताले आफ्नो देशमा केही कलकारखाना, उद्योगधन्दा, कृषिमा नयाँ उत्पादन विगतमा नेताहरुले निजीकरण गरी बेची खाए । चीनको सहयोगमा सञ्चालन हुँदै आएको बाँसबारी छाला जुत्ता कारखाना, ट्रली, साझाबस, भृकुटी कागज कारखाना, हेटौडाको गलैँचा उद्योग, सरकारको नेतृत्वमा सञ्चालन भएका चिनी उद्योग आदि नेपाल सरकारले आफै सञ्चालन गरिदिएको भए आज नेपालका युवाहरु किन खाडी मुलुकमा जानुपथ्र्यो र ? नेपाल सरकारले विगतलाई दोष दिएर सत्ता परिवर्तन ग¥यौँ भन्नु उखान टुक्कासँग मात्र मेल खान्छ । अन्य विषयवस्तुसँग मेल खाने र जनताले पताउने काम २०४६ पछिको सरकार आजसम्म जेजति आए सबै एउटै रेञ्जमा राखेर तुलना गर्दा केही फरक पर्ने छैन । मात्र कसैलाई मन नपरेको विषय जनताको चाहनाबिना ल्याएको संघीयता र धर्मनिरपेक्षता, विभिन्न जातजातिको नाममा उठाइएका एजेन्टा र हिन्दू धर्म विपरित उठाएको विषय जनताको आन्दोलनको माग थिएन । त्यो आन्दोलनमा हामी पनि सहभागी थियौं, सडकमा त्यो विषयको जनताको नारा थिएन । जनताले दिएको सुझाव समेत रद्दीको टोकरीमा फ्याकेर ल्याएको मुठ्ठीभरका नेताहरुको स्वार्थमा आएको यो व्यवस्था आज जसले भिœयायो उसैका लागि मालीगाईको रालो हराएको घाँडो भएको छ ।
आज नेपालमा कुनै जीविकोपार्जनको लागि अवसर नभएर धरै नेपाली खाडी मुलुकमा र धेरै नेपाली भारतको विभिन्न क्षेत्रमा रोजगारीको लागि बाहिरिएको अवस्था छ । एकाएक विश्वलाई आतंकित पार्ने कोरोनाको समस्याले सम्बन्धित देशले उनीहरुलाई रोजगारीबाट निकालिदिएको अवस्था छ । रोजगारविहीन भएपछि उनीहरु नेपाल फर्कन लाग्दा नेपाल सरकारले भरपर्दाे व्यवस्थापन गर्न सकेन । जसले गर्दा उनीहरु अलपत्र परेका छन् । आफना जनताको विचल्ली देख्दादेख्दै पनि सरकारको कुनै कदम उठाउन सक्ने अवस्था सिर्जना गर्न सकेन । यो सरकारको हामी आफैले मूल्याड्ढन गरौँ र विचल्लीमा परेका जनतालाई कम्तिमा आफनो घरसम्म आइपुग्ने व्यवस्था गर्ने कसको काम हो ? अझ क्या अचम्म लाग्छ कि कसैको त्यस्तो विचल्ली छ, तर कोही फेसबुकमा नानाथरिका परिकार बनाएर, नानाथरिका गरगहना पहिरिएर कुनै ठूलो राष्ट्रिय पर्व मनाएको जस्तो खुशियाली मनाएको देखाउनेहरु मानव हुन या दानव ? छुट्याउनै गाह्रो । कमसेकम सहयोग गर्न नसके पनि त्यही फेसबुकमार्फत चिन्ता त व्यक्त गरौँ । जसले गर्दा विचल्लीमा परेका आम जनतालाई मानसिक राहत भए पनि मिलोस् ।