राष्ट्रिय कर सप्ताह सुरु
गोरक्ष समाचारदाता
तुलसीपुर, २ मङ्सिर । राष्ट्रिय कर दिवस २०८१ सुरु भएको छ । राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । यसैबिच आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको आयोजनामा तुलसीपुरमा कर सप्ताह कार्यक्रम अन्तर्गत तुलसीपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दाङ उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ सहित राष्ट्रसेवक कर्मचारी, व्यवसायी, लेखापरीक्षक संघ, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात कार्यालय परिसरमा कार्यालय प्रमुख श्रीधर टन्डनको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताले कर राज्य सञ्चालनको प्रमुख आधार भएको बताएका थिए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल अडिटर्स एसोसिएसन (अडान) का केन्द्रीय उपाध्यक्ष रमेश केसी पत्रकार नारायणी रजौरेलगायतले बोलेका थिए ।
आइतवार भालुबाङमा, सोमवार लमहीमा करदाता शिक्षा कार्यक्रम गरिने भएको छ । यसैगरी क्रमिक रूपमा तुलसीपुर, हापुरे, घोराही र ७ गते राष्ट्रिय कर दिवसको उत्कृष्ट करदातालाई सम्मानसहित समापन गरिने उनले जानकारी दिए । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका उपेन्द्र पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी हिरानन्द्र देवकोटाले गरेका थिए ।
