Goraksha

National Daily

हिरा डाँगी स्मृति कप फुटबल आजदेखि

लक्ष्मण बस्नेत
तुलसीपुर, १ मङ्सिर । दाङको तुलसीपुरमा आइतवारदेखि सुरु हुने हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । प्रतियोगिताको आयोजक हिरा डाँगी फाउन्डेसन तुलसीपुरले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी अरनीको खेलमैदान तुलसीपुरमा हुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभाका प्रमुख कृष्णबहादुर घर्तीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन खेल आइतवार स्काई फुटबल क्लब सुर्खेत र साविक बिजेता राइजिङ स्टार फुटबल क्लब घोराही भिड्ने छन् । फाउन्डेसनका अध्यक्ष पोखरसिंह डाँगीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्घाटन समारोह, खेल मैदान, खेल तालिका सार्वजनिक, आतिथ्यता सत्कार, मञ्च व्यवस्थापन, आर्थिक व्यवस्थापन, आवास, हेल्प डेक्स स्थापना, प्रत्यक्ष प्रशारण, प्रचारप्रसार, सुरक्षा व्यवस्थापनलगायतका सबै तयारी पूरा भएको प्रतियोगिता मूल आयोजक समिति संयोजक प्रीतिबहादुर गिरीले जानकारी दिए ।

मङ्सिर ८ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद दुई लाख दुई हजार दुई सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । यसैगरी उपविजेताले नगद एक लाख एक हजार एक सय नगद सहित कप, मेडल, प्रमाणपत्र हात पार्ने छ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई जनही पाँच हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिए । यसैबिच आयोजक हिरा डागी फाउन्डेसनले आइतवार हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्तिथिका लागि खेलप्रेमी, खेलाडी, सहयोग दाता, पत्रकार, शुभचिन्तक, संघसंस्थालगायत सबैमा अनुरोध गरेको छ ।