नगरस्तरीय हाप्किडोमा गोरखा डोजाङ च्याम्पियन
घोराही, १ मंसिर । घोराहीमा भएको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ मा आयोजक गोर्खा हाप्किडो डोजाङ च्याम्पियन भएको छ ।
३४ विद्यालयको सहभागीतामा दुई दिन घोराहीमा भएको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित गोर्खा स्कुल हाप्किडो डोजाङ च्याम्पियन बन्न सफल भएको हो ।
च्याम्पियन बनेको गोर्खा डोजाङले शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । गोर्खा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलको मैदानमा भएको प्रतियोगितामा छ स्वर्ण पदकसहित मेचिकाली सेकेण्डरी बोर्डिङ स्कुल डोजाङ द्धितिय र तीन स्वर्ण पदकसहित माध्यामिक विद्यालय गोग्ली डोजाङ तृतीय बन्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने डोजाङलाई लुम्बिनी प्रदेश खेलकुद परिषदुका सदस्य सचिव तिरणदाज गौतमलगायतका अतिथिहरुले खेलाडीलाई शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा पुरुषतर्फ माध्यामिक विद्यालय गोग्लीका खेलाडी अनमोल रोका क्षेत्री र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी बविता पुनमगर बेस्ट प्लेयर भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ गोरखा डोजाङका शरद पौडेल र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी एलिसा खड्का उत्कृष्ट प्रशिक्षक बन्न सफल भए । उत्कृष्ट रेफ्रीमा महिला सिर्जना तामाङ र पुरुषतर्फ लक्ष्मण खाती बन्न सफल भए ।प्रतियोगितामा डेमोष्ट्रेसनतर्फ गोर्खा डोजाङ प्रथम, मेचीकाली डोजाङ द्वितीय र न्यु भिजन डोजाङ तृतीय हुन सफल भए ।
बिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघ र जिल्ला खेलकुद विकास समिति दाङको सहयोगमा भएको च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रम संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षण विशाल थापाको अध्यक्षमा भएको समापन कार्यक्रममा बिजेता खेलाडीहरुसँगै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संघसस्था, रेफ्रि,सञ्चार माध्यमलाई सम्माणपत्र प्रदान गरिएको थियो ।
