Goraksha

National Daily

विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सूर्य बिसी
दाङ,१मंसिर। नेपाल प्रहरी श्रीमती संघ काठमाडौँले घोराहीस्थित नेपाल प्रहरी स्कुललाई दुई वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ ।
शनिबार नेपाल प्रहरी स्कुल घोराहीमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले हस्तारन्तरण गरेकी हुन ।

‘आजका बालबालिकालाई प्रविधि मैत्री शिक्षाको आवश्यकता छ । त्यही कुरालाई मनन गरी हामीले स्मार्ट बोर्ड प्रदान गर्ने निर्णय गरेका हौँ । यसखाले शिक्षाले बालबालिकालाई गरिखाने बनाउँने विश्वास लिएका छौँ ’,अध्यक्ष कुँवरले भनिन् ।

कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई स्मार्ट बोर्डको प्रयोगमा विद्यालयले जोड दिन जरुरी रहेको बताउँदै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुँवरले स्मार्ट बोर्डको राम्रो उपयोग र संरक्षण समेत गर्न विद्यालय परिवारलाई आग्रह गरेकी हुन ।

प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा डिआइजी कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष निलम कडायत, विद्यालय व्यबस्थापन समितिका सदस्य सूर्य बिसी, शिक्षक विद्यार्थी संघका संयोजक समिर वली, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक नुमलाल पाण्डेले विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए भने सो कार्यक्रमको सहजीकरण सहायक प्रअ मानबहादुर सिंहले गरेका थिए ।